जनकपुरधाम । हनुमान जयन्ती जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर, संकटमोटनका अतिरिक्त हनुमान मन्दिरहरुमा विशेष आरती गरिएको छ । यस अवसरमा कतै भजन, कतै गोष्ठी कतै वृक्षारोपण गरिएको छ । रामनवमी, जानकी नवमी जस्तै जनकपुरधाममा हनुमान जयन्तीपनि मनाइने गरिएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव भन्छन् ‘जानकी मन्दिर लगायत हनुमान मन्दिरहरुमा विहानैदेखि उत्सवको माहौल थियो ।’ हनुमान जयन्तीको अवसरमा नगरमा शोभा यात्रा निकालिएको छ । ठाउँ ठाउँमा हनुमान चालिसा, सुन्दरकाण्ड पाठ पनि गरिएको छ । आ–आफना घरमा पनि हनुमानको पूजा गरेको स्थानीयवासीले वताए । ‘मिथिलामा हनुमानको भक्तको संख्या धेरै रहेका छन् । शानिवार र मंगलवार ब्रत गर्नेहरु हजारौंमा छन, आजपनि धेरैले व्रत गरेका छन,’ संस्कृतिविद् एवं मैथिलीका साहित्यकार चन्द्रमोहन झा पड़वाले वताए ।
हनुमानको पूजा पाठ गर्ने एवम् मन्त्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिचासले दुःख नदिने भन्नेसम्म जनविश्वास छ ।
हनुमानको पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने शास्त्रमा उल्लेख रहेको जानकारहरु बताउँछन । चैत्र शुक्ल पूर्णिमा तिथिमा हनुमान जयन्ती भएकोले विशेष पर्वको रूपमा व्रत, पूजा ,आराधना रामायण को पाठ गरी हर्ष उल्लासका साथ मनाउने गर्दछन् । हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष, बाल, वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँछन् । यस दिन घरघरमा लक्ष्मीनारायणलाई प्रसन्न तुल्याउन व्रत गरी सत्यनारायणको कथा श्रवण गर्ने प्रचलनरहेको धार्मिक जानकारहरु वताउँछन ।

शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपि वायु पुराणादि अनुसार कार्तिक महिनाको शुक्ल चतुर्दशीका दिन हनुमान् जयन्ती अधिक प्रचिलित छ, तर पहिलो जन्म दिवस हो भने दोस्रो विजय अभिनन्दन महोत्सव हो ।
हनुमानको शक्ति
विभिन्न समयमा परिस्थितिको माग अनुरुप भगवानका अनेक रुपहरुको जन्म पृथ्वीमा भए सँग ैधेरै उद्देश्य पूरा गर्ने प्रयोजन अनुसार भगवान शंकरले लिनुभएको हनुमानको रूपमा लंका जलाउनु, भगवान रामको अनन्य भक्ती गर्नु अनि माता अञ्जनिको भक्तिबाट प्रसन्न भई वर माग्न भन्दा भोलेनाथलाई नै आफ्नो पुत्र को रूपमा पाउने इच्छा जाहेर गरेकीले सो पूरा गरिदिनु पनि थियो ।
फरक फरक बार पूजा विधि र सामाग्रीले फरक फरक मनोबाञ्चित फल प्राप्त गर्न सकिने जनविश्वास रहिआए अनुरुप सिन्दुर, लड्डु, पान, केरा, रातो चोला, सिन्दुरे रातो झण्डा अर्पण गर्दा प्रसन्न हुने हनुमानलाई पिपलको पातमा रामको नाम लेखेर बनाएको माला अति उत्तम मानिन्छ । जनकपुरधामका धार्मिक जानकार दिगम्बर झा ‘दिनमणि’का अनुसार मानिसको जीवनमा आइपर्ने विभिन्न समस्याहरू समाधान गर्नका लागि तथा शनिदेवको कृपा प्राप्त गर्नको लागि पनि हनुमानको आराधना गर्नु फलदायी हुन्छ ।
मारुती, महावीर, बालाजी, पवनपुत्र, संकटमोचन आदि नामले पुकारिने हनुमानलाई विशेष गरी राम र सीताको विछोड पश्चात् पुनर्मिलन गराउने काम गरेका हुनाले आज पनि बिछोडिएका र हराएका व्यक्तिहरुको खोजीका लागि सच्चा मनले विश्वासका साथ विधिपूर्वक हनुमानको पूजा गर्नु उचित हुने विश्वास पनि समाजमा रही आएको छ ।
‘अष्ट चिरञ्जिवी मध्ये एक मानिने उनी अझै पनि जीवितै छन् भन्ने आस्था राख्दै उनको जन्म दिनमा रामायणको सुन्दर काण्ड तथा हनुमान चालिसाको पाठ गर्नुलाई आफ्ना अप्ठ्यारा परिस्थितिसँग छुटकारा पाउनु हो भनेर पनि हिन्दु धर्ममा आस्था राख्नेहरु बताउँछन्,’ सांस्कृतिविद् पड़वाले भने ।
हनुमान (हनुमान, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिन्दू धर्ममा भगवानको भक्ति)को सबैभन्दा लोकप्रिय अवधारणाहरू मध्ये र महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू मध्ये एक हुन ।
उनलाई बजरंग बली पनि भनिन्छ । किन भनें उनको शरीर एक वज्रको समान थियो । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्दको उत्पत्ति भएको छ । हनुको अर्थ चिउँडो हो जो ‘हन्’ धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भने पनि हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् राम भक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा घटित घटनाहरूले हनुमानको व्यक्तित्व विशेषताहरूले उनलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदियो । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । यो आश्चर्यजनक कुरा छ कि पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । गज (हात्ती) लाई शुभ मानिन्थ्यो ।
तसर्थ गणेशजीको गजवदन प्राप्त भयो तर मध्यकालीन परम्परामा हनुमानको महत्व वृद्धि भयो । ‘मंगलमूरत’को रूपमा अथवा संकट मोचकको रूपमा पुजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिको लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भयो । हनुमान वायुका छोरा मानिएका छन् । उनले कुनै रूप धारण गर्न सक्थे । उनी रामका परमभक्त हुन् । शतरुद्र संहितामा हनुमानलाई एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्वको आभाष भए तापनि रामायण नै हनुमानका विषयमा जानकारी दिने सबैभन्दा आधिकारिक स्रोत हो ।
कुस्ती खेल्ने हरेक अखडाहरू, शारीरिक स्वास्थ्य केन्द्रमा हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् ।
विशेषगरी गाउँको सीमा क्षेत्रमा पनि हनुमानका मूर्तिहरू स्थापना गरिएका हुन्छन् । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगतमा ठूलो प्राणी कोही छैन । परब्रम्हा, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनिएको छ ।
पवन तनय ब्ल पवन समाना
बुद्धि विवेक विज्ञान निधाना
कवन् सो काज कठिन जग माही
जो नहि होय तात तुम्ह पाहीं हनुमान र शनि
शनिको बक्र दृष्टिबाट ब्रम्हा, विष्णु, महेश्वर सवै नै प्रताडित भएको पुराण कथा पढन पाइन्छ तर हनुमान माथि शनिको वक्रदृष्टि कहिलै पर्न सकेनन ।
हनुमान र सिन्दुर लेपन
हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ, सिन्दूरको सम्बन्धमा आयुर्वेदको यो मत छ कि यसले हड्डी एवं मांशलाई सुसंगठित शरीर निमार्णमा अहम भूमिका खेल्दछ । रामको दरबारमा सीताले हनुमानजीलाई एउटा दिव्य हार दिएकी थिइन् ।






