हराएको विमान दुर्घटनाग्रस्त, २२ जनाकै मृत्यु

पोखरा । तारा एयरको विमान दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाकै मृत्यु भएको छ । तीमध्ये २१ जनाको शव फेला परेकोमा १० जनाको हेलिकोप्टरमार्फत सोमबार साँझ काठमाडौं लगिएको छ ।

आइतबार बिहान पोखरादेखि मुस्ताङको जोमसोम उडान भरेको सो विमान केही समयमै सम्पर्कविहीन भएको थियो । बेपत्ता विमानको आइतबार दिनभर खोजी कार्य गर्दा नभेटिएकोमा भोलिपल्ट सोमबार बिहान १४ हजार ५ सय फिट उचाइमा रहेको मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सानसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो विमान बिहान १०ः११ पछि सम्पर्कविहीन भएको थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विमानमा सवार चालक दलका ३ सदस्य र १९ यात्रुको शव फेला परेको जानकारी दिए । बाक्लो हुस्सू र कुहिरोका कारण जहाज खोजीमा समस्या भएको थियो । बेपत्ताको २१ घण्टापछि मात्र गोठाला र स्थानीयको सहयोगमा विमान भेटिएको हो । यार्चागुम्बा खोज्न लेक गएका बागलुङका केही व्यक्तिले विमान दुर्घटना भएको देखे पछि गाउँमा खबर गरेका थिए । गाउँलेले प्रहरीलाई भनेपछि नेपाली सेनासहितको सुरक्षा टोली घटनास्थल गएको सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताए ।

तारा एयरले पनि सोमबार विज्ञप्तिमार्फत दुर्घटनामा २२ जनाको मृत्यु भएको र सबैको शव फेला परेको जनाएको छ । तीमध्ये १० जनाको शव उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगेर आफन्तलाई बुझाइएको छ । बाँकी ११ जनाको शव दुर्घटनास्थलमै रहेको र मंगलबार उद्धार गरिने नेपाली सेनाले जनाएको छ । सोमबार दिउँसो एक्कासि मौसममा खराबीले उद्धारमा कठिनाइ भएको र बाँकी शव उद्धार गरी हेलिकोप्टरसम्म लैजान नसकिएको हो । दुर्घटनास्थलमा बाक्लो हुस्सू र बादल लागेकाले सेनाको हेलिकोप्टर उड्न नसकेको मध्यकमाण्ड हेक्वार्टर विजयपुरका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिए । स्थानीयको सहयोगमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले शव संकलनसँगै मुचुल्का तयार पारेको थियो । विमान पहाडमा ठोक्किए पनि नजलेको हुँदा शव सग्लै थिए । यद्यपि, पहिचानमा समस्या भएको जनाइएको छ ।

विमानमा चालक दलका ३ सदस्यमा क्याप्टेन प्रभाकर घिमिरे, सहपाइलट उत्सव पोखरेल, एयर होस्टेज किस्मी थापा थिए । यस्तै, अर्का पाइलट वसन्त लामासहित विमानमा सवार वैसवी बान्देकर, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मैकी ग्रिन ग्राफ, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोकुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी र युवे विलनर हुन् । जसमा एयर होस्टेसहित नौ जना महिला थिए । १९ यात्रुमध्ये १३ नेपाली, ४ भारतीय र २ जना जर्मन नागरिक हुन् ।

धनुषाको मिथिला ११ लोटा गाउँका एकै परिवारका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । जसमा राजनकुमार गोले, बाबु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकुमाया तामाङ हुन् । गोरखाको सहिद लखन गाउँपालिका गणेशनारायण श्रेष्ठ, उनकी पत्नी रविना र छोरीहरू रश्मी र रोजिना श्रेष्ठ एकै परिवारका हुन् । २ छोरी केही समयअघि अमेरिकाबाट नेपाल फर्केका थिए ।

यसैबीच, विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ । वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्रलाल सुमनको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिएको हो । समिति सदस्यमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र सहसचिव बुद्धिसागर लामिछाने छन् ।

खराब मौसमका कारण दुर्घटना
प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।

संसद्को अन्तर्राष्ट्रिय समितिको सोमबारको बैठकमा दुर्घनाग्रस्त जहाजका ’boutमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राइट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेपछि भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताए ।

घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ ।

पाँच दुर्घटना, ७७ को मृत्यु
पोखरा–जोमसोम रूटमा आइतबार भएको विमान दुर्घटनासहित हालसम्म पाँच दुर्घटना भएका छन् र यी दुर्घटनामा ७७ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा सोमबार बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो ।

यो रुटमा १३ फागुन २०७२ सालमा तारा एयरकै विमान दुर्घटना भएको थियो । त्यस बेला म्याग्दीको दाना गाविसमा सो एयरको विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित २३ जना यात्रुको मृत्यु भएको थियो ।

त्यसअघि २०७० सालमा नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । सो जहाज पुथाङ विमानस्थलको धावनमार्गबाट कालीगण्डकी नदीमा खसेको थियो । जसमा २१ जना घाइते भएका थिए ।

त्यसअघि ३ भदौ २०५९ सालमा जोमसोमबाट पोखरा उडेको सांग्रिला एयर दुर्घटना हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो ।

१ जेठ २०५९ सालमा अग्नि एयरको जहाज जोमसोम विमानस्थलनजिकै पानीट्यांकी डाँडामा दुर्घटना भएको थियो । जसमा १५ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 342 times, 1 visits today)

epaper

ताजा समाचार

१ श्रावण २०८३