ब्लक बस्टर नेपाली फिल्म अवार्ड २०७८ अन्तर्गत ‘म यस्तो गीत गाउछु २’ चलचित्रबाट अभिनेता पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड जिते । संस्कृति पर्यटनमन्त्री प्रेम आलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम चलचित्र विकास बोर्डको हलमा भएको थियो ।
नाबालिका गायिका बलात्कार अभियोगमा तनहुँ कारागरमा रहेका पल शाहले उत्कृष्ट नायकको उपाधि पाएको उद्घोष हुँदा दर्शकदीर्घाले उत्साहित हुँदै ताली पड्काए । पर्यटनमन्त्रीले पनि बलात्कार अभियोग लागेको व्यक्तिले सर्वोत्कृष्टको उपाधि पाएकोमा अप्ठयारो मानेनन् ।
प्रहरीमा हिरासतमा रहेका पल शाह सकेसम्म चाँडै जेलमुक्त हुन् भन्दै मनमनै भाकल गर्ने महिला कलाकार थुप्रै छन् । ‘यसरी उजुरी गरेर के साध्ये । यस्तै उजुरी गर्दै जाने हो भने त घर घरमा पल शाहहरु भेटिन्छन् ।’ नेपाली चलचित्र उद्योगमा तीन दशक बिताएकी दिदी कलाकारले एक भेटमा भनेकी थिइन् ।
‘मन मिल्दा जे पनि गर्न दिने अहिले कुरा नमिलेपछि उजुरी यस्तो पनि हुन्छ ? नक्कचरी कहाँकी ।’ अनौपचारिक भेटघाटमा महिला कलाकारहरु खुलेरै कुरा गर्छन् ।
भन्नका लागि नेपाली फिल्मकर्मीले आफूलाई सर्जक दावी गर्छन् तर, बहुसंख्यक नेपाली निर्देशक, कलाकारमा सर्जकमा हुने गुण अझै भेटिदैन । अहिले त थोरै सुध्रिए । अलि अस्तिसम्म फिल्म निर्देशकहरु हातमा लाठो बोकेको शैलीमा समीक्षक खोज्दै मिडिया हाउसमा पुग्थे । अहिले पनि उनीहरुको मान्यता छ । एक–डेढ करोड लगानी गरेर बनाएको फिल्मको समीक्षा गर्ने छुट समीक्षकलाई छैन । पत्रकारले फिल्मका विषयमा फूलबुट्टा भरेर प्रशंसा गरिदिनु पर्छ ।
पल प्रकरणमा पनि भएको त्यही नै हो । ‘पल शाहजस्तो चलेको स्टारबिरुद्ध उजुरी गर्न हुन्न्थ्यो ।’ हाम्रो फिल्म उद्योगमा अहिले पनि अन्यायको बिरुद्ध आवाज उठाउन पर्छ भन्ने चेतको विकास भइसकेको छैन । नयाँ पुस्ताका केही कलाकारमा अन्यायका बिरुद्ध लड्नु पर्ने चेत होला तर, कपाल फुलेकाहरुले गरेका बदमासीहरु थाहा नपाएजस्तो गर्नुपर्छ भन्ने मान्यता अझै धेरैमा पनि बाँकी नै छ ।
कक्षा ६ मा पढने विद्यार्थीको नेपाली कितावमा स्टेफन हकिङ र पारिजातको विषयमा ब्याख्य गर्दै लेखिएको छ । अनि प्रश्न गरिएको छ । ‘भावविस्तार गर्नुहोस्’ अन्तर्गत प्रश्न छ । उनको आत्मविश्वासले मृत्युलाई नै जितिदिए ? स्टेफन हकिङको विषयमा ७०० हाराहारी परिचयात्म शब्द पढेका ११–१२ वर्षका बालबालिकाले थप भाव विस्तार गर्न सक्दैनन् तर, यो पाठ किन राखिएको हो भने बालबालिकाको मष्तिष्कमा आलोचनात्मक चेत विकास होस् भनेर ।
स्कुल स्तरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणी लेखनाथ पौड्याल, भुपी शेरचनलगायतको कविता पढाइन्छ र प्रश्न सोधिन्छ ‘यो कवितामाथि आलोचनात्मक टिप्पणी गर्नुहोस् ।’ यसको अर्थ ती साहित्यकारका कृर्तिमाथि बालबालिकाले भब्य आलोचना गरेर कृतिमा भएका कमीकमजोरी छताछुल्ल पारुन् भनेर प्रश्न सोधिएको होइन मात्रै बाल बालिकामा आलोचनात्मक चेतको विकास होस् । प्रश्न गर्न सक्ने क्षमताको विकास होस् भनेर पाठ्याक्रम बनाइएको हो । यदि बाल मस्तिष्कमै प्रश्न गर्ने चेतको विकास गर्न सकियो भने समाजमा गर्न नहुने काम कसैले ग-यो भने प्रश्न गर्ने संस्कार विकास हुन्छ भनेरै त्यसो गरिएको हो ।
तर, पछिल्लो समय हाम्रो समाजमा यस्ता भुत्तेहरुले बाहुल्यता बढ्दै गएको छ । प्रश्न गर्नेहरु उपहासका पात्र बन्छन् भने चाकडी चाप्लुसी गर्नेहरु ‘महान’ । प्रश्न गर्नेहरुलाई उपहास गर्ने र बुज्रुक बनाउने अर्को एउटा समुह सामाजिक सञ्जालमा सक्रिय छ । पल प्रकरणमै सामाजिक सञ्जाल मार्फत बलात्कृत गायिकामाथि गरिएको टिप्पणीहरु हेर्दा हामी आफैं समाजमा हुर्केको छौं गम्भीर भएर आफैंलाई प्रश्न गर्न पर्ने देखिन्छ ।
