अग्रगामी नेताकै पश्चगामी व्यवहार


सिद्धान्त र व्यवहार एक अर्काका परिपूरक हुन । तर्क, प्रमाण, प्रयोग र परीक्षणकै कसीद्वारा माझिएको सिद्धान्त, व्यवहारबाटै कार्य रूपमा उतारिन्छ । सिद्धान्तलाई यथा अवस्थामा व्यवहारमा उतार्न कर्ताको सामाजिक सम्बन्ध, आचरण र चालचलन पनि उत्कृष्ट हुनुपर्छ, जसले सबैलाई प्रभावित बनाओस् । अन्यथा, सामाजिक विश्वासमै संकट उत्पन्न हुन सक्ने भएकाले लागूकर्ताकै निम्ति सिद्धान्त घाँडो बन्न सक्छ । सिद्धान्तको क्षेत्र व्यापक हुने भएकाले यहाँ केवल राजनैतिक सिद्धान्तको विविध पक्षलाई मात्रै चर्चाको विषय बनाइएको छ ।

विश्वमै लोकप्रिय भनी चिनिएको संघीय लोकतान्त्रिक राज्य व्यवस्था मुलुकमा अहिलेसम्म परीक्षणकै क्रममा छ । आमनागरिक एवं राजनैतिक दलले स्विकारेको विद्यमान राज्य व्यवस्था सिद्धान्तः अग्रगामी छ । तर, व्यवस्था आफंैले अग्रगामी परिणाम दिन सक्दैन यसलाई कार्य रूपमा परिणत गर्ने नेताको व्यवहार भने पश्चगामी हुँदा यही विरोधाभास नै अहिले मुलुकको मुख्य राजनैतिक चुनौती बन्दै छ । नेताको सिद्धान्त र व्यवहारमा तालमेल नहुँदा राष्ट्रिय राजनीति नै अन्योलपूर्ण बनेको छ । यसो हुनुको मुख्य दोष राजनैतिक सिद्धान्तलाई कार्य रूपमा परिणत गराउने प्रयास पर्दै आएका नेताकै हो । जसले राजनैतिक सिद्धान्तअनुकूल होइन, दलीय एवं निजी स्वार्थअनुकूलै प्रयोग गर्दा हाम्रो राजनैतिक सिद्धान्त व्यवहारमा उत्रन सकेको छैन । उल्टै राजनैतिक सिद्धान्तको उपहास भइरहेको छ । अहिले मुलुकको राजनैतिक अवस्था कस्तो छ ? मुलुकको राजनीति लोक कल्याणकारी छ छैन ? नभए के कारणले छैन ? भन्ने’bout प्रतिबिम्बका निम्ति हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै धर्मपत्नी डा. आरजु देउवाले दिएको अभिव्यक्ति स्मरण गरे पुग्दछ ।

व्यवस्था आफैं क्रियाशील हुँदैन । व्यवस्था चलायमान हुन राज्य सञ्चालन गर्ने नेताको दृष्टिकोण सकारात्मक भए मात्र लोकतन्त्र फलदायी हुन्छ


सत्तारूढ दल सम्बद्ध दुई प्रतिष्ठित व्यक्तिको निकृष्ट अभिव्यक्ति मुलुकको विद्यमान राजनैतिक अवस्था’bout जानकारी लिने खुला किताब नै बनेको छ । यस’bout यहाँ संक्षिप्त चर्चा गरिन्छ । तल उल्लेखित निकृष्ट अभिव्यक्तिको आसय हेर्दा पुष्पकमल दाहालले राष्ट्रिय राजनीतिमा आफ्नो परिवारलाई स्थापित गराउन खोजेको देखिन्छ । जसरी एकताका नेपालमा कोइराला परिवार र भारतमा नेहरु परिवार राष्ट्रिय राजनीतिमा स्थापित भएका थिए । यसै क्रममा पुष्पकमल दाहाल नेपालका कृष्णप्रसाद कोइराला र भारतका जवाहरलाल नेहरु नै हुने प्रयत्न गरिरहेका छन् । तर, दाहालको यो अपेक्षा केवल दिवा सपनामा मात्र सीमित रहनेछ । न त दाहालमा कोइराला र नेहरुकै जस्तो अब्बल राजनैतिक विशेषता र इमानदारिता छ । दाहालको यो अभिलाशाले उल्टै जनविश्वास टुटाउँदै छ ।

