इटहरी । इटहरीका पत्रकार प्रकाश तिम्सिना गत फागुन २७ गते असाध्यै पेट दुखेपछि इटहरी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न गए । बिरामीको चाप धेरै रहेकाले उनले आकस्मिक जाँच गराउन गएको दुईघण्टापछि मात्रै पालो पाए ।
१२ बजेको थियो घडीमा, तर त्यसैबेला अस्पतालका चिकित्सकले भिडियो एक्सरे नहुने बताएपछि उनी झस्किए । ‘ज्यानले असह्य भएपछि जाँच गराउन गएको, जाँचै नगरी तपाईँको ग्याष्ट्रिक हो सामान्य छ भनियो,’ आक्रोश भावसहित तिम्सिना भन्छन्, ‘१२ बज्यो भिडियो एक्सरे हुँदैन भोलिमात्रै आउनु भनियो, यस्तो किसिमको हेलचेक्र्याईँले त मानिसको ज्यानै जाने अवस्था हुन्छ ।’
१२ बजेको समयमै भिडियो एक्सरे नहुने बताएपछि आफूले निजी लगानीबाट सञ्चालनमा रहेको इटहरी मेडिकलमा आएर स्वास्थ्य परीक्षण गरेको उनले बताए । पछिल्लो समय इटहरी उपमहानगरपालिकाले विभिन्न वडामा प्राथमिक स्वास्थ्य इकाई उद्घाटन गर्दै आएको छ । वडाबाटै प्राथमिक उपचार गराउन सकिने बताउँदै आएको इटहरी सरकारका लागि गिज्याउन तिम्सिनाको पीडाकै उदाहरण काफी हुन्छ ।
‘यहाँबाट उपचार हुँदैन भने म अन्तै गएर जाँच गराउँछु, बीमाको रेफर दिनुभन्दा पनि सहज रूपमा पाईँदैन,’ तिम्सिनाले आफूले भोगेको समस्या राजधानीलाई सुनाए, ‘यहाँको निजी सञ्चालनमा रहेको इटहरी मेडिकलमा ब्लड र पिसाब जाँच गराएपछि एपेन्डिसाइड रहेको थाहा भयो, त्यसैले तत्काल विराट टिचिङ अस्पतालमा गएँ ।’ उनले सोही दिन आफू विराट टिचिङमा भर्ना भएको र भोलिपल्टै एपेन्डिसाइटको अप्रेसन भएको बताउँदै भने, ‘अघिल्लो दिन बिरामी भएको मानिस भोलिपल्ट मात्रै जाँच गराउनुपर्ने बाध्यता छ, यस्तै किसिमको हेलचेक्र्याईँले आकस्मिक रूपमा जाँच गराउन गएका मानिसहरूको उपचार नपाएरै मृत्यु हुन्छ ।’
सामान्य मानिसलाई अस्पतालले वास्ता नगर्ने भएकाले रेफर लिनका लागि पनि अत्यन्त ठूलो समस्या रहेको उनको अनुभव छ । ‘बाहिर जसरी चर्चा भएको छ, त्यो किसिमको सेवा छैन,’ उनले भने, ‘भित्री गाउँका वडाहरूबाट पनि रेफर लिन त्यहीँ पुग्नुपर्छ, सोर्स नलगाइकन रेफर नै पाईँदैन ।’
इटहरी १७ मझौराका सचिन कार्कीले पछिल्लो समय मानिसहरूमा शिक्षा, स्वास्थ्य’bout चेतनाको विकास भएपनि अझैसम्म स्वास्थ्यमा पहुँच पु-याउने नागरिक नरहेको बताए । ‘शिक्षा, स्वास्थ्यमा केही चेतनाको विकास भएपनि अझैसम्म यहाँको मुसहर बस्तीसहित भित्री गाउँका मानिसहरूले स्वास्थ्यमा पहुँच पु¥याउनै सक्दैनन्,’ उनी भन्छन्, ‘साह्रोगाह्रो हुँदा पनि उपचार नै गर्न नजाने परम्परा पनि छ, यसमा राज्य गम्भीर हुन आवश्यक छ ।’ उनले स्वास्थ्यमा पहुँच पु¥याउनका लागि सर्वहारा नागरिकलाई चेतना जगाउन आवश्यक रहेको उनको तर्क छ ।