अभिनेता राजेश हमाललाई ‘महानायक’को उपाधि दिइँदा हमाल कसरी महानायक भए भनेर प्रश्न गर्नेहरुलाई सामाजिक सञ्जालमार्फत् तथानाम गाली गर्नेहरु नै आज ‘पल दादालाई छँडुलीले फसाई’ भन्दै रडाको मच्चाइरहेका छन् । हाम्रो समाजले सेलीब्रेटी मानेका कलाकारका पनि फ्यान फलोइङका मुख्य आधार अहिले त्यही जमात हो । आफ्नो चिटिक्क परेका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेवापत ‘वाह व्युटिफुल, सो क्युट’ टाइपका कमेन्ट पढेर मख्ख परेका महिला कलाकारहरुले पनि न्यायका लागि लड्नुपर्छ भनेर हिम्मत जुटाएकी बालिकालाई ‘छँडुली’ भनेर टिप्पणी गरेको देखेका छन् । त्यही टिप्पणी हेरेकाहरुलाई अहिले पल शाहको बिछट्टै माया लागेर आएको छ । उनीहरु यस कुरामा आशावादी छन् । पल शाह सेलीब्रेटी हो ।
कतिपयलाई अचम्म लाग्दो हो, अचम्म नमान्नुस् केही नायिका एवं गायिकाहरु पल शाहको मुक्तिका लागि न्यायधीशहरुसँगको सेटिङमा बसिसकेका छन् । नेपाल मात्रै त्यस्तो मुलुक हो जहाँ न्यायधीशको नियत अनुसार न्याय किनबेच पनि हुन्छ । त्यही कमजोर दृष्टान्तको आडमा केही ‘सेलीब्रेटी’हरु पल शाहको मुक्तिका लागि जुटेका छन् ।
कुनै पनि समाज सुधार्ने भनेको प्रश्न गर्नेहरुले नै हो । प्रश्न गर्नेहरुलाई कसरी हेरिन्छ त्यसमा पनि भर पर्छ । अहिले हाम्रो राज्य संयन्त्रले प्रश्न गर्नेहरुलाई राम्रो मान्दैन । राज्य सञ्चालनको मियो तीन ठाउँमा छ बुढानीलकण्ठ, खुमलटार र बालकोट । तीनै ठाउँका ‘मुखिया’हरुले प्रश्न गर्नेलाई खराब र आफ्नो कुरा सुनेर ताली पड्काउनेलाई असल देख्छन् । त्यसैको प्रभाव छ नेपाली फिल्म क्षेत्रमा ।
वास्तवमा भन्ने हो भने प्रश्न गर्नेहरु नै समाज सुधारका वास्तविक धरोहर हुन् । समय परिस्थिति अनुसार कहिले काहिँ प्रश्न गर्नेहरुको आवाज मधुरो सुनिन पनि सक्छ । प्रश्न गर्नेहरुले चर्को स्वरमा बोल्नै पर्दैन एकदिन यिनको आवाज यस्तो बेजोड सुनिन्छ । बलात्कृत गायिकालाई बुझी नबुझी गाली गर्नेहरुले पनि गल्ती गरेको महसुस गर्नेछन् ।
हाम्रै मुलुकको कुरा गरौं न, ०६० सालमा तत्कालिन माओवादी पार्टीसँग दाङको हापुरेमा वार्ता गर्दा संविधानसभामा कुरा नमिलेपछि तत्कालिन सरकारका प्रतिनिधि र विद्रोही माओवादी आ–आफ्नो बाटो लागेका थिए । राजा ज्ञानेन्द्रको निकट रहेर गृहमन्त्रायलको जिम्मेवारी सम्हालेका कमल थापाले नचाँहदा नचाँहदै पनि चार वर्षपछि संविधानसभा चुनाव भयो, गणतन्त्र उनले सोचेकै थिएनन् त्यो पनि आयो । अहिले सूर्य चिन्हको बैशाखी चढेर उम्मेदवार हुने तयारीमा छन् ।
अहिलेका भुत्तेहरुलाई त थाहा छैन होला । गोपालप्रसाद रिमालले उहिल्यै ‘आमाको सपना’ शीर्षकमा २०१९ सालमै कबिता लेखेका थिए ।
आमा, त्यो आउँछ र ?
हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यासको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।…
दाम लिएर वा पलको हितैषी कुनै नायिका वा गायिकाको आतिथ्य सेवा ग्रहण गरेर कुनै न्यायधीशले पल शाहलाई उन्मुक्ति दिए भने आश्चर्य नमाने हुन्छ । तर, कवि रिमालले भनेजस्तै बिकृतिका पक्षमा लाग्नेहरु एकदिन यसरी पछारिनेछन् । ती आफ्नै खुट्टामा कहिल्यै उभिन सक्ने छैनन् । अनि पीडित गायिका, नायिकाहरु एक स्वरमा नारा लगाउँदै गर्जिनेछन् । ठ्वास्स गन्हाएका दर्जनौ वरिष्ठ कलाकारविरुद्ध एकमुष्ठ उजुरी पर्नेछ र सबै मिडियाको मुख्य समाचारमा तिनै पाका कलाकारको तस्विर फेरि एकपटक आँखामा टिपेक्स लगाएर छापिने छ ।