लमजुङ । लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ८ को वडाध्यक्षमा लोकगायिका पवित्रा थापा राना निर्वाचित भएकी छन् । दोस्रो कार्यकालका लागि वडाध्यक्षमा उनी पुनः निर्वाचित भएकी हुन् । उनले वडामार्फत कला संगीतको प्रवद्धनका कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
पवित्राले गठबन्धन दलतर्फबाट नेपाली काँग्रेसका क्याप्टेन कमलबहादुर अधिकारीलाई पाँच मतले उछिन्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन् । थापाले ७२६ मत र अधिकारीले ७२१ ल्याएको मत गणनाको अन्तिम नतिजा घोषणा गरिएको छ ।
अघिल्लो अर्थात २०७४ को निर्वाचनमा उनले १२० मतले नेपाली काँग्रेसका इन्द्रबहादुर रावललाई हराएर वडाध्यक्षमा जितेकी थिइन् ।
स्कूले जीवनदेखि नै गायन क्षेत्रमा सक्रिय रहेकी उनले पद्मकन्या क्यापसमा आइए अध्ययनरत रहँदा झनै सक्रिय भएकी थिइन् । त्यस समयमा उनले ‘हितको परानी … ’, ‘पाउँदीको दोभान ….. ’, ‘मनैमा पीर छ नि …. ’ नामका तीन वटा एकल एल्बम समेत निकालेकी थिइन् । यसैगरी, ‘तीजको रहर …. ’, ‘चुँदी बगर … ’ ‘फूल सिमिलाई …. ’ ‘श्रीखण्ड चन्दन …. ’ लगायतका दर्जनौं गीतमा संयुक्त रुपमा स्वर दिएको उनले बताएकी छन् । उनले भनिन्, ‘त्यो बेलामा गाएको ‘दास ढुंगा ….. ’ बोलको गीत ले निकै चर्चा पाएको अझै सम्झना छ ।’
तनहूँको भानु नगरपालिका– ७ को बसन्तपुरमा माइती भएकी उनी २०५१ सालमा विवाह भएर बेसीशहरमा आएकी हुन् । त्यसपछि उनले यहाँ आफै संस्थापक अध्यक्ष भएर फूलबारी आमा समूह सञ्चालन गरी धेरै वर्ष त्यसको नेतृत्व गरिन् । घरगृहस्थीका कारणले गायनका क्षेत्रमा केही कमी आए पनि जिल्लामा हुने सार्वजनिक समारोह, आमा समूहका कार्यक्रमहरूमा भने सधैं गाउने गरेको पनि उनले सम्झिइन् ।
उनले भनिन्, ‘केटकेटी हुर्किसके अब गायनका क्षेत्रमा फेरि पुरै लाग्छु भन्ने योजना बनाइरहेको बेलामा फेरि वडाध्यक्षको जिम्मेवारी आइलाग्यो । पछि हट्ने कुरा पनि भएन ।’ वितेको कार्यकाल त्यस्तै भयो तर अब कला संगीतको प्रवद्र्धनका लागि आफूले वडास्तरबाट पनि बजेट नै छुट्याएर कार्यक्रम गर्न पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरेकी छन् ।