यता, इटहरी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख रामकुमार धमलाले अहिले आफूहरूले विशेषज्ञसहितको सेवा सञ्चालनमा ल्याइएको दाबी गरे । ‘दुईजना विशेषज्ञ चिकित्सक, दुईजना मेडिकल अधिकृत, अरु पारामेडिकसहित हामीले अहिले सेवा दिइरहेका छौँ,’ उनको दाबी छ, ‘अहिले एउटा मात्र भवन रहेको र अर्को भवन बन्ने क्रममा रहेकाले बिरामीको चाप बढ्दो त छ, तर केही समय पालोमा बसेपछि उपचार हुन्छ ।’
उनले बीमा रेफरको विषयमा भने अस्पतालमा जे सुविधा छ त्यसको प्रयोग गर्ने, यहाँ नभएको सेवा लिनका लागि पहिला उपचार गरेर मात्रै रेफर पाइने बताए । उनले भने, ‘इटहरी अस्पतालमा जे सुविधा छ, त्यो यहाँ लिने, थप उपचार आवश्यक परेको अवस्थामा मात्रै यहाँबाट रेफर लिने हो, यो सरकारकै पोलिसी हो ।’
उनले १५ बेडको अस्पताल रहेको यहाँ हाल भिडियो एक्सरेसहितको सेवा सञ्चालन गरिरहेको बताए । ‘भिडियो एक्सरेका लागि एकदिन चैँ कुर्नुपर्छ, त्यसका लागि आजै नाम लेखाइयो भने भोलिसम्ममा पालो आउँछ,’ उनले भने, ‘अहिले नगरपालिकाले मात्रै अस्पताल धानिरहेको छ, यसका लागि प्रदेश र संघीय सरकारको पनि आवश्यकता पर्छ ।’ उनका अनुसार हाल आधारभूत स्वास्थ्य इकाईमार्फत परिवार नियोजनको सेवा, खोप सेवा सञ्चालन भइरहेको छ । यसअघि उपस्वास्थ्यचौकीले दिने सबै सेवा आधारभूत स्वास्थ्य इकाईमार्फत पाइने उनको दाबी छ ।
यता, इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी घनश्याम सिग्देलका अनुसार अहिले यहाँका १८ वटा वडाबाट प्राथमिक उपचार हुनेगरी सेवा प्रवाह भइरहेको छ ।
उनले जनप्रतिनिधि आइकन पाँच वर्षको अवधिमा इटहरीमा १४ वटा वडामा स्वास्थ्य चौकी निर्माण भएको जानकारी दिए । उनका अनुसार नेपाल सरकारबाट प्राप्त बजेटबाट इटहरीका सबैजसो वडामा स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । ‘अब सामान्य जाँच गराउन बाहिर जानुपर्ने बाध्यता हटेको छ,’ सिग्देलले भने, ‘एक गर्भवती महिलाले आठ पटकसम्म जाँच गराउन र एउटा बच्चाले ६ पटकसम्म खोप हान्न बाहिर धाउनुपर्ने बाध्यता हटेको छ ।’ उनले स्थानीय स्तरमै उपचार पाएपछि भित्री गाउँका बासिन्दाको खर्च पनि जोगिएको र सेवा प्रवाह पनि भइरहेको दाबी गरे । उनका अनुसार एउटा प्राथमिक स्वास्थ्य इकाई तीनजनासम्म स्वास्थ्यकर्मी परिचालित छन् ।
जनप्रतिनिधि आउनु अगाडि इटहरीको १, ९, १२, १६, १७ र २० नं. वडामा स्वास्थ्य चौकी थिए । तर, पछि इटहरी ६ र १५ नं. वडामा बाहेक अन्य सबै वडामा प्राथमिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । यी वडामा भवन निर्माणकै क्रममा छन् । ‘अब वडागतमै रूपमा सहरी स्वास्थ्य केन्द्र राखेर भवन बनेकाले प्राथमिक उपचारमा सहज हुन्छ ।’ उनले भने ।






