‘हनी बनी’को नायिकामा जसिता

काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘हनी बनी’ छाडेपछि यो चलचित्रको नायक नायिका नै परिवर्तन भएका छन् । यो चलचित्रकी नायिका सारा सिल्पाली हटेपछि उनको ठाउँमा अर्की नायिका जसिता गुरुङलाई अनुबन्धित गरिएको छ । यस्तै, यो चलचित्रबाट अनमोल केसी गत साता बाहिरिएपछि यसमा भारतीय मोडल अभिमन्यु तोमर अनुबन्धित भएका छन् ।

यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दै छन् । चलचित्रको छायांकन गत साताबाटै बेलायतबाट सुरु गरिने भएको थियो । तर, बेलायत जानका लागि अभिनेत्री सारा सिल्पालीको भिसा लागेन । उनी छायांकनमा जान नसक्ने भएपछि निर्माण पक्षले उनको ठाउँमा अन्य नायिकालाई लिने जानकारी गरायो । सोही क्रममा अभिनेता अनमोलले पनि चलचित्रलाई आफूले न्याय दिन नसक्ने भन्दै फिल्म छाडे ।

७० लाख पारिश्रमिकमा अनुबन्धित भएका अनमोलले यो फिल्म छाडेपछि यतिबेला फिल्मको नायकमा भारतीय मोडल अभिमन्यु तोमरलाई अनुबन्धित गरिएको छ । अभिनेत्री जसिता गुरुङ भने यो चलचित्रका लागि गत साता नै चयन भएकी हुन् ।

‘याद पिया के आने लगी’ हिन्दी गीतमा मोडलिङ गरेर चर्चा बटुलेका अभिमन्युले थुप्रै हिन्दी गीतको भिडियोमा अभिनय गरेका छन् । बलिउड फिल्मका लागि तयारी गरिरहेका अभिमन्यु दिल्ली निवासी हुन् । भारतमा मात्र नभएर नेपाली युवा पुस्तामा पनि उनको राम्रो क्रेज भएका कारण यो फिल्ममा नायकका रूपमा अनुबन्धित गरिएको निर्माण पक्षले जनाएको छ । अब यो फिल्मको मुख्य भूमिका अभिमन्यु र जसिता हुनेछन् । यसका अर्का नायकमा यसअघि नै सलोन बस्नेत अनुबन्धित भइसकेका छन् । फिल्मको लागत ७ करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

यो चलचित्रको अब चाँडै नै बेलायतबाट छायांकन सुरु गरिने भएको छ । फिल्मलाई अमित बस्नेत, अजित केआर थापा, अंकित गौतम र परि रानाले निर्माण गर्दै छन् । यही टिमले यस अघि फिल्म पासवर्ड र सम्हालिन्छ कहिले मन निर्माण गरिसकेको छ । फिल्मलाई एबी इन्टरनेसल, गौतम प्रोडक्सन र भ्वाइस फिल्मको संयुक्त ब्यानरमा निर्माण गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 541 times, 1 visits today)

epaper

ताजा समाचार

अस्तित्वका लागि मिल्दै वामपन्थी