मेलम्ची पानी : बाढी बढ्ना साथ बन्द

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको सुरुङ मार्ग हुँदै काठमाडौं ल्याइएको खानेपानी जुनसुकैबेला पनि बन्द हुने भएको छ ।

वर्षासँगै बाढी बढेर आकस्मिक रूपमा सुरुङमा पानी हाल्न बन्द गर्नुपर्ने स्थिति आउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

अहिले पनि वर्षाका कारण सुरुङमार्गभित्र धमिलो पानीसमेत जान थालेको छ । आयोजनाले अहिले धमिलो पानी सुरुङमा छिरेपछि त्यसबाट जोखिमको स्थिति नभएकाले बन्द गर्नुपर्ने स्थिति नरहेको जनाएको छ ।

आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बाढी बढेमा जुनसुकै बेला पनि सुरुङ बन्द गर्नुपर्ने स्थिति आउने बताउँछन् । ‘१५ जेठदेखि बन्द गरौं भन्ने छ, प्री मनसुन त्यो अगाडि सुरु भएमा त्यसभन्दा अगाडि नै पनि बन्द हुन सक्छ, ठूलो वर्षा भएर बाढी बढेमा जुनसुकै बेला पनि बन्द गर्नुपर्नेहुन्छ ।’ उनले राजधानीसँग भने ।

वर्षासँगै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः निर्माणपछि गत वैशाख दोस्रो सातादेखि काठमाडौं उपत्यकामा खानेपानीको पुनः वितरण सुरु गरिएको हो । काठमाडौं खानेपानी लिमिटेडले तालिका बनाएर सो पानी वितरण गर्दै आएको छ ।

यसअघि, गत २२ फागुन २०७७ मा मेलम्चीबाट सुरुङमा खसालेर पानीको परीक्षण गरिएको थियो । १५ चैत २०७७ बाट मेलम्चीको पानी वितरण सुरु गरिएकोमा चैत तेस्रो साताबाट औपचारिक रूपमा वितरण सुरु गरिएको थियो । सुरुङ, सुन्दरीजल पानी प्रशोधन केन्द्र र चक्रपथमा बिछ्याइएको थोक वितरण पाइपलाइनको सफल परीक्षणपछि मेलम्चीको पानी काठमाडौंवासीका धारासम्म पु¥याइएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा वितरण गरिने मेलम्ची खानेपानी वितरण कार्यक्रमको उद्घाटन गरेकी थिइन्् । १ असार २०७७ देखि परीक्षणका लागि भन्दै मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा विशाल बाढी आएको थियो । बाढीसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । मेलम्चीको माथिल्लो भागदेखि आएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनको मुख्यस्थल हेडवक्र्समा क्षति पुग्नुका साथै बालुवा, ढुंगा, लेदो माटोयुक्त ग्रेथ्यानले आयोजना स्थल पुरेको थियो । क्षति भएको संरचनाको पुनर्निर्माण गरी गत चैत २९ मा सुरुङमा पानी हालिएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता स्व. कृष्णप्रसाद भट्टराईले विक्रम संवत् २०५१ को मध्यावधि चुनावमा काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने वाचा गरेपछि यसको परिकल्पना अघि बढेको थियो ।

मेलम्ची आयोजनाको सुरु २०५८÷५९ सालमा नै भएको थियो । आयोजना सुरु गर्दा २०६४÷६५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माणमा ढिलासुस्ती, राजनीतिक अस्थिरता, नाकाबन्दी, भूकम्प, कोरोनालगायतका कारण निर्माण अवधि पटकपटक थपिन पुगेको थियो ।

मेलम्चीको पानी काठमाडौं उपत्यकासम्म ल्याउन ३५ अर्बभन्दा बढी खर्च भएको छ । त्यसमा ३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एसियाली विकास बैंक र अन्य दातृ निकायको सहयोग रहेको छ । कुल रकममध्ये १ अर्ब १२ करोड मुआब्जाका लागि वितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 596 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री