पामद्वारा ओलम्पियन सब्रिना सम्मानित

काठमाडौं । बन्दी सहायता नियोग (पाम)ले चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेका जुडो खेलाडी डा. सब्रिना फिल्जमोसरलाई बुधबार सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सब्रिनालाई जुडो खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको पामले एकलटारस्थित आफ्नै जुडो हलमा सम्मानित गरेको हो । पामका सचिव प्रेम लामा, सदस्य कृष्णबहादुर श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सब्रिनालाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।

अस्ट्रियाकी सब्रिनाले गत मे १६ तारिखमा सगरमाथाको सफल आरोरण गरेकी थिइन् । सब्रिनाले पश्चिम बंगालको डिघाबाट सगरमाथा यात्रा थालेकी थिइन् । त्यहाँदेखि बेस क्याम्पसम्म पुग्न सब्रिनाले साइकल र पैदल यात्रा गरिन् । त्यसक्रममा १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता साइक्लिस्ट लक्ष्मी मगरले सब्रिनाको यात्रामा समन्वय गरेकी थिइन् ।

बेइजिङ ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएकी सब्रिनाले लन्डन, रियो र टोकियो ओलम्पिकमा सहभागिता जनाएकी छन् । उनले विश्व च्याम्पियनसिपमा २ कांस्य जितेकी छन् भने युरोपियन च्याम्पियनसिपमा १० पदक जित्दा दुईपटक आफ्नो स्पर्धामा च्याम्पियन नै बनिन् । सगरमाथाअघि सब्रिनाले आमादब्लम र मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन् । नेपाल आएका बेला सब्रिनाले पामका जुडो खेलाडीलाई प्रशिक्षण पनि दिने गर्छिन् । सोलुखुम्बुको मन्जुमा रहेको एभेरेस्ट जुडो क्लबलाई सामग्रीसहित सब्रिनाले विशेष सहयोग गर्दै आएको पामका जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् । पाममा ३५ जना आश्रित छन् ।

तीमध्ये ३४ जना जुडो खेल्छन् । सागका पदक विजेता मनीता श्रेष्ठ प्रधान, इन्द्रबहादुर श्रेष्ठलगायत पामकै उत्पादन हुन् । संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले एक जुडो खेलाडीले विश्वको सर्वाेच्च शिखर आरोहण गर्नु समग्र जुडो परिवारका गर्वको कुरा रहेको बताए । सब्रिनाले पामका जुडो खेलाडीमा विगतभन्दा धेरै सुधार भएको प्रतिक्रिया दिँदै खेलाडीले आफ्नो लक्ष्य साकार गर्न कडा परिश्रम गर्नुपर्नेमा जोड दिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता