गठबन्धनको शक्ति भरतपुर र काठमाडौंमा


काठमाडौं । सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलको सिंगो शक्ति ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाका जसरी पनि जित हात पार्नेतर्फ केन्द्रित भएको छ ।

देशका ६ महानगरपालिकामध्ये काठमाडौं र भरतपुरलाई सत्ता गठबन्धनले साखको विषय बनाएको छ भने गठबन्धन आबद्ध दलका पहिलो र दोस्रो तहका शीर्ष नेता यी दुई महानगरमा दौडादौडमा छन् ।

काठमाडौंको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उपमेयर मैदानमा छन् । यसैगरी, भरतपुर महानगरमा माओवादी केन्द्रले मेयर पाउँदा कांग्रेसले उपमेयर लिएर मैदानमा होमिएको छ ।

यी दुई महानगरमा गठबन्धन आबद्ध शीर्ष नेताका छोरी र श्रीमती उम्मेदवार बनेका छन् । भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल उम्मेदवार बनेकी छन् भने काठमाडौंमा कांग्रेस नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंह मैदानमा छिन् ।

यी दुवै महानगरमा गठबन्धन आबद्ध कांग्रेस माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी सभासमेत गरिसकेका छन् । ती सभामा सहभागी भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताहरूले भरतपुर र काठमाडौंलाई केन्द्रमा राख्दै मत मागेका हुन् ।

यसैगरी, प्रधानमन्त्री देउवाले भरतपुरमा आफ्नै दलबाट स्वतन्त्र उम्मेदवार बनेका जथन्नाथ पौडेललाई मनाउनसमेत सकेसम्मको शक्ति लगाएका छन् ।

शुक्रबारको भरतपुरको चुनावी सभाअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत बागी उम्मेदवार जगन्नाथलाई फकाउन सकेसम्मको प्रयास गरेका थिए भने त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्री देउवाले भरतपुर पठाएका थिए । सरकारका अर्का मन्त्री उमेश श्रेष्ठ पनि चितवन खटिँदै आएका छन् ।

गत बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा प्रचण्डले रेणु दाहाललाई निर्वाचनमा मत नदिए देशले दुर्घटना भोग्नुपर्ने भन्दै मतदातालाई चेतावनी नै दिएका थिए । सो क्रममा प्रचण्डले शान्ति सम्झौता र गिरिजाप्रसाद कोइरालाको प्रसंगसमेत झिकेर चितवनका कांग्रेस नेता कार्यकर्तालाई मनाउने कोसिस गरेका थिए ।

यस्तै, शुक्रबार काठमाडौंमा आयोजित चुनावी सभामा पनि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेकपा एसका अध्यक्ष नेपालसहितका गठबन्धनका सबै शीर्ष नेताहरूले काठमाडौं र भरतपुर केन्द्रित हुँदै मत मागेका थिए ।

गठबन्धनबीच भएको भागबन्डाअनुसार ६ महानगरमध्ये पोखराको नेतृत्व नेकपा एस, विराटनगर, ललितपुर र काठमाडौं कांग्रेस, भरतपुर माओवादी केन्द्र र विरगन्ज जसपाको भागमा परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कूटनीतिक नियोग आराम गर्ने थलो !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा