बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनले गरेको निर्णय विपरित जान नुहने बताएका छन् । उनले त्यस्तो गरे पार्टिले कारबाही गर्ने पनि बताए । रुन्देहीस्थित आफ्नै निवासमा पत्रकार भेटघाट गर्दै उनले सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु कांग्रेस केन्द्रीय समितिको निर्णय नै भएको बताए । गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने गृहमन्त्री खाणले बताए । विभिन्न स्थानमा गठबन्धनको निर्णय विरुद्ध कार्यकर्ताहरुले आवाज उठाईरहेको वेला नेता खांणको यस्तो भनाई आएको हो ।
‘नेपाली कांग्रेस गठबन्धन निर्णय कार्यान्वयनमा प्रति प्रतिबद्ध छ, पार्टीको निर्णय विपरीत जाने नेता कार्यकर्ताहरुको गतिविधि नोटिस गरिएको छ, उनीहरुलाई पार्टिले कारवाही गर्ने छ ।’ उनले भने ।
गृहमन्त्री खाँणले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हँुदैन कि भन्ने आशंका नराख्न आग्रह गरे । निर्वाचनमा सहभागी नभएका दलहरुलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वानसमेत गरेको भन्दै केही दलहरुसंग सरकार बारम्बार छलफलमा रहेको उनले बताए । गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचनको सुरक्षाको लागि हवाइ गस्ती गरिने समेत बताए । अहिले एकै चरणमा स्थानीय तहको निर्वाचन हुने भएकाले सुरक्षालाई मजबुत बनाउन नेपाली सेनासँग भएका हेलिकप्टर र निजी हेलिकप्टरको प्रयोग गरेर गस्ती बढाइने उनले बताए ।
सुरक्षा चुनौती देखिएका स्थानमा तत्काल सशस्त्र प्रहरी बललाई पठाउने गरी हेलिकप्टरको व्यवस्थापन गरिने गृहमन्त्री खाणले बताए ।