स्मरण रहोस् माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गत वैशाख २२ गते चितवनको भरतपुरमा आयोजित चुनावी आमसभामा कांग्रेस मतदातालाई लक्षित गरी ‘हसिया हथौडामा भोट हाल्दिन भन्नुभयो भने, मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँ बायाँ गर्दिनँ तर देश दुर्घटनामा पर्ने खतरा छ’ भनेका थिए । दाहालको यो अभिव्यक्ति राष्ट्र धानेर बसेकी आफ्नी छोरी रेणु दाहालले हारेमा सिंगो राष्ट्र नै ढलपल हुन्छ भन्ने आसयमा आधारित देखियो । यसैगरी सोही दिन गृहजिल्ला डडेल्धुराको चुनावी सभालाई सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्म पत्नी डा. आरजु देउवाले ‘कांग्रेसले जित्यो भने शेरबहादुर दाइ आरजु भाउजूलाई फोन गरेर समस्या भन्न सक्नुहुन्छ तर कांग्रेसको मेयरै हुन्न त्यहाँ हामी किन पैसा पठाउछौं ? कसले पैसा पठाउने ? भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

स्वार्थ अभिप्रेरित अप्राकृतिक गठबन्धनले देश र जनताको होइन पार्टी र नेताकै मात्र हित गर्छ भन्ने कुरा पनि आमनेपालीले बुझेका छन्


पछिल्लो समयमा नेताको जिब्रोमा झुन्डिएको अत्यन्तै प्रिय शब्द हो ‘अग्रगामी’ जसलाई उच्चारण नगरी नेताले धारा प्रवाह वक्तव्य दिनै सक्दैनन् । हरेकले दिने वक्तव्यमा प्रगतिशील, परिवर्तनकारी, दुरगामी र विकासवादी चिन्तन लिएरै आफू अगाडि बढिरहेको उल्लेख गर्दछन् । तर, लोकतन्त्र स्थापित भएको १४ वर्ष बितिसक्दा केही क्षेत्रमा सामान्य परिवर्तन आए पनि अनुभूतिजन्य अग्रगामी परिवर्तन आएको छैन । अग्रगामी चिन्तनको रटान गर्दैमा अग्रगामी परिवर्तन आउँदैन । अनुभूतिजन्य परिवर्तनका निम्ति नेताको व्यवहारै अग्रगामी हुनु अपरिहार्य छ । मुलुकको कार्यकारी प्रमुख बनिसकेको तथा दशकौंदेखि राजनीतिमा होमिँदै आएका पुष्पकमल दाहाल मुलुकको विद्यमान अवस्था, सर्वसाधारणको जीवनस्तर र आवश्यकता तथा राष्ट्रिय सरोकारका साझा मुद्दा’bout अनविज्ञ छन् भन्न मिल्दैन । जनताको मुहार फेर्ने आधारभूत आवश्यकतालाई नै दाहालले आफ्नो अग्रगामी चिन्तनमा समेटेका छन् । तर, त्यसलाई मूर्तरूप प्रदान गरी उपलब्धिमूलक बनाउनेभन्दा परिवारकै सदस्यलाई राजनीतिमा हालीमुहाली गराउने कार्यलाई उनले प्राथमिकता दिँदै आएका छन् । यो दाहालको महŒवकांक्षाको पराकाष्ट हो ।

दाहालद्वारा व्यक्त उपरोक्त अभिव्यक्तिले साँच्चिकै दाहाल अग्रगामी चिन्तनकै पथप्रदर्शक हुन् वा पश्चगामी ? भन्ने आशंका मात्र उत्पन्न गराएको छैन दाहाल नाटकीय चिन्तकका अग्रगामी तर व्यवहारका पश्चगामी हुन् भन्ने कुरा उनकै व्यवहारले देखाउँदै आएको छ । यो दाहाललाई लगाएको अनर्गल आक्षेप होइन उनकै व्यवहार र कार्यशैलीले प्रस्तुत गरेको यथार्थता हो । दाहालद्वारा व्यक्त विचारमा मुलुकको बोझ धान्दै आएकी छोरी रेणुलाई विजयी गराएर मुलुकलाई दुर्घटनाबाट जोगाउनुपर्छ अन्यथा मुलुकै दुर्घटनामा पर्ने भएकाले त्यसको असर सबै मतदातामा पर्ने किटान गरेका छन् । बुहारीबिना, अर्की छोरी, ज्वाइ, भाइलगायत परिवारकै सबै सदस्यको हकमा दाहालको यही दृष्टिकोण छ । छोरी रेणुको चुनाव क्षेत्रको आमसभा भएकैले अरूको नाम त्यहाँ जोड्न दाहालले उपयुक्त नठानेका मात्र हुन् । पुष्पकमल दाहालको राजनीतिप्रतिको पारिवारिक आशक्ति ठीक कि बेठीक ? के दाहाल परिवारको साथबेगर राष्ट्रिय राजनीति समाप्त भई मुलुक नै ध्वस्त हुन्छ त ? अन्यथा दाहालले कुन स्वार्थमा मतदातालाई प्रभावित पार्ने दुष्प्रयास गरे ? भन्ने’bout पनि हामी सबैले समीक्षा गर्नुपर्छ । दाहालको यो अभिव्यक्ति राष्ट्रिय राजनीतिसँग मात्र होइन आमनेपालीको भविष्यसँग जोडिएको साझा मुद्दा हो ।

वास्तवमा राष्ट्रियहितका निम्ति स्वच्छ, पवित्र र पारदर्शी दृष्टिकोणमा आधारित राजनीति मात्र फलदायी हुन्छ । एकभन्दा बढी दलबीचकै समन्वय र समझदारीमा तय हुने योजनाअनुसारै राज्य सञ्चालित हुने भएकाले नीतिगत रूपमा गठबन्धित सरकार सकारात्मक ठानिन्छ । तर, अहिलेको गठबन्धन सैद्धान्तिक होइन स्वार्थमा आधारित गठबन्धन भएकाले यथावस्थामा यो राष्ट्रका लागि हितकर छैन । पुष्पकमल दाहालकै भनाइअनुसार अझै १०÷१५ वर्ष यही स्वार्थमा आधारित गठबन्धन कायम रहने हो भने राष्ट्र समस्याग्रस्त बन्छ । त्यसको असर जनताले भोग्नुपर्छ । संकुचित मानसिकतामा आधारित भागबन्डे गठबन्धन मुलुकका लागि घातक हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । किनकि, सबै दल आ–आफ्नै स्वार्थ लिएर गठबन्धनमा सामेल भएका छन् । स्वार्थ अभिप्रेरित अप्राकृतिक गठबन्धनले देश र जनताको होइन पार्टी र नेताकै मात्र हित गर्छ भन्ने कुरा पनि आमनेपालीले बुझेका छन् । गठबन्धनलाई निरन्तरता दिने दाहालको भनाइ दीर्घकालीन एवं सिद्धान्तमा आधारित होइन छोरीलाई विजयी बनाउने क्षणिक लालीपप मात्र हो भन्ने कुरा पनि सबैले बुझ्नुपर्छ ।

समष्ठिगत रूपमा पुष्पकमल दाहालको उपरोक्त अभिव्यक्ति परिवर्तनकारी होइन जनभावना नै कुण्ठित गराउने हैकमवादी शैलीको पश्चगामी दृष्टिकोणमा आधारित छ । अग्रगामी सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्ने व्यक्तिले कहिल्यै पनि मतदातालाई दबाब र धम्की दिँदैन । आफूले रुचाएको व्यक्तिलाई स्वतन्त्र रूपमा मत दिएर विजयी बनाउन अभिप्रेरित गराउँदछ । दलीय ट्रेडमार्कवाला रैथाने व्यक्तिभन्दा सक्षम, दक्ष र इमानदार विश्वासी व्यक्तिलाई मताधिकार प्रदान गर्न प्रोत्साहित गराउँछ । मतदाताकै इच्छालाई सर्वोपरि ठान्छ । दाहालको उपरोक्त अभिव्यक्ति मतदाताको हक अधिकार कुण्ठितपारि पश्चगामी अन्धकारमा फर्काउने उद्देश्यमा आधारित छ जुन, दुःखद हो । दाहाल मानसिकताका नेताकै अहिले राष्ट्रिय राजनीतिमा हालीमुहाली हँुदै आएको छ । अहिलेकै पाँच÷छ दलको गठवन्धनकै शीर्षस्थ नेताले दाहालकोे अभिव्यक्ति स्वीकार गरेको आधारबाट गठबन्धित दलको शीर्षस्थ नेताको मानसिकता दलीय स्वार्थभन्दा माथि छैन भन्ने कुरा पनि स्वतः पुष्टि भएको छ ।

यसैगरी प्रधानमन्त्री देउवा पत्नी आरजु देउवाले गृह जिल्ला डडेल्धुरामा व्यक्त गरेको उल्लेखित विचार त उनकै पुख्यौली राणा शासनकै अनुभूति दिलाउने चरम तानासाही प्रवृत्तिको देखिन्छ । जसले शेरवहादुर दाई र आरजु भाउजू नै मुलुकको मालिक अन्य सबै नेपाली उनीहरूकै चाकडिदार र सुसारे भन्ने आसय झल्काउँछ । जुन, अत्यन्तै खेदजनक छ । आरजुले सबै नेपाली उनकै निगाहमा बाँचेको संकेत गरेकी छन् । उनको निगाहबेगर जनताको न त हित हुन्छ न त साथ सहयोग गर्ने अरू कोही छन्, शेरबहादुर दाइ र आरजु भाउजू नै सबैको आड भरोसाको केन्द्र हुन् भन्ने विचार व्यक्त गरेकी छन् । आरजुले आफ्नो परिवारको हैसियतमा पुग्ने अरू कोही छैन मात्र भनिनन्, हामीले आफ्नै पकेटको रकम जनताको हितमा खर्च गर्ने गरेको आसय पनि व्यक्त गरिन् । कांग्रेसले खडा गरेको उम्मेदवारलाई विजयी नगराए त्यो सबै रोकिदिने धम्की दिन पनि पछि परिनन् । आरजु देउवाको सीमा बाहिरको हैकमवादी अभिव्यक्तिलाई डडेल्धुराबासीले कसरी लिएका छन् त्यो उनीहरूमै सीमित रहने कुरा भए पनि आरजुको यो अभिव्यक्ति डडेल्धुराबासीको मात्र होइन प्रधानमन्त्रीकै पत्नीको हैसियतमा आएको, समस्त देशबासी जनताकै लोकतान्त्रिक हक अधिकार हनन गर्ने उद्देश्यमा आधारित छ ।

