काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी तŒवहरूले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षडयन्त्र गरिरहेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सोमबार एक अपिल जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अग्रगमन र प्रतिगमनको लडाइँमा माओवादी केन्द्रलाई मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि उनले आह्वानसमेत गरेका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सिंहदरबार केन्द्रित अधिकार जनताको घरदैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले अपिलमा भनेका छन् ।
संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने पक्षले षड्यन्त्र गरिरहेको प्रचण्डको भनाइ रहेको छ ।
‘हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएका छौं । हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन्,’ उनले अपिलमा उल्लेख गरेका छन् ।
स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती आफूहरूको सामुने रहेको उनले जनाएका छन् ।
कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसिना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने निष्कर्ष माओवादी केन्द्रको छ ।
‘इतिहासले माओवादीलाई यो जिम्मेवारी सुम्पिएको छ । हामीलाई यथास्थितिमै रुमल्लिन रहर र छुट दुवै छैन’ माओवादीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै उनले भनेका छन् ।






