नयाँ नेतृत्व, नयाँ जोश


दक्षिणमा छिमेकी मुलुक भारत र नेपालको सीमाना मितेरीपुलबाट सुरु हुन्छ– त्रिभुवन राजपथ । यो सडक शंकराचार्य गेट हुँदै र आर्थिक नगरी वीरगन्जको मुटु दुई प्याक पार्दै उत्तरमा बारा पथलैयातर्फ लम्किएको छ ।

पर्सा सरदमुकाम वीरगन्जमा मुख्य सडकको नामले पनि परिचित छ, यो सडक । भूगोलमा महानगर क्षेत्र परे पनि सडक विभागको दायरामा परेका कारण उसले वीरगन्ज महानगरलाई मर्मत गर्न नदिएको र आफैंले पनि लामो समय मर्मत नगरेको सडक पनि यही नै होे । मर्मत र नयाँ निर्माण पर्खाइमा वर्षौं कुरेर बसेको वीरगन्जभित्रको माइस्थान घण्टाघर सडकखण्डको त्रिभुवन राजपथ अहिले खाल्टारहित बनेको छ ।

२०७९ को स्थानीय तह निर्वाचनपछि महानगरमा नयाँ जनप्रतिनिधि आएलगत्तै रातदिन नभनी यो सडकले मर्मत हुने अवसर पायो ।

आखिर गरे के नहुने रहेछ र ?

‘निर्वाचित भएर पदभार ग्रहण गरेको २४ घण्टाभित्र देखिने कामको सुरुवात गर्छु’ भनी प्रतिबद्धता गरेका वीरगन्जका नवनिर्वाचित महानगरप्रमुख राजेशमान सिंहले पदभार ग्रहण गरेको २४ घण्टामै वर्षौं अलपत्र सडक मर्मत गरेरै देखाइदिएका छन् । कोलोपत्रे भने बाँकी नै छ । कागजी प्रक्रियामा ‘केही त्रुटि रहेको’ भनिए पनि यो थालनीलाई सकारात्मक कदम मान्नुपर्छ ।

अहिलेसम्म महानगरका निवर्तमान जनप्रतिनिधिबाट यो काम हुन सकेको थिएन । तर, ‘नयाँ नेतृत्व नयाँ जोश’ भनेझैं वीरगन्ज महानगरमा नयाँ नेतृत्वसहितका जनप्रतिनिधि आएपछि वर्षौं अलपत्र ठूला नाला मर्मत फटाफट भइरहेका छन् । जितको सम्मान पनि नलिई ‘पहिले सय दिन काम गरेर देखाएपछि मात्र सम्मान गर्नु’ भनी नगरवासीलाई भनेर सिधैं काममा खटेका महानगर प्रमुख सिंहसहितको टोली अहिले वीरगन्जको फोहर र अव्यवस्थिति सुधार गर्न फिल्डमा उत्रिएको छ । नगरभित्रका सडकपेटी अतिक्रमण हटाइन सुरु भएको छ । महानगरप्रमुख सिंहको सिंगो टोली सार्वजनिक हितका काममा लागिपरेको देखेर नगरवासी पनि दंग छन् ।

बिजुली बत्तीबाट बञ्चित सुगम जिल्ला पर्साको दुर्गम गाउँ शिकारीबासमा अबको ६ महिनाभित्र झलमल्ल बत्ती बाल्नेगरी सुदूर पश्चिमको गाउँपालिका ठोरीले पनि तीव्र रूपमा ‘एक्सन टिम’ बनाइ काम अघि बढाइसकेको छ । ‘प्रष्ट विचार र काम’मा मात्र विश्वास गर्ने स्थानीय अनुभवी नेता लालबहादुर श्रेष्ठ ठोरीको नेतृत्वमा पुगेपछि त्यहाँ शिक्षालाई प्रविधिमैत्री बनाउने नीतिअनुसार काम अघि बढाइएको छ ।
गएको मंगलबार स्थानीय ८ विद्यालयलाई कम्प्युटर र प्रिन्टर नै वितरण गरिएको गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मी बताउ“छिन् ।
ठोरीमा १२ कक्षासम्म अध्ययन गर्ने सबै विद्यार्थीले ‘एक पैसा पनि तिर्न नपर्नेगरी काम सुरु गरिएको’ ठोरी गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । नीतिमा नभई व्यवहारमै ठोरीका विद्यार्थीले १२ कक्षासम्म ‘ अब एक रुपैया“ पनि तिर्न पर्दैन,’ उनी भन्छन्, ‘परे गाउँपालिकाले नै तिर्छ ।’

जिल्लाको सुदूरपूर्वमा पर्ने वीरगन्ज महानगरपालिका र सुदूर पश्चिममा पर्ने ठोरी गाउँपालिकामा नयाँ नेतृत्वले सक्रिय कार्य सम्पादन थालेजस्तो पर्साका सबै पालिकामा जनप्रतिनिधिले थालेका छन् ।

