टीकापुर(कैलाली) । कैलालीको जानकी गाउँपालिकामा रेशम चौधरीको नवगठित नागरिक उन्मुक्ति पार्टीले विजय भएको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष चौधरी लामो समयदेखि टीकापुरमा रहेर पत्रकारिता गर्दै आएका थिए । पत्रकारिता छोडेर नागरिक उन्मुक्ति पार्टीबाट जानकारी गाउँपालिकामा उम्मेदवार बनेका चौधरी विजयी भएर अध्यक्ष बनेका हुन् ।
चौधरीले गठबन्धनका माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतोलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । महतोले पाँच हजार २४२ मत पाए ।
यसै गरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी भएकी छन् । कठरियाले छ हजार ५६२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
एमालेका अध्यक्षका उम्मेदवार टेकबहादुर बमले चार हजार २४६ मत पाए । यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश दहितले चार हजार ५४८ मत पाए । नागरिक उन्मुक्ति पार्टीको यो चौथो जित हो । यसअघि टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।
जानकी गाउँपालिकामा उन्मुक्ति पार्टीले विजय हासिल गरेसँगै कैलालीमा पहिलाृ दल बन्न पुगेको छ । कैलालीका १३ पालिका मध्ये १२ वटा पालिकाको मतपरिमाण सार्बजनिक भइसकेको छ । धनगढी उपमहानगरापलिकामा भने मत गणनाको कार्य भइरहेको छ ।
कैलालीमा चुरे र बर्दगोरियामा एमालेका उम्मेदवार विजयी भएका छन् भने गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा काँग्रेस उम्मेदवार विजयी भएका छन् ।
घोडाघोडीमा एकीकृत समाजवादीका उम्मेदवार नगरप्रमुखमा विजयी भएका छन् । गौरीगंगा नगरपालिका र महोन्याल गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् ।