कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर उठेका दुवै पुरुषको मनोनयन खारेज भएको छ । निर्वाचन आयोगका अनुसार कृष्णनगर नगरपालिकामा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए ।
कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि दुवै पदमा पुरुषले उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिइन् ।
दलित प्रमाणपत्र पेश गर्न नसक्दा मनोनयन खारेज
त्यसैगरि कृष्णनगरमै दलित प्रमाणपत्र पेश गर्न नसकेका कारण वडा नम्बर ९ मा माओवादीबाट दलित महिला सदस्यको उम्मेदवार बनेकी सनिरा धोवी र जनता प्रगतिशील पार्टीकी सुमिरता रैदासको उम्मेदवारी रद्द भएको छ ।
एउटै पार्टिबाट एकै पदमा दुई जनाको उम्मेदवारी
त्यस्तै मायादेवी गाउँपालिका वडा नम्बर ३ मा जनता समाजवादी पार्टिबाट एकै पदमा दुई जनाले उम्मेदवारी दिएको पाइएपछि रामनाथ यादवको उम्मेदवारी रद्द भएको छ ।
राजिनामा नदिइ मनोनयन दर्ता
मायादेवी गाँउपालिकाको वडा नम्बर ५ मा जसपाकै महिला सदस्य पदकी उम्मेदवार रामरती अहिरले जनप्रतिनिधिबाट राजिनामा नदिइ मनोनयन दर्ता गरेका कारण उनको उम्मेदवारी पनि खारेज भएको हो ।
सबै भन्दा बढि उम्मेदवारी खारेज हुनेमा बिजयनगर गाउँपालिका
बिजयनगर गाउँपालिकामा सबै भन्दा बढि ८ जनाको उम्मेदवारी खारेज भएको छ । वडा नम्बर ६ का जनता प्रगतिशील पार्टीबाट वडा अध्यक्षका उम्मेदवार उदितकुमार मिश्रा, वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रकी महिला सदस्य साधना केवट, वडा नम्बर ५ मा जनमोर्चाकी महिला सदस्य पदकी उम्मेदवार सुनिता चौधरी कुर्मी, वडा नम्बर १ मा महिला सदस्य पदकी बहुजन शक्ति पार्टीकी उम्मेदवार सुशीला चौधरीको उम्मेदवारी खारेज भएको छ ।
यस्तै वडा नम्बर ७ का राष्ट्रिय जनमोर्चाका वडा सदस्य उम्मेदवार बालजी कोरी, वडा नम्बर ४ मा राप्रपाकी दलित महिला सदस्य पदकी उम्मेदवार जमुना घर्ति, वडा नम्बर ३ का जनता प्रगतिशील पार्टीका सदस्य पदका उम्मेदवार साहिद पठान र सोहि पार्टीकै वडा नम्बर ६ मा महिला सदस्य पदकी उम्मेदवार रेश्मा चौहानको उम्मेदवारी खारेज भएको सुचना अधिकारी क्षेत्रीले जनाइन । कपिलवस्तुका १० वटा स्थानीय तहमा कुल ३ हजार ५ सय ८२ जनाले उम्मेदवारी दिएका थिए ।