आरजु राणाको यो अभिव्यक्तिले लोकतन्त्रको धज्जी उडाएको छ भने समस्त नेपालीकै अपमान गरेको छ । शेरबहादुर देउवालाई मुलुकको कार्यकारी प्रमुख बनाउन पठाउने सर्वसाधारण मतदातालाई आरजुले आफ्नै हरुवाचरुवालाई शताब्दी पहिले राणाले गर्ने व्यवहार जस्तै व्यवहार गरिन् । जनताकै रगत पसिनासँग सम्बन्धित राष्ट्रिय ढुकुटीलाई आरजुले आफ्नै पुख्यौली ढुकुटी ठानिन् । राष्ट्रिय बजेट आफ्नो इच्छाअनुसार वितरण हुन्छ भन्ने विचार व्यक्त गरिन् । समष्टिगत रूपमा देउवा परिवार देशको नेता मात्र होइन राष्ट्रकै मालिक हो भन्ने दृष्टिकोण सार्वजनिक गरिन् ।

उपरोक्त अभिव्यक्तिले हाम्रा शीर्षस्थ नेता कुन स्तरका छन् र उनीहरूको दृष्टिकोण कस्तो छ भन्ने कुरा स्पष्ट गर्दछ । रेणु दाहालले आफ्नो कार्यकालमा भरतपुरमा भएको विकासको फेहरिस्ता पनि चुनावी सभामा प्रस्तुत गर्न पछि परिनन् । भरतपुर महानगरपालिका आफंैमा सम्पन्न छ भने पुष्पकमल दाहलले आफ्नी पुत्रीकै प्रतिष्ठा जोगाउनकै लागि उपत्यकाबाहिर अन्य महानगरपालिकाको तुलनामा भरतपुरमा अत्यधिक बजेट राष्ट्रिय ढुकुटीबाटै निकासा गराए । राष्ट्रिय दृष्टिकोणले हेर्दा यो विभेदित कार्य हो । यो प्रवृत्ति सबै शीर्षस्थ नेतामा नभएको होइन । बजेट समानुपातिक ढंगले वितरण नहुने प्रवृत्तिले विकास निर्माणकै कार्य विभेदित बनेको छ । छोरीको कार्य क्षेत्र भएकाले पुष्पकमलले सबैभन्दा पहिलो प्राथमिकता भरतपुरलाई दिए । राष्ट्रिय बजेट परिचालित गर्नु रेणुको पदीय दायित्व हो पुरुषार्थ होइन । तथापि, पुष्पकमल दाहाल र आरजु देउवाले दिएको उपरोक्त गैरजिम्मेवारीपूर्ण वक्तव्य मुद्दाकै रूपमा निर्वाचन आयोगमा पुगिसकेको छ । आयोगले त्यसलाई कसरी हेर्छ त्यो आयोगसँग सम्बन्धित रहने विषय भयो ।

लोकतन्त्र सबैभन्दा परिष्कृत एवं जनहितकर व्यवस्था हो भन्ने कुरा सर्वमान्य छ । तर, व्यवस्था आफंै क्रियाशील हुँदैन । व्यवस्था चलायमान हुन राज्य सञ्चालन गर्ने नेताको दृष्टिकोण सकारात्मक भए मात्र लोकतन्त्र फलदायी हुन्छ । दाहाल र आरजु शैलीकै नेताले राज्य सञ्चालित गरिरहने हो भने लोकतन्त्र जनहितकर बन्दैन । कथित अग्रगामी नेताकै संकुचित मानसिकतामा आधारित पश्चगामी व्यवहारले लोकतन्त्रलाई कतै पारिवारिकतन्त्रतिर नधकेलोस् । यसप्रति सबै नेपाली सचेत बनौं ।

तपाइको प्रतिक्रिया
(Visited 616 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय