धनगढी । सुदूरपश्चिम पर्यटकीय सम्भाव्यता भएका धेरै गन्तव्य भएको क्षेत्र हो । यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न निजीस्तरबाट पटक÷पटक थुप्रै प्रयास हुँदै आएका छन् । पूर्वाधार विकास र प्रचार प्रसारको अभावमा सुदूरपश्चिमका अधिकांश पर्यटकीय ओझेलमा छन् । सरकारको ध्यान नपुग्दा आन्तरिक तथा बाह्य पर्यटकले सुन्दर सुदूरपश्चिमको भूगोल र जनजीवन देख्नै पाएका छैनन् ।
सुदूरपश्चिमको धनगढीबाट सडक यातायातबाट करीब साढे १ घण्टामै शुक्लाफाँटा पुग्न सकिन्छ । गर्मीमा ३८ डिग्री सेल्सियससम्म तापक्रम रहने शुक्लाफाँटामा ५ सयदेखि हजारभन्दा बढी बाह्रसिंगेहरुको बथान एकै स्थानमा देख्न पाईन्छ । विभिन्न प्रजातीका वन्यजन्तु र चराचुरुङ्गीसहित रमणीय दृश्य हेर्न शुक्लाफाँटा क्षेत्र भारतीय पर्यटकका लागि समेत उपयूक्त गन्तव्य बन्न सक्छ ।
अर्को अलौकिक गन्तव्य खप्तड हो । धनगढीबाट डोटीसम्मको हवाई उडानपछि केही घण्टा हिँडेर खप्तड पुग्न सकिन्छ । तर नियमित हवाई सेवा छैन् । सडक मार्गबाट जानेहरु धनगढीबाटै एकदिन गाडीमा सिलगढी,भोलीपल्ट करिव ३ घण्टा कच्ची बाटोमा मोटर चढेर डोटीको झिग्राना पुगेपछि ७÷८ घण्टाको पैदल यात्रापछि खप्तड पुगिन्छ । चिसो हावापानी, फूलैफूलका रंगीचंगी पाटनहरु, रमणीय होचा पहाडका थुम्कैथुम्काहरु देख्दैमा साँच्चै मनमोहक लाग्छ । जाडोमा हिँउले सेताम्मे बनेका पाटनहरुमा हिँउ खेल्नुको आनन्द बेग्लै हुन्छ ।
तर यति सुन्दर खप्तड पूर्वाधार विकास तथा प्रचार प्रसारको अभावमा ओझेलमा छ । पर्यटक आकर्षणकै लागि पूर्वधार विकासमा भएका सरकारी प्रयास पनि नगन्य छन् । तर त्यसले परिणाम दिन सकेको छैन् ।
तराईको समतल भूभाग शुक्लाफाँटदेखि पहाडका खप्तड, बडीमालिका, अछामको रामारोशन, बझाङको साइपाल हिमाल पर्यटकीय गन्तव्यका अद्भूत स्थल हुन् । भौगोलिक दृष्टिले विकट भएपनि यी गन्तव्यसम्म पुग्ने र बसोबासका लागि सहज पूर्वाधार निर्माणमा सरकारले वेवास्ता गर्दा पर्यटन क्षेत्र नै फड्को मार्नबाट बन्चित भएको छ । सरकारले सुदुरपश्चिमको पर्यटन विकासमा ध्यान दिनसके पर्यटकीय आकर्षण त बढ्छ नै, पर्यटनबाटै आर्थिक समृद्धिमा टेवा पुग्ने निश्चित छ ।
सुदूरको परिचय फेर्ने प्रयास
२०६२/०६३ तिर धनगढी विमानस्थल पुनः सञ्चालनका निम्ति भएको प्रयासले सुदूरपश्चिमको परिचय फेर्ने शुरूआत भयो । विकासमा पछि परेकाले समस्या मात्र भएको ठाउँको भन्ने गरिएको सुदूरपश्चिम सम्भावनाको खानी हो भनेर चिनाउने संगठित प्रयासको थालनी त्यहींबाट भयो ।
