काठमाडौं । नयाँ वर्ष २०७९ को अवसर पारेर काठमाडौंको दरबार मार्गस्थित दरबार मलमा नयाँ फिल्म हल ‘दरबार सिनेम्याक्स’ सञ्चालनमा आएको छ । बिहीबारबाट यो सिनेमा हल सञ्चालनमा आएको हो ।
नयाँ वर्षको अवसर पारेर बिहीबार गुण ग्रुपका प्रमुख राजेन्द्र (दीजेन्द्र) शाक्य, प्रबन्ध निर्देशक दीप्रशलगायत शाक्य परिवारले पूजाआजा गरी हलको शुभारम्भ गरेका थिए । दरबार सिनेम्याक्समा दुईवटा फिल्म हल छन् । ५० र ५३ सिट क्षमताका दुईवटा हलमा अत्याधुनिक प्रविधिका साउन्ड सिस्टम, फोल्डिङ सिट र स्क्रिन जडित छन् । ग्वार्काेमा बिगत अढाइ दशकदेखि गुण सिनेमा हल सञ्चालन गर्दै आएको गुण सिनेमाले यो सिनेमा हल स्थापना गरेको हो । ‘ए मेरो हजुर–४’ र ‘केजीएफ–२’ बाट औपचारिक प्रदर्शन थालिएको पहिलो दिन बिहान र दिउँसोको सो दुवै हल हाउसफुल भएको थियो ।
‘दरबार सिनेम्याक्स’को व्यवस्थापन भने क्यूएफएक्सले गरेको यसका प्रबन्ध निर्देशक दीप्रश शाक्यले बताएका छन् । शाक्यका अनुसार दर्शकले हलमा आफ्नो इच्छाअनुसार सिट फोल्ड गरेर फिल्म हेर्न पाउनुका साथै अर्डरअनुसार सिटमै खाना तथा वार सेवासमेत प्राप्त गर्नेछन् ।






