जब ‘भजनशिरोमणि’ले आँसु पुछे…

ललितपुर । हो, भक्तराज आचार्य एकाएक ‘स्निग्ध’ देखिए । अनि, आँखा चिम्म पारे । बाहिर भर्खरै रोकिएको ‘वर्षादी मौसम’ पारिलो घाममा सेकिँदै छ । भित्र भने ‘भजनशिरोमणि’ भक्तराजका आँखा बर्सिन थाले । उनका आँखीचेप रसिला भइसके । रुमाल झिक्छन्, आँसु पुच्छन् ।
ठीक अघिल्तिर संगीतकार शुभबहादुर सुनाम सुनौलो सेक्सोफोनबाट ‘रौं’ नै ठाडो पार्नेगरी धुन ङ्खयाँकिरहेका छन्,

जहाँ छन् बुद्धका आँखा
स्निग्ध, शान्त र सुन्दर
त्यहाँ छ, शान्तिको क्षेत्र
मेरो राष्ट्र मनोहर…

आफ्नै स्वर÷संगीतको बमबहादुर थापा ‘जिताली’कृत गीतको धुन टुंगिनेबित्तिकै भावविह्वल भक्तराज जुरुक्क उठ्छन् । शुभबहादुरलाई केही बेर अँगालोमा बेर्छन् । उनको सुस्केरा सायदै कमैले महसुस गरे, तर गायक पुत्रद्वय सत्यस्वरुप पितासँगै ‘स्निग्ध’ लाग्छन् ।

छेवैकी अग्रज गायिका तीर्थकुमारीले पनि आँसु थाम्न सकिनन् । चश्मा हल्का उघार्दै उनले पनि सुटुक्क आँसु पुछिन् । अलिपर लामो कपाल पालेका तीर्थकुमारीकी गायक छोरा सुरज थापा ‘भावुक’ मुद्रामा देखिन्छन् । मातातीर्थका दिन ‘सम्मानित’ आमा मञ्चमा पाउँदा सुरजभित्र वात्सल्य छचल्किरहेको महसुस हुन्छ ।

झन्डै चार दशकअघि रेडियो नेपालमा स्वरांकित गीतको धुन (जहाँ छन् बुद्धका आँखा) सेक्सोफोनमा गञ्जिँदै गर्दा उनै ‘भजनशिरोमणि’ भक्तराजले आफूलाई थाम्न सकेनन् । सार्वजनिक समारोहमा विरलै देखिने भजनशिरोमणिको आँसुले पूरै माहोल विह्वल बनाइदियो । गजल, भजन, स्वदेश र बाल गरी झन्डै ४ सय गीत संगीत ढुकुटीमा सुम्पेका छन्, उनले ।

तर, ३२ वर्ष भयो, भक्तराजले नगाएको । १९ मंसिर २०४६ को ‘बौद्ध घटना’ उनको मानसपटलमा अझै नाचिरहन्छ । कुपण्डोल हाइटमा शनिबार आयोजित समारोहबीच उनले आफ्नो विह्वलता आँसुसँग साटे । छेवै बसेकी पत्नी सुुशीला उनको मुहार हेरेर एकोहोरिएकी थिइन् ।

‘म ७२ वर्षको भएँ, अझै पनि संगीतमा साधनारत छु,’ भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०७८ बाट सम्मानित संगीतकार सुनामले भने, ‘यसैमा जीवन अर्पण गरें र गर्छु ।’ उनले यति भन्दै गर्दा भजनशिरोमणि गद्गद् देखिए । यही सम्मान गायनतर्फ तीर्थकुमारीलाई प्रदान गरिएको छ । दुबै सम्मानमा नगद ५० हजार १ समावेश छ ।

आगामी वर्षदेखि सम्मान राशि एक लाख पु-याइने भक्तराज आचार्य संगीत प्रतिष्ठानले जनाएको छ । यसै वर्षदेखि ‘सुशीला आचार्य सुस्वास्थ सम्मान’ स्थापना गरेको प्रतिष्ठानले वाद्यवादक रुपेश सिंहलाई २५ हजार नगदसहित सम्मानित गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 636 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचितको कार्यकाल आजबाट सुरु