वर्षा सुरु हुन थालेसँगै मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएपछि मेलम्चीलगायतका राष्ट्रिय गौरवका आयोजना’bout फेरि प्रश्नहरू उठेका छन् । राष्ट्रिय गौरवका आयोजना सामान्य आयोजनाझैं निर्माण गरिने र तिनीहरूलाई हेलच्येक्र्याइँ वा बेप्रवाहको विषय बनाउने कामले सबैमा फेरि निराशा र आक्रोश उब्जाएको छ । काठमाडौंका जनतामा यसले सरकार र सरकारी कामप्रति वितृष्णा जन्माएको छ । कारण मेलम्चीजस्ता राष्ट्रिय गौरवका आयोजना साँच्चै राष्ट्रिय गौरवका आयोजनका रूपमा सम्पन्न हुन सकेनन् । मेलम्ची काठमाडौं उपत्यकाका लागि प्राणरूपी पानीको स्रोत हो । वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानीप्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएपछि उपत्यकामा खाने पानीको स्रोत नै केही महिनाका लागि बन्द हुन गएको छ । समय, परिस्थिति र घटनाक्रमका हिसाबले अहिलेको अवस्था भिन्न हुन सक्छ तर बलभद्र कुँवर नालापानीको किल्लाभित्रबाट तात्कालीन अतिक्रमणकारी अंग्रेजविरुद्ध बहादुरीका साथ लडिरहँदा अंग्रेजले किल्लाभित्र लगिएको खानेपानीको मुहान बन्द गरिदिएको घटना स्मरण गराउन पुगेको छ ।
वर्षामा पानी निकै प्रशस्त परिरहने तर र उपत्यका जल मग्न हुनेबेलामा खाने पानी नआउने विडम्बनापूर्ण अवस्था यसले निम्त्याएको छ । मूल ढोका बन्द गरिएसँगै महाकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आयोजनाले दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनका लागि प्रयास भइरहेको जनाए पनि बन्द गरिएको सुरुङमार्ग अब वर्षापछि मात्रै खोलिनेमा शंका छैन । यसको अर्थ भदौको अन्तिम वा असोजको पहिलो सातासम्मका लागि मेलम्चीको पानी बन्द हुन गएको छ । योबीचमा उपत्यकामा पानी पु¥याउने वैकल्पिक स्रोत केही पनि छैनन् । आशाका रूपमा हालसम्म वितरण गरिएका पानीका मूलमा वर्षाका कारण मूल केही ठूला हुने र पानीको मात्रामा सुधार आउने कुरालाई मध्यनजर गरिएको छ । त्यसमा पनि खाने पानीका पाइप वर्षौं पुराना भएकाले फट्ने र चुहिने गरिरहेका छन् । यसमा सुधारको खाँचो छ । यसमा संघीय सरकार र महानगरपालिकाले खासै ध्यान दिएको देखिँदैन । बाटाघाटामा पाइप फुटेका भेटिने र नालासँग मिसिएर खाने पानी बग्ने पनि गरिरहेको छ ।
टालटुल र सुधारका कामले केही समय पर्खने स्थिति सिर्जना गरे पनि यो दीर्घकालीन समस्या समाधानको उपाय भने होइन । यसको समाधान भनेको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्चीखाने पानीमा स्थायित्व दिनु नै हो । उपत्यकाका जनताको गुनासो के अर्थमा रहेको छ भने राष्ट्रिय गौरवका आयोजना मेलम्चीजस्तै अस्यायी र अभरपर्दा हुने हुन् भने देश र जनताका समस्या कहिल्यै पनि समाधान हुने देखिँदैनन् । यसको अर्थ राष्ट्रिय गौरवका आयोजनाले देश र जनताका समस्या सापेक्ष स्थायी र दिगो रूपमा समाधान गर्न सक्ने भएनन् । यो भनेको निर्माणका लागि अधिकतम बजेट खर्च गरेर पनि न्यूनतम् उपलब्धि हासिल हुन नसक्नु हो । मेलम्चीको पानी वर्षाका नाममा चार÷पाँचमहिना बन्द गरिने र केबल सात÷आठ महिनाका लागि मात्र खुला गरिने हो भने यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्वीकार गर्न लोकलाज मान्नैपर्छ ।






