काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तह निर्वाचन २०७९ का लागि आइतबार घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टी शीर्ष नेताहरूले सामूहिक रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
जसपाको घोषणापत्र
संघीयपरिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राईलगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । जसपाले ‘पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार’ भन्ने मूल नाराका साथ घोषणापत्र तयार गरेको छ ।
जसपाले ‘भ्रष्टाचारमुक्त बनाऔं, विकास र समृद्धिको अभियान अघि बढाऔं’ भन्ने नारालाई जोड दिँदै स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधा प्रदान गर्न उल्लेखनीय योगदान गर्ने विश्वास जसपाको छ ।
जसपाले वडा र पालिका कार्यालयलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवासुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कारबाही गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।
प्रत्येक वडामा ५० र नगरपालिकामा ५ सय जना युवालाई रोजगारी दिने र माध्यामिक तहसम्मको शिक्षा व्यावहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको गरिएको छ । स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको छ ।
आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ । जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी÷दलित, दुर्गमवासी, महिला, लैंगिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता गरेको छ ।
जसपा अध्यक्ष यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाउँगाउँमा स्वस्थकर पिउने पानी, फोहोरमैला व्यवस्थापनका विषय र विपद् व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए । त्यस्तै, जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले मास्टर प्लान बनाएर नै विकासको योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोकतन्त्रलाई जनताको घरदैलोमा पु¥याउने र तल्लो तहबाटै विकास गर्ने योजना आफूहरूको रहेको उनले बताए । स्थानीय तहको निर्वाचन लोकतन्त्रलाई गाउँ टोलसम्म पु¥याउने अभियान भएको बताउँदै भट्टराईले भने, ‘स्थानीय निर्वाचन ३५ हजार जनप्रतिनिधि निर्वाचित भएर लोकतन्त्रलाई गाउँ, वडा र टोलसम्म पु¥याउने एउटा अभियान हो । त्यसैले यो निर्वाचनमा हाम्रो पार्टीको विचारमा प्रदेश र संघको निर्वाचनभन्दा पनि बढी महत्वपूर्ण छ ।’ उनले आफूहरूले घोषणापत्रमा भ्युटावरको कुरा नगरेको बताए ।
शिक्षा र स्वास्थ्य कसरी सर्वसुलभ बनाउने, निःशुल्क बनाउने, गुणस्तर बनाउने र घरघरमा पु¥याउने भन्नेजस्ता प्राथमिकता आफूहरूको रहेको उनले बताए । भट्टराईले डोजरे विकास भनेर जतासुकै भत्काउँदै हिँड्ने प्रवृत्तिलाई पनि आफूहरूले नयाँ ढंगले लैजाने बताए । त्यसप्रति उनले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘लोकतन्त्रलाई घरदैलोमा पु¥याउने र विकास पनि माथिबाट लाद्ने होइन, तलबाटै ल्याउने हाम्रो मुख्य प्रतिबद्धता छ । हाम्रा प्रतिबद्धता विशिष्ट र नवीन छ ।’
वीरगन्ज, विराटनगर र जनकपुरमा उम्मेदवार तय
जसपाले वीरगन्ज महानगरपालिका र विराटनगर महानगरपालिकामा उम्मेदवार टुंगो लगाएको छ । जसपाको मुख्यालयको आइतबार काठमाडौंमा बसेको बैठकले वीरगन्ज महानगरपालिकामा राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) परित्याग गरेर एक महिनाअघि जसपामा प्रवेश गरेका थिए ।
नेवार समुदायका सिंह वीरगन्जका प्रभावशाली नेता हुन् । जसपाबाट गत निर्वाचनमा वीरगन्ज महानगरको मेयर विजयी भएका विजय सराबागी एक महिनाअघि जसपा परित्याग गरेर नेकपा (एमाले) प्रवेश गरिसकेका छन् । सरावागी एमालेबाट मेयरको उम्मेदवार बनेका छन् । सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेको जसपाको भागमा वीरगन्ज महानगरपालिका परेको छ ।
उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ । सोहीअनुसार जसपाले मेयरको उम्मेदवार टुंगो लगाएको हो । यस्तै, पाँच दलीय गठबन्धनमा भएको सहमतिअनुसार जसपाको भागमा विराटनगर महानगरपालिकाको उपमेयर परेको छ । कांग्रेसले विराटनगरमा मेयर पाएको छ । जसपाले उपमेयरमा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए ।
यादव पार्टी अध्यक्ष उपेन्द्रका छोरा हुन् । उपेन्द्रले छोरालाई उम्मेदवार बनाएपछि विराटनगरका सयौं नेताहरू पार्टीबाट राजीनामा दिएका छन् । यसैगरी, पाँच दलीय गठबन्धनको सहमतिअनुसार जसपाले जनकपुरधाम उपमहानगरपालिमा लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । साह २०७४ सालको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधामको मेयर निर्वाचित भएका थिए ।
त्यतिबेला उनले २१ हजार ९ सय ३ मत पाएका थिए । उनलाई कांग्रेसका उम्मेदवार मनोजकुमार साहले पछ्याएका थिए । साहले ११ हजार १ सय ६४ मत पाएका थिए । पाँच दलीय सहमतिअनुसार कलैया उपमहानगरपालिका, नेपालगन्ज उपमहानगरपालिकामा उपमेयर पाएको जसपाले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।