विमानस्थल पुनः सञ्चालनका निम्ति रिक्सावाला र मुक्त कमैयासम्मले पैसा हालेको घटनाले जनस्तरको आत्मबलले सधैं उपेक्षा गर्ने नेपालको राजधानीलाई चुनौती दिने गरी भयो । भएका सम्भावनाहरू दुनियाँलाई चिनाउने र देखाउने सुदूरपश्चिमको चाहनाले बल पायो ।
कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा भएको यो शुरूआतमा पहिलो पटक काठमाडौंमा ‘सुन्दर सुदूरपश्चिम’ तस्वीर प्रदर्शनी पनि भयो । २०६३ मै धनगढीमा पहिलो पटक सुदूरपश्चिम महोत्सव आयोजना गरिए, जसमा काठमाडौंबाट गएका प्रमुख अतिथिलाई २१ किलोको माला लगाइयो, सुदूरपश्चिमको २१ बँुदे मागको प्रतीकको रूपमा । विमानस्थल सञ्चालनमा आउनुअघि सुदूरपश्चिमका विषयमा हुने नीतिगत छलफल काठमाण्डौं र नेपालगञ्जमा हुन्थे । विमानस्थल सञ्चालनसँगै त्यो स्थिति फेरियोर ठूला साना सबै खाले कार्यक्रम धनगढीमा हुन थालेपछि सुविधा सम्पन्न होटल खुल्न क्रम यतिबेला ह्वात्तै बढ्न थालेका छन् ।
पछिल्ला वर्ष धनगढीमा सुविधासम्पन्न होटल खुल्नेक्रम मात्र बढेको छैन्, ठूलठूला लगानीमा मार्टहरु पनि सञ्चालन हुनेक्रम बढेको छ । भाटभटेनीले सुदूरपश्चिमलाई केन्द्रित गरेर धनगढीमा आफ्नो शाखा विस्तार गरेको छ । धनगढी–काठमाडौं दैनिक उडान गर्ने बुद्ध र श्रीएयरलाइनसका जहाज जहिल्यै ‘फुल बुक’ हुन्छ ।
सुदूरपश्चिम क्षेत्रका सबैजसो सार्वजनिक सवारी साधनमा ‘सुन्दर सुदूरपश्चिम’ लेखिएका पोष्टर टाँसिएका देखिन्छन्। देवदेवी, कुल देवता र आफ्नो गाउँठाउँका नामबाट राखिने व्यापारिक प्रतिष्ठानका नामहरू ‘सुदूरपश्चिम’ बाट राखिन थालिएका छन् । सुदूरपश्चिममा एकपछि अर्को गर्दै करोडौंका होटलहरू खुलेको २०६४ पछि हो । पछिल्लो समय धनगढी, महेन्द्रनगर, टीकापुर, डडेल्धुरा लगायतका ठाउँमा ठूलो लगानीमा होटलहरु खुल्न थालेका छन् ।
ठूला होटलहरू खुल्नु नै सबथोक होइन, तर सुदूरपश्चिममा सत्कार क्षेत्रमा भएको यो लगानीले राजनीतिक–सामाजिक गतिविधिमा समेत विकासको नयाँ माहोल सिर्जना गरेको छ भने अपार सम्भावना भएको सुदूरको पर्यटनका लागि पूर्वाधार तयार पारेको छ । पर्यटनमा लाग्न चाहनेहरूमा विश्वास जगाएको यो लगानीले देश–विदेशमा रहेका सुदूरपश्चिमेहरूलाई आफ्नै क्षेत्रमा केही गर्न उत्साहित पनि बनाएको छ ।
तेस्रो जीवनस्तर सर्वेक्षण अनुसार औसतमा २५ प्रतिशत नेपाली गरीबीको रेखामुनि सुदूरपश्चिममा ४३ प्रतिशत नेपाली गरीबीको रेखामुनि छन् । सुदूरका जिल्लाहरू मानव विकास सूचकांकको पनि पुछारमै छन् । यस्ता आँकडाहरूले सुदूरपश्चिमलाई समस्याको खानीको रूपमा चित्रण गर्छन् ।
तर, जलस्रोतमा विश्वकै दोस्रो धनी देश मानिने नेपालको सबभन्दा बढी जलविद्युत्को सम्भाव्यता सुदूरपश्चिममै छ । सम्भाव्यता अध्ययन भइसकेका सुदूरका आयोजनाबाट २० हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुन्छ । सुदूरपश्चिमले मध्यम र सानो लगानीमा तत्काल ठूलो फाइदा लिनसक्ने क्षेत्र पर्यटन र कृषि हुन् । सुदूरपश्चिमको कृषि र पर्यटनका लागि सडकले जोडेको विशाल भारतीय बजार छ ।
भारतको राजधानी नयाँदिल्ली, २० करोड आवादी भएको उत्तरप्रदेशको राजधानी लखनऊ र उत्तराखण्डको राजधानी देहरादुन सुदूरपश्चिमबाट ३ देखि ८ घन्टाको बसयात्रामा पुगिन्छ । यो सम्भावनालाई पहिल्याउन सुदूरपश्चिमभित्र एउटा ‘मोमेन्टम’ शुरू भइसकेको छ, जसलाई गति दिन काठमाडौंले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।
कृषि–पर्यटनबाट झन समृद्धि
कुल १९,५३९ वर्ग किलोमिटरमा फैलिएको सुदूरपश्चिमका नौ जिल्लामध्ये तराईका कैलाली र कञ्चनपुर अन्न र वन सम्पदाका भण्डार हुन् भने पहाडका सात जिल्ला प्राकृतिक स्रोत–सौन्दर्यका खानी । कुनै वेला सुदूरपश्चिमले चामल, तेल लगायतका खाद्यसामग्री निर्यात गथ्र्यो ।
केरा खेती र केराकै परिकारको ‘ब्रान्ड’ स्थापना गर्ने कालु हमाल (टीकापुर) जस्ता सिर्जनशील कृषि उद्यमी देखिएको सुदूरपश्चिममा कृषिमा युवा संलग्नतासँगै तरकारी र दूध उत्पादनमा आत्मनिर्भर देखिन थालिसकेको छ भने पोल्ट्री उद्योग पनि क्रमशः फैलँदो छ । यो क्षेत्रमा माछापालन पनि फस्टाएको छ ।
प्रशस्त वनजंगल भएका कैलाली–कञ्चनपुरका चुरे र भित्री मधेशमा व्यावसायिक बाख्रापालन, मासु र दुग्ध उत्पादनको ठूलो सम्भावना छ । सुदूरपश्चिमका पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र बहुमूल्य जडीबुटीको भण्डार हो, जुन अहिलेसम्म अनधिकृत किसिमको संकलन र बिक्री–वितरणमा सीमित छ । सुदूरपश्चिमका पहाडी र उच्च पहाडी क्षेत्र फलफूल खेतीका निम्ति उत्तम मानिन्छन् । दिल्ली, कानपुर, लखनऊ, बरेली, मुजफ्फरपुर, देहरादुन लगायतका भारतीय शहरहरू सुदूरपश्चिमबाट केही घन्टाको दूरीमा भएकाले यहाँको कृषि उत्पादनलाई बजारको समस्या छैन। यस्तो अनुकूलता देशका अन्य भू–भागमा छैन । सरकारी पहल नभए पनि निजी क्षेत्र जुर्मुराउँदा तयार भएको होटल लगायतका पूर्वाधारले सुदूरपश्चिमको पर्यटन सम्भावना धेरै हदसम्म खुलिसकेको छ ।
धार्मिक पर्यटनमा उत्तिकै सम्भावना
सुदूरपश्चिममा सुप्रसिद्ध हिन्दू धार्मिक–सांस्कृतिक स्थल, प्राकृतिक सुन्दरता र जैविक महत्वका क्षेत्रहरूको कुनै कमी छैन। पहल हुने हो भने यस क्षेत्रका हिन्दू धार्मिकस्थलहरूमा तत्कालै हजारौं भारतीय पर्यटक भित्र्याउन सकिन्छ। पर्यटनका निम्ति ‘भर्जिन’ ठाउँहरू यही क्षेत्रमा बढी छन् ।
नेपालका चार धाम (बराहक्षेत्र, पाशुपतक्षेत्र, मुक्तिनाथक्षेत्र र वैद्यनाथ) मध्येको वैद्यनाथ सुदूरपश्चिमकै अछाममा पर्छ । बाजुराको रमणीय २२ पाटनको बीचमा रहेको कैलाशमाण्डौं (१४,००० फिट) स्थित बडिमालिका सुदूरपश्चिमको अर्को ठूलो शक्तिपीठ हो । एकैछिनमा कुहिरोले ढपक्कै ढाकिने डाँडाकाँडा, छिनमै घाम र छिनमै वर्षा हुने बडिमालिकामा वि.सं. १४२३ भन्दाअघि नै मन्दिर स्थापना भएको ऐतिहासिक प्रमाण छ ।
मन्दिरै मन्दिरको जिल्ला बैतडीमा त्रिपुरासुन्दरीसँगै मेलौली भगवती र देहीमाण्डौंको दर्शनले मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ भने हिन्दू धर्मावलम्बीहरूमा डोटीको शैलेश्वरी र डडेल्धुराको उग्रतारा मन्दिरको समेत विशेष महत्व छ । भारतको पूर्णागिरि पछि कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धबाबा मन्दिरको दर्शन गर्दा मात्र पुण्य प्राप्त हुने विश्वास रहिआएको छ ।
सिद्धबाबाको प्रचारप्रसार हुँदा वर्षेनि हजारौं भारतीय पर्यटक नेपालमा आउने छन्। हिन्दू धर्मावलम्बीका लागि बझाङको सुरमा सरोवर पनि उत्तिकै पवित्र तीर्थस्थल हो। मानसरोवर–कैलाश दर्शनमा वर्षेनि हजारौं भारतीय तीर्थालु हप्तौं लगाएर तिब्बत जान्छन् । बझाङबाट सडकमार्ग विस्तार गर्दा कैलाश दर्शनको सबैभन्दा छोटो रुट नै बझाङ हो ।
प्राकृतिकमा पनि अब्बल
कैलालीस्थित मोहना, कर्णाली र काँडा नदीमा पाइने डल्प्किन, कैलालीको घोडाघोडी ताल, विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगेको वासस्थल कञ्चनपुरको शुक्लाफाँटा आरक्ष, महाकालीपारिका दोधारा र चाँदनी जोड्ने १४५३ मिटरको झोलुंगे पुल आफैंमा पर्यटकीय आकर्षणका केन्द्र हुन् । प्राकृतिक सुन्दरता, पर्यावरण र जैविक हिसाबले भू–स्वर्ग भनिने खप्तड र तालैतालको क्षेत्र रामारोशन (अछाम) तथा तराईबाट तीन–चार घन्टामै पुगिने ‘हिल स्टेशन’ डडेल्धुरा सुदूरपश्चिमका अन्य पर्यटन स्थल हुन् ।
सुदूरपश्चिमका हिमालहरू अहिलेसम्म चर्चा बाहिरै छन् । सरकारले बझाङको साइपाल (७०३१ मिटर) र दार्चुलाको अपि (७१३२ मिटर) लाई आरोहणका निम्ति खुला गरे पनि प्रचारप्रसारको अभावमा आरोहीहरूको आकर्षण बन्न सकेका छैनन् । पर्यटनमै सुदूरपश्चिमको समृद्धि लुकेको छ ।
प्रदेश सरकारले भने सुदूरपश्चिमका पर्यटकीय आकर्षण के हुन्, कुन ठाउँ केका लागि महत्वपूर्ण छन् भनेर सूचीबद्ध समेत गर्ने काम अघि बढाएको छ । सुदूरपश्चिम आउने सम्भावित पर्यटक को हुन् भनेर पहिल्याउने र यहाँका पर्यटकीय सम्भावनाहरूलाई उनीहरूसम्म पुर्याउने काम गरे समृद्धितर्फको यात्रालाई कसैले रोक्न सक्दैन् । सुदूरपश्चिम क्षेत्रका धार्मिक स्थल र हिल स्टेशनहरू मुख्यतः भारतीय हिन्दू आस्थावान र गर्मी छल्नेहरूको लागि आकर्षक छन् ।
जलविद्युतबाटै समृद्धि
सुदूरपश्चिममा जलविद्युत् उत्पादन क्षमता निर्धारण भइसकेका नदीहरूमा दार्चुलाको चमेलिया (निर्माणाधीन ३० मेगावाट), पञ्चेश्वर (६,४८० मेगावाट), टनकपुर व्यारेज (१२० मेगावाट), बझाङको सेती–१ (३५ मेगावाट), सेती–२ (७५ मेगावाट), डोटीको पश्चिम सेती (७५० मेगावाट), अछामको बूढीगंगा (२० मेगावाट), सेती र बूढीगंगाको संगम अछामको चाइरवा नजिक (६०० मेगावाट), अछामको अपर कर्णाली (३०० मेगावाट), अछाम–सुर्खेत सीमाको मध्यकर्णाली (१६० मेगावाट) र चिसापानी–कर्णाली (१०,८०० मेगावाट) हुन् ।
साना र मझौला खालका आयोजनाबाट विद्युतको आन्तरिक माग आपूर्ति गरेर ठूला आयोजनाहरूको उत्पादन निर्यात गर्न सकिन्छ । सुदूरपश्चिमको जलविद्युत् विकास सिंगो नेपालको लागि वरदान हुने कुरामा दुईमत छैन ।
तर, ३० मेगावाटको चमेलिया नै सुदूरपश्चिममा शुरू भएको एक मात्र जलविद्युत् आयोजना हो । आर्थिक रूपले अति आकर्षक कर्णाली–चिसापानी उच्चबाँध आयोजना (१०,८०० मेगावाट), पञ्चेश्वर उच्चबाँध आयोजना (६,४०० मेगावाट), पश्चिम सेती (७५० मेगावाट), माथिल्लो कर्णाली जलविद्युत् आयोजना (३०० मेगावाट) मध्ये पश्चिम सेती निर्माण प्रक्रियामा गएर अवरुद्ध भएको छ भने अन्य आयोजना सम्भाव्यता अध्ययनभन्दा अगाडि बढेका छैनन् । यद्यपि आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमा पञ्चेश्वर र पश्चिम सेतीलाई समेटिएको छ ।
पञ्चेश्वर, कर्णाली–चिसापानी जस्ता बहुउद्देश्यीय आयोजनाहरूको नियन्त्रित पानीबाट भारतमा सुक्खायाममा ४८ लाख हेक्टर जमीनमा अतिरिक्त सिंचाइ सुविधा उपलब्ध हुने अध्ययन प्रतिवेदनहरूले देखाएका छन् । त्यसको मौद्रिक मूल्यांकन गरी बाँडफाँडका आधारहरू’bout भारतसँग सहमति गर्दा नेपालले थप आर्थिक लाभ पाउँछ । यसका लागि आवश्यक स्रोत नेपाल आफैंले जुटाउन सक्दैन र बाह्य लगानी भित्र्याउने पहल थाल्ने पहिलो दायित्व नेपाल सरकारको हो ।







