आर्थिक संकटको उतारचढावसँगै देश समस्याग्रस्त हुन लागेको तर्क र तथ्य बाहिर आउँदा यसले सबैलाई चिन्तित बनाएको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्ममा देशमा उत्पन्न भएको आर्थिक तरलता अभाव पनि हल हुने र देशले सकारात्मक आर्थिक गति प्राप्त गर्ने आशा पनि अहिले आएर धराशयी हुन गएको छ । चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएपछि देशमा विदेशी विनिमय सञ्चिति थप गम्भीर संकटोन्मूख अवस्थातिर धकेलिएको छ । हाल मात्र ९ अर्ब २८ करोड अमेरिकी डलर सञ्चिति रहेको छ । यसले दैनिक सन्तुलन पनि धान्न सक्दैन । देशबाट विदेशी मुद्रा बाहिरिने क्रम बढी र भित्रिने क्रम कम हुँदा आर्थिक स्थिति कमजोर र भयावह बन्दै गइरहेको छ । विदेशी विनिमय सञ्चिति अनपेक्षित रूपमा घट्दै जाँदा दैनिक उपभोग्य सामग्री समेत भित्र्याउन सकिने अवस्था सिर्जना हुँदै गएको छ । देशमा विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै जाने र डलर तिरेर विनिमय गरिनुपर्ने सामानमा बढोत्तरी हुँदै जाने प्रक्रियाले देशको कुल शोधनान्तर स्थिति अर्बौं घाटामा ओरालो लागिरहेको छ ।
कति नै देशसँग श्रमसम्झौता गर्दा पनि विदेशी मुद्रा सञ्चितिको मुख्य स्रोतका रूपमा रहेको रेमिटेन्स प्रवाह शून्य दशमलव २ प्रतिशतले मात्र वृद्धि हुन गएको छ । हालको चालू खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँ घाटामा रहेको छ । पुँजीगत ट्रान्सफर ४१ दशमलव ३ प्रतिशतले कमी छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्दासम्म देशको शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड बचतमा थियो । विदेश विनिमयका लागि सर्वाधिक प्रचलनमा रहेको अमेरिकी डलर अघिल्लो वर्ष यो अवधिमा ५ करोड ५४ लाख बचतमा थियो । गत असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति वैशाख मसान्तमा आइपुग्दा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम हुन गएको छ । अमेरिकी डलरको सञ्चिति एक वर्ष नपुग्दै ११ अर्ब ७५ करोडबाट २१ दशमलव १ प्रतिशतले कमी आउन गई ९ अर्ब २८ करोड रुपैयाँमा झरेको छ । यसमा कमी ल्याउने उद्देश्यका साथ सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने र पेट्रोलियम पदार्थ खपतमा कमी ल्याउने कदम अघि सारेको थियो ।
उता सरकारको मातहतमा रहेको पर्यटन बोर्डले बिदामा भ्रमणको कार्य तालिका बनाएर बढीभन्दा बढी आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिने भनिरहेको छ । अन्तर मन्त्रालय समन्वय र सहकार्य हुन नसक्दा पनि सरकार आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सक्षम रहेको देखिँदैन । आश्चर्य त यस्तो पनि देखिएको छ कि पेट्रोलको आयात घटाउन आइतबार बिदा दिने घोषणा गरे पनि त्यसले प्रतिफल नदिएपछि सरकार बिदा दिनबाट पछि हटिसकेको छ । एक महिने परीक्षण कालमा पनि सफल हुन नसक्ने अपरिपक्व तथा केटौले निर्णय गर्ने लहडले सरकार झन् पछि झन् फितलो हुँदै गएको छ र यसले जनताको माझमा आफ्नो अभिभावकत्व समेत गुमाउन पुगेको छ । उच्च आयात, न्यून निर्यात, रेमिट्यान्समा कमी तथा पर्यटक आगमनमा कमी आदिले देशको शोधनान्तर स्थिति निरन्तर घाटामा गइरहेको अर्थशास्त्रीको विश्लेषण सटिक र यथार्थ छ । यिनै कारणको जरोमा पुगेर समस्या समाधानका विधि र उपाय खोजिनु जरुरी छ ।






