जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले गठबन्धनबीच केन्द्रमा भएको सहमति नमान्ने चेतावनी दिएका छन् । केन्द्रमा जनकपुरधामको नेतृत्व जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएपछि कांग्रेस उपमहानगर सभापति साहले आफूहरूले नेतृत्व कुनै हालतमा नछोड्ने बताएका हुन् ।
जनताको भावनाविपरीत भएको निर्णय कुनै पनि सर्तमा नमान्ने उनको अडान छ । यसअघि कांग्रेसले मनोजलाई नै मेयरको टिकट दिने पक्का थियो । त्यही हिसाबले नेपाली कांग्रेसले प्रचार पनि शुरु गरेका थिए ।
‘जसपाबाट उठ्ने उम्मेदवार भ्रष्टाचारी हो । भ्रष्टाचारीलाई कसरी भोट दिन्नु ?’ उनले भने, ‘जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसको आफ्नै उमेदवार हुन्छ । मेयर हामी कुनै पनि हालतमा छोडदैनौँ ।’
जसपाले मेयरमा वर्तमान नगरप्रमुख लाल किशोर साहलाई उम्मेदवार बनाउने सम्भावना बढी छ । मेयर लालकिशोर विरुद्ध नै कांग्रेसले जनकपुरधाममा प्रचार शुरु गरेका थिए ।