१४ पालिका रहेको जिल्लामा पालिका नेतृत्व तहमा २१ वर्षीय वशिष्ट कुमारदेखि राजनीतिमा इमान जवान नगुमाएका पर्सागढी नगरपालिका नगरप्रमुख गोकर्ण पाठकजस्ता व्यक्तिको नेतृत्व पर्सावासीले दोस्रो स्थानीय तह निर्वाचनपछि पाएका छन् । समग्र जिल्लाकै समृद्धि हुने राम्रै आशा र भरोसा योपटक पर्सावासीको छ ।

राजनीतिमा अभिभावक रहे पनि आफूहरू खासै उपस्थित नरहेका पर्सा कालिकामाई गाउँपालिका र जिराभवानी गाउँपालिका अध्यक्ष वशिष्टकुमार र अनोज चौधरीबाहेक अन्य १२ पालिकाका नेतृत्वकर्ता राजनीतिमा राम्रै खारिएका युवा नेता हुन् ।

नेपाली कांग्रेस जिल्ला सचिव हाँकिसकेका पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरीदेखि पोखरिया नगरपालिका नेतृत्व सम्हाल्न पुगेका संविधान सभा सदस्य प्रद्युमन चौहानसम्म राजनीतिमा राम्रै दख्खल राख्ने व्यक्ति हुन् । माथिबाट अरुलाई नेतृत्व गर्न सिकाउने व्यक्ति स्वयं यसपटक पर्साका पालिकामा पुग्दा एकअर्काको देखासिकी गरेर पनि सबै पालिकाको समुच्च विकास र समृद्धि हुनेमा पर्सावासी विश्वस्त छन् ।

पर्सा वीरगन्ज महागरपालिका–२७ का शम्भु यादव योपटक पालिकाको समृद्धि र विकासमा आन्तरिक प्रतिस्पर्धा नै हुनसक्ने आ“कलन गर्छन् । निर्वाचनमा उम्मेदवार बन्ने व्यक्ति राजनीतिक समर्पण भएकाभन्दा व्यापारिक पृष्ठभूमि र मालदारलाई पार्टीले खोजी गरे पनि पर्साको सन्दर्भमा यसपटक त्यस्ता व्यक्ति जनताको नजरमा पछि परे । काठमाडौं, धरान, बर्दिवास, जनकपुरजस्ता कतिपय ठाउँमा स्वतन्त्रलाई त्यहाँका जनताले छनोट गरे पनि पर्सामा ‘आमाबुबाको राजनीतिक विरासत बोकेका कालिकामाई र जिराभवानीका नेतृत्वकर्ता’बाहेक अन्य नेतृत्वकर्ता राजनीतिक रापतापमा रापिएकै व्यक्ति छन् ।

अझ पर्सा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यशवन्त यादव, वीरगन्ज महानगरपालिकाका सिंह, मधेस आन्दोलनका ‘फ्रन्टलाइनर’ नेता हुन् । गएको निर्वाचनमा उनीहरू मालदार उम्मेदवारका कारण पछिपरेका र पारिएका थिए । तर, योपटक भने उनीहरूलाई स्थानीय सरकारको बागडोर सम्हाल्ने ठाउँमा जनताले नै भारी मतले पु¥याइदिए ।

पहिलो निर्वाचनमा निर्वाचितमध्ये पर्साका १४ पालिकाका १३ नेतृत्वकर्ता जनताबाट नरुचाइए पनि छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता भने पुनः यसपटक पनि जनताको रोजाइमा परे । ग्रामीण इलाका भए पनि त्यहाँ गरिएको सडक सञ्जाल र राम्रा कामले नै आफूलाई जनताले अधूरा काम पूरा गर्न पुनः अवसर दिएको अध्यक्ष गुप्ताको विश्वास छ ।

समाज र राष्ट्र रूपान्तरण गर्न राम्रो सपना देख्ने, काम गर्ने इच्छा शक्ति भएको र सक्रिय नेता भएकाले नै एमालेले पनि अध्यक्ष गुप्तालाई जिल्ला सचिव बनाएको नेता–कार्यकर्ता बताउँछन् ।

यता, पर्सा जगरनाथपु गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले पनि एमाले नेता तथा पर्साका चर्चित राजनीतिकर्मी जालिम मिया“लाई पछि पार्दै उनको अघिल्लो निर्वाचनको जीतको विरासत तोडिदिए ।

उता, पर्साका तीनमध्ये बहुदरमाई नगरपालिकाका ‘मालदार’ भनिएका नितेन्द्र साहलाई पछि पार्दै सिंहासन साह विजयी भए । धोविनी गाउँपालिकामा नेपाली कांग्रेसका वशिष्टनारायण कुर्मीलाई पछि पार्दै मदनप्रसाद चौहान निर्वाचित भएका छन् ।

