इटहरी । इटहरीमा सोमबार बिहान व्यस्त बजारछेउ चितुवा देखाप-यो । सुरुमा त मर्निङ वार्क हिड्ने मानिसहरूले कुकुर भनेर वास्ता नगर्दा झण्डै आक्रमण गरेपछि मात्रै चितुवा रहेको थाहा पाइयो । मानिसहरूले हो–हल्ला गरेपछि इटहरी ९ मा देखा परेको चितुवा भागेर इटहरी ६ का नेरु चौधरीको घरको ग्राउण्डभित्र छि¥यो । इटहरीमा यसअघि कहिल्यै नदेखिएको चितुवा बजार क्षेत्रमै देखिएपछि स्थानीय मानिसहरू चकित परे ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार घरभित्र पसेको चितुवालाई करीब ७ घण्टापछि नियन्त्रणमा लिइएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. १ र कोशीटप्पु बन्यजन्तु आरक्षको प्राविधिक टोली, जिल्ला वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा चितुवालाई नियन्त्रणमा लिइएको खड्काले जानकारी दिए । उनका अनुसार चितुवालाई बेहोस बनाउन ‘डार्ट’ हानिएको थियो । ‘करीब ७ घण्टाको अवधिमा घरभित्र ग्राउण्डमा रहेको चितुवालाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी खड्काले भने, ‘कोशीटप्पु बन्यजन्तु आरक्ष, जिल्ला बन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहकार्यमा नियन्त्रणमा लिएका छौँ ।’
नियन्त्रणमा लिइएपछि डिभिजन वन कार्यालय लगिएको छ । त्यहाँ उपचार गरिएपछि वन कार्यालयले कोशी टप्पु बन्यजन्तु आरक्षको सहयोगमा चितुवालाई चितवन राष्ट्रिय निकुन्ज पठाइने बताइएको छ । वन कार्यालयका अनुसार दुई वर्षको भाले चितुवा ३५ केजीको रहेको छ । इटहरीको उत्तरी क्षेत्रमा रहेको चारकोशे जङ्गलबाट चितुवा बस्तीमा पसेको हुनसक्ने अनुमान गरिएको छ । जङ्गल खोला हुँदै चितुवा रातको समयमा बजार क्षेत्रभित्र पसेको अनुमान गरिएको हो । इटहरीको व्यस्त बजारमा यसरी चितुवा पसेको सम्भवत यो पहिलो र अनौठो घटना भएको स्थानीयले बताए ।