आर्थिक विषमताको चरम उत्कर्ष

विश्वमा अहिले अधिकांश देशमा पुँजीवादी अर्थव्यवस्था छ । यद्यपि, यो व्यवस्थामा थुप्रै संकट देखापरेका छन् जसमा गरिबी, युद्ध, बढ्दो मूल्य वृद्धि, भोकमारी र आर्थिक असमानताको बढ्दो खाडल रहेका छन् । यसमध्ये आर्थिक असमानताको खाडल प्रमुख चुनौतीको रूपमा रहेको छ । पुँजीवादी अर्थव्यवस्थाको आधारभूत उद्देश्य मुनाफा कमाउनु हो । यसले खुला नीतिको समर्थन गर्दछ । यस व्यवस्थामा समाजमा व्यक्तिको हैसियत उसको सम्पत्तिका आधारमा निर्धारण हुन्छ । पुँजीवादी अर्थव्यवस्थामा आर्थिक सामग्रीको उत्पादन र विवरणमा राज्यले खासै हस्तक्षेप गर्दैन । युद्ध, महामारी भूकम्प तथा अन्य विपत्तिमा यस अर्थव्यवस्थामा धनाढ्य, ठूला उद्योगी, व्यवसायीले अतिरिक्त मुनाफा आर्जन गर्न हरेक वस्तु तथा सेवाको मूल्य वृद्धि गर्छन् ।

पुँजीवादी अर्थव्यवस्थामा एकातिर उच्च मूल्य वृद्धिको चुनौती छ भने अर्कोतिर आर्थिक असमानताको ब्यारोमिटर उच्च भएकाले बहुआयमिक असर परेको छ । कोरोना महामारीलगायत विश्व आर्थिक असमानताको डरलाग्दो खाडलतिर अगाडि बढिरहेको छ । शक्ति सम्पन्न अमेरिकादेखि नेपाल जस्तै कयौं राष्ट्र आर्थिक विषमताको खाडलले पिरोलिरहेका छन् । विश्वका धनाढ्यहरू झन् धनी बनेका छन् भने विपन्न झनभन्दा झन् चरम गरिबीमा धकेलिएका छन् । विश्वव्यापी रूपमा रहेको बेलायतस्थित परोपकारी संख्या अक्सफाम इन्टरनेशनलको मे २२ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार महामारी सुरु भएयता विश्वमा थप ५ सय ७३ जना नयाँ अरबपति थपिएका छन् । अर्थात् विश्वले अथाह सम्पत्ति गुमाइरहेको महामारीको प्रत्येक ३० घण्टामा औसतमा एक जना नयाँ अरबपति बने । यससँगै एक अर्ब डलरभन्दा बढी नेटवर्थ भएका धनाढ्यको संख्या दुई हजार ६ सय ६८ पुगेको छ ।

विश्वले अथाह सम्पत्ति गुमाइरहेको महामारीका बेला प्रत्येक ३० घण्टामा औसतमा एक जना नयाँ अरबपति बनेका छन्

कोभिड–१९ महामारी सिर्जित संकटले आज विश्व अर्थतन्त्रलाई क्षतविक्षत बनाएर करोडौं मानिसलाई गरिबीमा धकेलेको छ । त्यतिमात्र होइन धेरैले सधंैका लागि रोजगारी समेत गुमाएका छन् । यद्यपि, धनाढ्यका लागि भने यो महामारी अभूतपूर्ण रूपले फलदायी सावित भएको छ । महामारीको अवधिमा धनाढ्यले महामारी अघिको २३ वर्षमा बढेको भन्दा धेरै नेटवर्क थपेका छन् । विश्वका अरबतिको सम्पत्ति विश्वको जीडीपीको १३ दशमलव ९ प्रतिशत बराबर पुगेको छ । यसअघि सन् २०२० मा विश्वका सम्पूर्ण अरबपतिको नेटवर्थ विश्व अर्थतन्त्र जीडीपीको ४ दशमलव ४ प्रतिशत थियो । आर्थिक असमानताको बढ्दो खाडलमा यो ज्यादै ठूलो डरलाग्दो तथ्यांक हो । यसरी हेर्दा महामारीको यी दुई वर्षमा अरबपतिले आफ्नो सम्पत्ति तीन गुणाले बढाए । यो अवधिमा विश्वका अरबपतिको नेटवर्थमा ४२ प्रतिशत अर्थात् ३० खर्व ८० अर्ब डलर बढेर १ सय २० खर्ब ७० अर्ब डलर पुगेको छ ।

अक्सफामले घतलाग्दो कुरा के गरेको छ भने आर्थिक असमानता बढ्नुमा कोरोना मात्रै जिम्मेवार छैन वर्तमान विशव्यापी पुँजीवादी अर्थव्यवसथा बढी जिम्मेवार छ । कोरोना नहुँदा पनि आर्थिक असमानताको खाडल हिजो पनि बढेकै थियो । तर, अहिले महामारीको कारणले थप बढ्न गएको मात्र हो । पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्थाले धनाढ्यलाई थप धन आर्जन गर्न सक्षम बनाएको छ भने करोडौं मानिसको जीवन नरकतुल्य पनि यही व्यवस्थाले गराएको छ । अब यस व्यवस्थाको विकल्प खोज्नुपर्दैन ? भनी प्रश्नवाचक चिह्न खडा गरेको छ ।

