यतिबेला स्थानीय तहको निर्वाचनको समय नजिकिँदै छ । निर्वाचन भएपछि बहुउम्मेदवार हुने नै भए । बहुुउम्मेदवार भइसकेपछि सबैले जित्ने कुरा भएन । आफूले जित्नका लागि अर्कोलाई होचो देखाएर म अग्लो छु भन्ने होडबाजी सबै दल र उम्मेदवारमा देखिएको छ । जसरी भए पनि चुनाव जित्नैपर्छ भन्ने ध्याउन्नमा सबै लागेका छन् ।
सम्भवतः चुनावी मौसमकै कारण खासखास मौकामा खासखास आरोप लगाएर व्यक्तिलाई पलायन गराउने रोगले यतिबेला हामीकहाँ चर्चा पाएको छ । आरोप आरोपका लागि कि सुधारका लागि ? भन्ने कुरा नै अलमलमा परेको छ । कुनै पनि आरोप बेलैमा सप्रमाण पेस हुनसके मात्र सत्यतथ्य बाहिर आउने र सरोकारवालालाई पनि सच्चिने मौका मिल्न जान्छ । अन्यथा आरोप आरोपकै लागि सीमित हुन्छ भने त्यस्तो आरोपको नैतिक मूल्य हुँदैन ।
कर्मचारी खेद्ने चलन
२०४७ सालमा बहुदलीय व्यवस्था आएपछि तत्कालीन सरकारले दर्जनौं कर्मचारीलाई निर्दलीय पञ्चायती व्यवस्थाको संरक्षण गरेको आरोप लगायो । निर्दलीय व्यवस्थामा जागिरमा प्रवेश गर्न प्रहरी प्रतिवेदन अनुकूल हुनुपथ्र्यो । उतिबेला बहुदल आएको नै थिएन । तैपनि सरकारले यति कुरा ख्याल गरेन । दर्जनौं कर्मचारीलाई अवकाश दियो । पछि अदालतले पुनर्बहाली ग¥यो । सरकारको आरोप मिथ्या साबित भयो ।
आफू जित्न अर्कोलाई होचो देखाएर म अग्लो छु भन्ने होडबाजी सबै दल र उम्मेदवारमा देखिएको छ
२०६२÷६३ को जनआन्दोलन सफल भइसकेपछि केही जिल्लाका स्थानीय नेताहरूमा सनक चढ्यो । जिल्लामा सर्वदलीय बैठक गरी विगतमा आफ्नो मुठ्ठीमा राख्न नसकिएका कर्मचारीलाई जनआन्दोलनविरोधी भनेर ‘ट्याग’ लगाउने काम भयो । व्यक्तिगत रिसइबी निकै साँध्ने काम भयो । कतिपय जिल्लाले सर्वदलीय बैठक गरी यो, यो कर्मचारी भ्रष्टाचारी भनेर निर्णय नै गराए । मानांै कुनै क्लबको बैठकले आन्तरिक निर्णय गरेजस्तै । तर त्यति सहज थिएन, कर्मचारीलाई भ्रष्टाचारी प्रमाणित गर्न । जिल्लाको सर्वदलीय निर्णय भन्दै केही कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइयो । आयोगले प्रमाणबिना भ्रष्टाचारको मुद्दा चल्न नसक्ने ठहर गर्दै सुनवाइ नै गरेन । पछि तिनै कर्मचारीमध्ये कतिपयलाई दलहरूले च्यापेर आकर्षक पद र स्थान दिए । आज पनि त्यस्ता कर्मचारीहरूमध्ये कतिपयलाई विभिन्न दलले टिकट दिई स्थानीय निर्वाचनमा उम्मेदवार बनाएका छन् । हिजो आफैंले भ्रष्टाचारी भनी निर्णय गरेको कर्मचारीलाई आज आफ्नै दलको योग्य, इमानदार कार्यकर्ता भन्दै चुनावी प्रतिस्पर्धामा उतार्दा ती दलले विगतमा गल्ती गरिएछ भनेर आमरूपमा माफी माग्नुपर्ने होइन र ?
