धनगढी उपमहानगरपालिकाको प्रमुखमा तपाईंको उम्मेदवारी किन ?
धनगढी उपमहानगरपालिका सुदूरपश्चिम प्रदेशको विकासको दिशा निर्देश गर्ने क्षेत्र हो । पछिल्लो पाँच वर्षीय कार्यकालमा नेपाली कांग्रेसका नृपबहादुर वडले कुनै काम गरेको पाइएन । उहाँले गरेको पहिलो निर्णय नै अलपत्र छ । यो उपमहानगरपालिकामा विकासका योजना, कार्यालय सबै अस्तव्यस्त छ । यो अस्तव्यस्त धनगढी उपमहानगरलाई व्यवस्थित बनाउन मैले आउनुपर्ने देखियो । विद्यार्थी जीवनदेखि नै पूर्णकालीन कार्यकर्ता भएर लागेको मैले अहिलेसम्म कुनै लाभका पद पाएको थिइनँ । मैले यो समाज र देशका लागि गरेका कामको मूल्यांकन गर्दै अहिलेको परिस्थितिमा पार्टीले पनि मेरो आवश्कता महसुस गरेपछि स्वतः मेयरको उम्मेदवारी हो ।
तपाईंका योजना पूरा हुन्छन् भन्ने कसरी विश्वास गर्ने ?
म गर्न नसक्ने कुरा बोल्दिनँ । जे बोल्छु, त्यो गर्छु । निवर्तमान मेयरसापले धनगढीका अतिक्रमित खोलानाला खाली गर्छु भनेर घोषणा गर्नुभएको थियो तर, कार्यकाल सकिँदासम्म त्यो घोषणा पूरा गर्नु भएन । पहिलो निर्णय नै उहाँले पूरा गर्न सक्नुभएन । अनि उहाँलाई विश्वास गर्ने कुरा भएन । उहाँ त सर्वदलीय संयन्त्रदेखि नै स्थानीय सरकारसम्म त्यही धनगढी उपमहानगरमा हुनुहुन्थ्यो तर, अहिले पनि काम शून्य देखियो र यस कारण धनगढीवासी परिवर्तन चाहनुहुन्छ ।
राजनीति गर्दाको लगानी उठाउन मेयर बन्न लाग्नु भएको हो र ?
म विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेको व्यक्ति हुँ । अनेरास्ववियुबाट सुरु गरेको मेरो राजनीतिक यात्रा जिल्लाका विभिन्न क्षेत्र हुँदै केन्द्रसम्म पुग्यो । मैले यसबीचमा कुनै आम्दानी हुने पद लिएको छैन । कुनै व्यवसाय पनि गरेको छैन । मैले राजनीति र समाजसेवा नै गरें । मेरो जीवन खुला किताब हो सबैले पढ्न पाउँछन् । यस्तो सदा जीवनमा मैले पैसा नै कमाउन चाहेको भए अन्य काम गर्थें नि त्यस कारण मेरो उद्देश्य पैसाभन्दा पनि विशुद्ध समाजसेवा नै थियो र म जनप्रतिनिधि बनेर पनि म सेवा नै गर्ने हो । मेरो पुरै ऊर्जावान समय यही समाजका लागि खर्चेको छु त्यसकारण मलाई अझ सेवा गर्ने अवसर धनगढीवासीले दिनुहुने छ ।
तपाईंले जित्ने आधार के–के छन् ?
जित्ने आधार भन्नु पर्दा संगठन नै हो । हाम्रो पार्टीका गुटरहित संगठन रहेको छ । सबैतिर मिलाएर समावेशी तरिकाले उम्मेदवार बनाएका छौं । त्यसै पनि एमाले पार्टीप्रति जनताका आशाभरोसा बढेको छ । मेरो इमानदारिता देखेर पार्टीले पनि मलाई उम्मेदवारी अगाडि सारेको छ । विकासका एजेन्डा लिएर जनतामाँझ जाँदै छु । निवर्तमान नेतृत्वले गरेका बेथिति लिएर जनतामाँझ गएका छौं । यी नै मेरो जित्ने आधार हुन् ।
तपाईंका चुनावी एजेन्डा के–के छन् ?
धनगढी बजार क्षेत्रलाई सफासुग्घर र व्यवस्थित बनाउने मेरो पहिलो प्राथमिकता हुन्छ, बाटोको अवस्था, पार्किङ, अटो रिक्साले बजार जाम परिरहेको छ । जथाभावी फोहोरले धनगढी कुरूप छ, पहिलो नम्बरमा यो व्यवस्थित गर्नेछु । यो सहरलाई व्यवस्थित गर्ने जिम्मा जनप्रतिनिधिको हो । तर, यसमा निवर्तमान धनगढीका मेयरको ध्यान गएको पाइँदैन । परम्परागत रूपमा चलेको धनगढीलाई आधुनिकीकरण गर्न सकिएन, आधुनिक सहर बनाउने मेरो प्राथमिकता रहने छ । धनगढी उपमहानगरपालिकाका १९ वटा वडाका धेरै जनता गुणस्तरीय शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, विद्युतबाट बञ्चित छन् । धेरैले पायो होला अझै निम्नवर्गका नागरिकले पाउन सकेका छैनन् । हामी निर्वाचित भएको दुई वर्षभित्र सबै नागरिकलाई स्वच्छ पानी र घरघरमा विद्युत् पु¥याउने लक्ष्य छ ।