कोरोना महामारीको समयमा सबैभन्दा बढी खाद्य, ऊर्जा तथा फर्मास्युटिकल (औषधि) क्षेत्रले मुनाफा कमाएको छ । खाद्य तथा कृषि क्षेत्रका अरबपतिले महामारीका यी २ वर्षमा सम्पत्तिमा ३ खर्ब ८२ अर्ब डलर अर्थात् ४५ प्रतिशतको वृद्धि साक्षात्कार गरेको देखिएको छ । सन् २०२० पछि खाद्य क्षेत्रले मात्रै ६२ नयाँ अरबपति थपेको छ । त्यस्तै गरेर तेल, ग्यास तथा कोइला क्षेत्रका धनाढ्यले पनि आफ्नो नेटवर्थ २४ प्रतिशतले बढ्दा ५३ अर्ब डलर थपेका छन् । फर्मास्युटिकल (औषधि) उद्योगले विश्वमा ४० नयाँ अरबति थपेको छ । कोरोना महामारीको अवधिमा सबैभन्दा बढी सम्पत्ति प्रविधि क्षेत्रमा थपिएको छ । विश्वका सर्वाधिक धनाढ्य १० मध्ये टेस्लाका एलन मस्क, अमेजनका जेफ बेजोस, माइक्रोसफ्टका विल गेट्स जस्ता ७ व्यक्ति प्रविधि क्षेत्रैबाट छन् । धनाढ्यको सूचीमा रहेका १० जनाले महामारीको दुई वर्षको समयावधिमा ४ खर्व ३६ अर्ब डलरले बढाएर ९ खर्व ३४ अर्ब पु-याएका छन् ।

निश्चित मान्छे आराम र मोजमस्तीमा बस्न थालेपछि जनसंख्याको ठूलो हिस्सा गरिबी, बेरोजगारी, भोकै मर्नुपर्ने अवस्था आउँछ

विश्व आर्थिक मञ्चमा अक्सफामले बढ्दो आर्थिक विषमताको खाडल घटाउन केही सुझाव समेत दिएको छ । बढ्दो असमानतालाई रोकन र चर्को मूल्य वृद्धिबाट प्रताडित परिवारलाई सहयोग गर्न धनाढ्य तथा ठूला कम्पनीलाई थप कर लगाउन अक्सफामले घचघचाएको छ । उसले अतिशय कर्पोरेट मुनाफामा अस्थायी रूपले ९० प्रतिशतसम्म कर लगाउन र धनाढ्यको सम्पत्तिमा एकपटकका लागि सम्पत्ति कर लगाउन पनि सुझाएका छन् । सम्पत्तिको यो असमानता कम गर्न ५० लाख डलरभन्दा बढीको सम्पत्तिमा २ प्रतिशत कर लगाउन र १ अर्बमाथिको नेटवर्कमा लाग्ने सम्पत्ति करलाई ५ प्रतिशत बढाउन भनेको छ । अक्सफामका अनुसार यसरी कर लगाउँदा विश्वभर २० खर्व ५० अर्ब डलर उठ्ने र त्यसले सम्पत्तिको यो खाडल पुर्न सघाउने दाबी पनि गरेको छ ।

प्रकृतिले विश्वका मानव जातिका लागि जल, जंगल, जमिन, पूर्णरूपमा निःशुल्क उपहार दिएको थियो । तर, आज निश्चित मानिसले आफ्नो कब्जामा लिई त्यसको भरपुर उपयोग गरेका छन् । आज राष्ट्र राष्ट्रबीच मात्र होइन, एउटै देशमा नागरिकबीच पनि असमानताको खाडल चरम उत्कर्षमा छ । यसो हुनुको प्रमुख कारण धनीमानिस नै राज्यको सत्ता सञ्चालन तहमा पुग्नु र यिनीहरूले मुलुकको स्रोतसाधन विनियोजन र उपयोगसम्बन्धी नीति निर्माण आफ्नो हितअनुकूल हुनेगरी लागू गर्ने देखिन्छ । अनि ठूलो संख्यामा रहने बाँकी जनताको भागमा भने दयामुखी र रहलपहल स्रोत मात्र पर्ने गर्छन् ।

आज विश्वमा धनी र गरिबबीचको खाडल बढ्नुमा लोकतान्त्रिक शासनभित्रको पुँजीवादी अर्थव्यस्था हो । यो असमानताको बढ्दो खाडल पुर्न यो व्यवस्थाबाट सम्भव छैन ’cause पुँजीवादले खुला व्यापार नीतिको समर्थन गर्दछ । यस नीतिमा जसले जति पनि जसरी पनि कमाउन सक्छ । राज्यले खासै त्यसमा अंकुश लगाउन मिल्दैन । जब निश्चित मान्छे आराम र मोजमस्तीमा बस्छन् बाँकी ठूलो हिस्सा गरिबी, बेरोजगारी, भोकै मर्नु पर्ने अवस्था आउँछ । तब थोरै मानिसको हित रक्षाका लागि स्थापना गरिएको यो पुँजीवादी राज्य व्यवस्था टिक्दैन अर्थात् जनता आफंैले यो व्यवस्था फ्याक्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई शिक्षामन्त्रीको निर्देशन