यौन हिंसा सस्तो बनाइयो
आजभोलि महिला हिंसाका नाममा कुनबेला कसलाई के आरोप आउँछ भन्न नसकिने अवस्था छ । यौनको मामिलामा सामान्य मानिसदेखि मै हुँ भन्नेहरूसमेत कुनै न कुनै रूपमा चुकेका हुन्छन् । यद्यपि, यो नितान्त प्राविधिक, वैयक्तिक एवं जैविक पक्ष पनि हो । कतिपय ऋषिमुनिहरूदेखि राजामहाराजाको कथा, व्यथा यौनमा गएर टुंगिएको समेत पाइन्छ । नेपालका सन्दर्भमा केही वर्षअघि प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी प्रकरण यसै सन्दर्भमा बाहिरिएको प्रतिनिधि घटना हो । यद्यपि, यसको सत्यापन हुन सकेन । आरोप मिथ्या ठहर्यो । स्वतन्त्र विश्लेषक प्रा. डा. सुरेन्द्र केसीका शब्दमा ‘नेपालमा उच्च तहका मान्छेहरू कुनै न कुनै रूपमा यौन मामलामा विवादित छन् । धेरैजसोसँग ‘कान्छी’को कथा गाँसिएको छ । समुचित व्यवस्थापन गर्न नसक्दा महरा प्रकरण बाहिर आएको मात्र हो । यो कुनै नौलो कुरै होइन ।’
महरा प्रकरणको लगत्तै प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईविरुद्ध बालिका खड्काले धाबा बोलिन् । आफूलाई यौनहिंसा गरेको आरोप लगाइन् । यद्यपि, यो आजसम्म आरोपमा नै सीमित छ । कानुनी विषय भने बनिसकेको छैन । यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । धेरै ठूला भन्ने मान्छेहरूका कथा अरू पनि छन् ।
चुनावका मुखैमा आरोप
पोखरा महानगरमा नेकपा एमालेका तर्फबाट मेयरमा प्रस्तावित गरिएका उक्त पार्टीका नेता दीपक पौडेललाई केही वर्षअघि पोखराको कुनै एउटा सुनपसलबाट सिक्री चोरेको आरोप लगाइयो । आरोप यसकारण कि कसैलाई चोर वा भ्रष्टाचारी करार गर्नु त्यति सजिलो छैन । आधिकारिक सबुत चाहिन्छ । सबुतको आधारमा आरोप प्रमाणित भएपछि कानुनी सजाय हुन्छ र मात्र चोर वा भ्रष्टाचारी भन्न मिल्छ । प्रमाणबिनाका सबै आरोप मनगढन्ते नै मानिन्छन् । पौडेलका ’boutमा सामाजिक सञ्जालमा एउटा भिडियो क्लिप नै राखियो । सायद यही कारण हुनुपर्छ उनको दलले पछि मेयरको उम्मेदवार नै परिवर्तन गर्नुप¥यो । यस सम्बन्धमा आरोपित पौडेलले आफूले छोरीको बिहेका लागि किनेको सिक्री लगेकोमा आफ्नो चरित्र हत्या गर्न चोरी गरेको आरोप लगाइएको प्रतिक्रिया दिइसकेका छन् ।
हालै मात्र काठमाडौं महानगरका लागि नेकपा एमालेका तर्फबाट प्रस्तावित मेयरका उम्मेदवार केशव स्थापितलाई रश्मिला प्रजापतिले आफूलाई यसअघि स्थापित काठमाडौंको मेयर हुँदा यौन हिंसा गरेको आरोप लगाएकी छन् । प्रजापतिको आरोप आजभोलि सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।
कसैलाई आरोप लगाउनुपूर्व तीनपटक सोच्न जरुरी छ कि कतै मैले गलत आरोप त लगाउँदै छैन यदि सही हो भने यस्ता आरोप घटना घटेकै तत्क्षणमा लगाउन किन सकिएन
चाहे महराले रोशनीसँग राखेको सम्बन्ध होस् वा दीपक पौडेलले सिक्री चोरेको सन्दर्भ होस् या स्थापितले यौनहिंसा गरेको भनी लगाइएको आरोप होस्, यी सबै १०औं वर्ष अगाडिका घटनासँग सम्बन्धित छन् । आजसम्म ती पात्रले किन सम्बन्धित निकायमा गई उजुरबाजुर गरेनन् ? प्रश्न यहाँनेर छ । सत्यापन भएछ भने कुनै दिन आरोप आफंैमा सत्य ठहर्ला÷नठहर्ला त्यो बेग्लै कुरा हो । तर, कसैलाई आरोप लगाउनुपूर्व तीनपटक सोच्न जरुरी छ कि कतै मैले गलत आरोप त लगाउँदै छैन ? सही हो भने पनि यस्ता आरोप घटनाघटेकै तत्क्षणमा लगाउन किन सकिँदैन ? आजको अहं सवाल यो हो ।
