बायोग्यास प्लान्ट निर्माणमा ढिलाई


टीकापुर । कैलालीको धनगढी उपमहानगरपालिका–२ सरस्वतीनगरमा निर्माणाधिन बायोग्यास प्लान्ट उद्योग निर्माणमा ढिलाई भएको छ । आवश्यक भौतिक संरचना निर्माण नहुँदा प्लान्ट सञ्चालनमा ढिलाई हुन गएको हो ।

बैकल्पिक उर्जा प्रबद्धन केन्द्र र देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरबीच सम्झौता भएको चार वर्ष वितिसक्दा पनि उद्योग सञ्चालनमा आउन सकेको छैन् । सन् २०१८ अक्टोबर २९ मा बायोग्यास उद्योग स्थापनाका लागि सम्झौता भएको थियो । धनगढी उपमहानगरपालिकाको सरस्वतीनगरमा रहेको ३४ कट्ठा जमिनमा फोहोरबाट उर्जा र जैविक मल उत्पादनका लागि उद्योग स्थापना गरिन लागेको हो ।

८ महिनाभित्र उद्योग सञ्चालन गर्ने सम्झौता भएपनि उद्योगका लागि आवश्यक भौतिक निर्माण भएका छैनन् । देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरका सञ्चालक रविनकान्त पन्तले पलान्ट संचालनका लागि केही संरचना निर्माणको काम बाँकी रहनुका साथै उद्योगमा विद्युत जडानको कामपनि बाँकी रहेको बताए ।

निर्बाचनका कारणले अली ढिलो भएको बताउँदै पन्तले भने जग्गाको लालपुर्जाको फोटोकपी नपाएका कारण विद्युतको मिटर जडान हुन सकेको छैन् ।

धनगढी उपमहानगरपालिका र उद्योग सञ्चालनका लागि सम्झौता गरेको देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरबीच विद्युत महशुल तिर्ने बिषयमा विवाद देखिएको छ । उपमहानगरपालिकाको नाममा रहेको जमिनको लालपुर्जाका आधारमा विद्युत जडान गर्दा उपमहानगरपालिकाले महशुल तिर्नुपर्ने भन्दै लालपुर्जाको प्रतिलिपि नदिएको धनगढी उपमहानगरपालिकाका इन्जिनियर दीजराज भट्टले बताए ।

नगरपालिकाको नाममा भएकोले लालपुर्जाबाट बिजुली लियो भने नगरपालिकाले पैसा तिर्नुपर्ने भएकाले प्लान्टले नै पैसा तिर्नेगरी कुरा गर्नुपर्ने भयो उनले बताए ।

विश्व बैंकको ८ करोड, देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरको चार करोड तथा बाँकी बैंकबाट लगानी गर्ने गरी २० करोडको लागतमा बायोग्यास प्लान्ट स्थापनाका गर्ने सम्झौता भएको जनाइएको छ ।

दैनिक ३० टन फोहोरबाट ७० सिलिण्डर ग्यास र तीन दशमलव ५ टन जैविक मल उत्पादन गर्ने उद्योगको क्षमता छ । बायोग्यास उद्योग सञ्चालनमा आएपछि २० वर्षसम्म देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिस सेन्टरले सञ्चालन गर्ने र धनगढी उपमहानगरपालिकाले फोहोर उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

epaper

ताजा समाचार

कन्दराको एटलान्टा कन्सर्टबाट उठेको २१ लाख रुपैयाँ प्रधानमन्त्री कोषमा