बृद्धभत्ता लिन भिरको बाटो ३ दिन पैदल हिंडेर बैंक पुगेका रित्तो हात फर्किए

बैतडी । बैतडीको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाका कले लुहार, महा लुहार र कालु लुहार २ दिन जंगलको बाटो पैदल यात्रा गरेर भत्ता बुझ्न भन्दै घरबाट हिडेँ । वडा नं २ स्थीत गाँजरीमा रहेको कृषि विकास बैंकमा शुक्रबार पुगेका उनीरू भत्ता नलिइ घर फर्किन बाध्य भए । कारण दिनभर लाइनमा बसेपनि पालो नै आएन् । अन्तिममा बैंकका कर्मचारीले भने ‘अब २ दिन बिदा छ सोमबार मात्रै आउनु’

भौगोलिक विकटता र बैंकिङ प्रणालीको झन्झटका कारण दुःख भएको लाभग्राहिको गुनासो छ । सिगासको वडा न.५, ६, ७ र ८ बाट हिँडेर बैंक भएको ठाउँ पुग्दा दुई देखी तीन दिन लाग्छ । हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई बोकेर लैजानुपर्ने अवस्था छ ।

वडास्तरमै भत्ता पाउने व्यवस्था गर्न सिगासका लाभग्राहिको माग छ । अहिले गाजरीमा रहेको कृषि विकास बैंक मार्फत भत्ता वितरण हुने गरेको छ ।

सिगास गाउँपालिकामा मात्रै नभई जिल्लाका सबैजसो ठाउँहरूमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भइरहेको छ । तीन देखि चार महिनाको भत्ता एकैपटक निकासा हुँदा बैंकहरूमा भत्ता बुझ्नेको भिड लाग्ने गर्दछ ।

बृद्ध कालु लुहारले भने, ‘अहिले मात्रै होइन बिरामी परेका बेला, बर्षातका बेला र हिउँ परेका बेला पनि हामी यसैगरी भिरपाखाको बाटो भएर भत्ता बुझ्न आउछौँ ।’ बुढेसकालमा भत्ता बुझ्न धेरै दुःख पाइन्छ ।’

विगतमा वडा कार्यालयबाटै वितरण हुँदै आएको भत्ता गत चैतदेखि बैंक खाताबाट वितरण हुन थालेको हो । यता, बैंकको दुःख पनि उस्तै छ । बिजुली बत्ती नहुँदा सोलारको भरमा कम्प्युटर र इन्टरनेट चलाएर बैंक सेवा दिनु परिरहेको गाँजरी स्थीत कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताए । बैंकमा विजुली र भरपर्दो इन्टरनेट नहुदाँ समस्या छ । त्यहाँ बैंक खुलेको केहि समय त इन्टरनेटले कामै नगर्दा कारोबार हुनै सकेको थिएन् । ‘अहिले सोलारबाट कामकाज गरिन्छ । तर घाम नलागेको दिन काम गर्न सकिदैन् ।’ बैंकका शाखा प्रमुख साउदले भने ।

सेवाग्राहीको माग अनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 310 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरामा जंगलमा प्रहरी जवान मृत फेला