यौनको मनोवैज्ञानिक पक्ष
जतिसुकै नकारात्मक रूपले हेरे पनि यौनमानव जीवनको एउटा अनिवार्य आवश्यकता भने हो । अमेरिकी मनोविद् अब्राहम् मास्लोले १९५४ मा ‘मोटिभेसन एन्ड पर्सनालिटी’मा आवश्यकताका शृंखला तोकेका छन् । उनका अनुसार आवश्यकताका पाँचौं तह छन् र यीमध्ये पहिलो तहमा शारीरिक आवश्यकता पर्छ । शारीरिक आवश्यकताअन्तर्गत मास्लोले गास, बास, कपास यौन, सुरक्षा आदिलाई लिएका छन् । उनका अनुसार मानिसलाई जसरी दाल, भात चाहिन्छ त्यसरी यौन पनि अनिवार्य रूपमा चाहिन्छ । आचार्य रजनिशको त ‘सेक्स से समाधितक’ दर्शन नै बनेको छ । अर्का मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले बच्चाले आमाको स्तनपान गर्दा समेत यौन आकांक्षा उत्पन्न हुन्छ भन्छन् । उनका अनुसार छोरा आमासँग र छोरी बाबुसँग नजिकिनुका पछाडि पनि यही मनोवैज्ञानिक कारण छ । फ्रायड आफ्नी आमा आमेलिया फ्रायडसँग यौनैच्छा राख्दथे भनिएको छ । यौन जैविक पक्षसँग सम्बन्धित भएकाले गर्दा पनि होला अधिकांश मान्छेहरू विचलित भएकै हुन्छन् । यसलाई उमेर, वाद, जात, धर्मले कमै छेक्छ भन्ने कुरा थाइल्यान्डको पतायाको नाइट क्लबसम्म पुग्दा थाहा हुन्छ । जतिसुकै कडा दर्शन बोकेको विचारक पनि यस मामलामा कमजोर ठहर्छ भन्ने कुरा ‘हजारौं गोलीका छर्राले नढलेको एक योद्धा यौनको लालसाले सहजै ढल्छ’ भन्ने लेनिनको भनाइले पुष्टि गर्छ । यसबाट पनि यौन व्यवस्थापन एउटा चुनौतीपूर्ण र जटिल कार्य हो भन्न सकिन्छ ।
स्वभाव आआफ्ना
मान्छे कामवासनाबाटै जन्मेको हो, यसैकारण जति बढी कामवासनाको पूर्ति गर्न सक्यो त्यति मात्रामा मानिस खुसी हुन्छ भन्ने भनाइ फ्रायडले राख्छन् । यसका लागि विवाह÷मर्यादाको उलंघन गर्नुुपरे पनि गर्नुपर्छ । उनका अनुसारमा मानिसको इदमा रहेको स्वभावले यौन चाहना गरी नै रहन्छ र हर सम्भवले यसको पूर्तितर्फ ऊ लाग्छ । यसलाई उनी जीवनको जैविक आवश्यकता नै ठान्छन् ।
यस्तो अवस्थामा हाम्रा नेताहरू पनि अछुत रहेनन् कि भनेर शंका गर्न सकिएला तर यसैका आधारमा आरोप लगाउनु भनेको अपरिपक्वताको चिनारी मात्र हो । नेपोलियन २५ वर्षसम्म नारीप्रति आकर्षित नै भएनन् । कामवासनाको कुरो त परै जावस् । भगवान बुद्धले पत्नी नै परित्याग गरे । विवाहित भएर पनि रामकृष्ण परमहंस योगीसरह रहे । मानवीय स्वभाव हेर्दा पुरुष बढी यौनात्तुर देखिए पनि नीतिले पुरुषमाभन्दा महिलामा आठगुणा कामवासना बढी हुन्छ भन्दछ । उनीहरू दबाउन सक्छन्, पुरुष सक्दैन फरक यत्ति हो । यसकारण यौनहिंसाका मामिलामा पुरुषलाई मात्र एकतर्फी गलत देख्नु ऊप्रतिको अन्याय हो । बजारमा म विवाह नगरिकन पनि आमा बन्न सक्छु, कसले रोक्छ मलाई आमा बन्नबाट ? भनेर चुनौती दिने महिलाहरू भएको हाम्रोजस्तो परिवेशमा पुरुषलाई मात्र हिंस्रक देख्ने मनोविज्ञानमा परिवर्तन गर्न जरुरी छ । यसका लागि आरोपितहरू पनि संवेदनशील हुनैपर्छ ।