पर्साका पालिकामा राजनीनितक दलबीचबाट खारिएर गएका व्यक्ति निर्वाचित भएपछि आ–आफ्ना पार्टीको साख जोगाउन पनि उनीहरूले योपटक जनताका काम गर्ने अपेक्षा छ ।

स्थानीय तहलगत्तै प्रदेश र केन्द्र निर्वाचन हिउँदमा हुने भएकाले अहिले पालिका प्रमुख हुनेको प्रस्तुतिले आगामी निर्वाचनमा प्रभाव पार्नसक्ने हुँदा सबै पालिका प्रमुखको कामको गति राम्रो हुने विश्वास गरिएको छ । पोखरिया, पर्सागढी दुई नगरपालिकासहित ठोरी गाउँपालिका, छिपहरमाई गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिका गरी पर्साका १४ मध्ये एमाले पाँच पालिकाको नेतृत्व हात पारी ठूलो पार्टी साबित भएको छ ।

तथापि, मधेस प्रदेशकै एकमात्र वीरगन्ज महानगरपालिकासहित बहुदरमाई नगरपालिका, धोविनी गाउँपालिका र कालिकामाई गरी जसपाले पनि चार पालिकामा पकड जमाउन सफल भएको छ ।

कांग्रेसले जसपाले जति नै अर्थात् जगरनाथपुर, जिराभवानी, पटेर्वा सुगौली र पकाहामैनपुरमा आफ्नो नेतृत्व हात पारी जसपा र कांग्रेस पालिका नेतृत्वका सवालमा दोस्रो नम्बरमा रहन सफल भएका छन् । कुल जिल्लाका सबै निर्वाचित जनप्रतिनिधिमा भने कांग्रेस पहिलो र एमाले दोस्रो पार्टी दरिएको छ । लोसपाले भने विन्दवासीनी गाउँपालिकामा एउटा पालिकाको मात्र नेतृत्व गर्न सफल भएको छ । यो पालिकामा भएको कामका आधारमा लोसपाले आगामी निर्वाचनमा अवस्था अझ सुदृढ बनाउनुपर्ने बढी चुनौती थपिएको छ ।
..

जिल्लाका सबै पालिकाको अवस्था र नेतृत्वकर्ता तथा निर्वाचित जनप्रतिनिधिको पछिल्लो उपस्थितिले ‘को भन्दा को कम ?’कै ‘पोजिसन’ले आगामी दिन जिल्ला राजनीतिको ‘मियो पार्टी कुन हुने ?’ भन्ने पर्सामा प्रश्न उब्जाएको छ । पालिकामा हुने कामको समग्र मूल्यांकन आगामी समय पार्टीको स्थान पनि प्रष्ट पार्ने छ । त्यसैले पर्सामा नयाँ जोश र नयाँ नेतृत्वको प्रभाव सुरुबाटै देखिन थालेको हो ।

शिक्षा, स्वास्थ्य, पर्यटन, खाने पानी, सरसफाइको साबिकको अवस्था सुधार्ने र देखिने राम्रा काम गरेर पुनः आफ्नो उपस्थिति दरिलो बनाउने निर्वाचनताकाको प्रतिबद्धता अब जनप्रतिनिधिले कतिको पूरा गर्छन् ? त्यो पनि उनीहरूको कामले नै मापन गर्ने छ ।

उता, बारा, रौतहटलगायत मधेस प्रदेशका सबै पालिकामा निर्वाचित नेतृत्वकर्ता तथा जनप्रतिनिधि साबिकका जनप्रतिनिधिभन्दा जनताका काममा सक्रिय देखिएको स्थानीय भनाइ छ ।

‘बिहानीले दिनको संकेत गर्छ’ भनेझैं सुरुवाती चरणमा यो प्रदेशका जनप्रतिनिधिले देखाएको जनताका कामप्रतिको लगावले निरन्तरता पाए, अरु प्रदेशको सूचकांकको तुलनामा यो प्रदेश पनि सहजै पुग्ने स्थानीय बुद्धिजिबीको भनाइ छ ।

जनप्रतिनिधिले इमान्दारितासाथ कार्य सम्पादन गरिदिए, यो प्रदेश अझ अगाडि नै पुग्ने सिरहा विष्णुपुरका शैलज अधिकारीको विश्वास छ । उनी भन्छन्, ‘जनप्रतिनिधिमात्र इमान्दार भएर काम गर्ने हो भने भौगोलिक सुगमताले सम्पन्न यो प्रदेश तुलनात्मक रूपमा अरु प्रदेशभन्दा अब्बल हुनेमा दुईमत छैन ।’

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा

कुरी-कुरी