माओवादी केन्द्र : केन्द्रीय समिति पूर्णता कहिले ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन सम्पन्न भएको पाँच महिना बितिसक्दा पनि केन्द्र्र्रीय समितिले पूर्णता पाउन सकेको छैन ।

पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँड, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै बाँकी नै रहेको छ ।

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो ।

तर, पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै हुन सकेको छैन । महाधिवेशन भएको पाँच महिना बितिसक्दासमेत पार्टी अध्यक्ष प्रचण्डले यी कामलाई पूर्णता दिन सकेका छैनन् ।

माओवादी केन्द्रको विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन गर्नुपर्नेहुन्छ । माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था रहेको छ ।

यसैबीच केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको माओवादीले १ सय ४९ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य राख्ने विषय बैठकको एजेन्डा बनाएको छ । आउँदो १५ असारमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाइएको छ ।

महाधिवेशन भएको पाँच महिना बित्यो तर पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै बाँकी नै रहेको छ

केन्द्रीय समिति बैठक बस्नुअघि शनिबार पूर्वस्थायी समितिको बैठक बोलाइएको भए पनि बैठक बस्न सकेन । बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ । केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको माओवादीले आन्तरिक कार्य गर्न पटकपटक पूर्वस्थायी समितिको बैठक बसेर निर्णय गर्ने गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पूर्वस्थायी समितिको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने बताए । १५ असारमा बस्ने केन्द्रीय समिति बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिने प्रवक्ता महराले बताए ।

माओवादी केन्द्रका नेता गणेश साहले स्थानीय तह निर्वाचनमा पार्टी पूर्ण रूपमा लागेकाले केन्द्रीय समितिलाई पूर्णता दिनमा ढिलाइ भएको बताए । अब ढिला नगरी आउने केन्द्रीय समिति बैठकबाट नै सबै कुरा टुंगो लगाउनेगरी आन्तरिक गृहकार्य भइरहेको उनले बताए ।

कोको छन् पदाधिकारीका दाबेदार ?
अध्यक्षसहित १५ पदाधिकारी केन्द्रीय समितिको बैठकबाट निर्वाचित हुने व्यवस्था माओवादी केन्द्रको विधानमा छ । पहिलो प्राथमिकता सर्वसम्मत हो । सर्वसम्मत हुन नसकेको अवस्थामा निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्छ । तर, निर्वाचन भए मतदाता केन्द्रीय सदस्य मात्रै हुन्छन् ।

यस्तै, बैठकले पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरोसमेत चयन गर्नुपर्ने हुन्छ । यसअघिको बैठकले अध्यक्ष मात्रै टुंगो लगाएको छ । अन्य पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो गठनलगायतका काम अब बस्ने बैठकबाट मात्रै टुंगिने माओवादी नेता साहले बताए ।

‘सर्वसम्मत पदाधिकारी टुंगो लगाउने आन्तरिक गृहकार्यमा हामी छौं । स्थानीय तहको निर्वाचनमा जुटेका केही ढिलाइ भएको छ । अब ढिला नगरी छिट्टै नै टुंगो लगाउनेछौं,’ साहले भने ।

माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह हुने चर्चा छ ।

महत्वपूर्ण भनिएको र अध्यक्षपछिको दोस्रो कार्यकारी पद महासचिवका लागि ६ नेताबीच प्रतिपस्र्धा छ । महरा, गुरुङ, भुसाल, पुन र शर्माका साथै शक्ति बस्नेतमध्ये एक जना महासचिव हुने चर्चा माओवादीभित्र रहेको छ । पुन र शर्माले एकअर्कालाई रोक्न आफंै महासचिव हुन नसकेको अवस्थामा अरू नेतालाई अघि सारिरहेका छन् ।

पुनले आफू महासचिव नभए शक्तिबहादुर बस्नेतलाई र शर्माले भुसाललाई अघि सारेका छन् । महरा आफंै हुनुपर्छ भन्ने प्रतिस्पर्धामा नभए पनि दाहालले अन्य नेताहरू प्रतिस्पर्धामा आउँदा पूर्वमहासचिव भएकाले महरालाई नै अघि सार्न सक्ने अनुमान गरिएको छ ।

महासचिवका शक्तिशाली दाबेदारका रूपमा चर्चा भइरहेका पुन महाधिवेशनको समयमा उपचारका लागि चीनमा भएकाले त्यतिबेला पदाधिकारी टुंगो लगाउन नसकिएको हो ।

दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष तत्कालीन स्थायी कमिटी सदस्यमध्येबाट ल्याउने गृहकार्यमा अध्यक्ष प्रचण्ड रहेका छन् । यद्यपि, पोलिटब्युरो सदस्य भइसकेकी शशि श्रेष्ठसहितका नेतालाई समेत पदाधिकारीमा ल्याउने विषयमा समेत छलफल भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल