काठमाडौं । नेपाली सांगीतिक ब्याण्ड ‘कन्दरा’ ले अमेरिकाको एटलान्टामा आयोजित कन्सर्टमार्फत संकलित २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ ।
भोटेकोशी बाढीबाट प्रभावित नेपालीहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले कन्दराको आह्वान र अग्रसरतामा एटलान्टामा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । बिएनएमको आयोजनामा सम्पन्न कार्यक्रममा एटलान्टामा रहेका नेपाली दर्शक, विभिन्न संघ–संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा समुदायको सहभागिता रहेको थियो ।
कन्दराले जनाएअनुसार संकलित रकम एटलान्टास्थित गैरनाफामूलक संस्था नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खातामार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो । ब्यान्डले उक्त सहयोग विपद् प्रभावित नेपालीको राहत, उद्धार र पुनःस्थापनाका लागि समर्पित गरेको जनाएको छ ।
कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले एटलान्टा कार्यक्रमलाई केवल सांगीतिक कार्यक्रम नभई मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति भएको बताएका छन् । ‘यो केवल एउटा सांगीतिक कार्यक्रम थिएन। हजारौँ माइल टाढा रहेर पनि मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति थियो’, श्रेष्ठले भने ।
उनका अनुसार देश विपत्तिमा परेका बेला गीत गाउन सहज थिएन । तर संगीतलाई पीडामा मल्हम लगाउने माध्यम बनाउन सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रमलाई निरन्तरता दिइएको हो । ‘संकटको यस घडीमा हामीले संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने निर्णय गर्यौँ । एटलान्टाका नेपाली दाजुभाइ–दिदीबहिनीले देखाउनुभएको एकता, माया र सहयोगले यो सम्भव भयो’, श्रेष्ठले भने ।
नेपालमा आएको विनाशकारी विपद्पछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्नुपर्ने दवाव र भावनात्मक चुनौतीबीच कन्दराले कार्यक्रम रोक्नुको सट्टा त्यसलाई राहत तथा सहयोग अभियानमा रूपान्तरण गर्ने निर्णय गरेको जनाएको छ ।
गत २८ अगस्ट शुक्रबार एटलान्टामा आयोजना गरिएको कार्यक्रमलाई ‘शोकलाई शक्तिमा, संगीतलाई सेवामा’ भन्ने भावनासहित राहत अभियानका रूपमा सञ्चालन गरिएको श्रेष्ठले बताए । ‘त्यही अपेक्षाअनुसार अर्थपूर्ण रकम संकलन भएकोमा कन्दरा सम्पूर्ण सहयोगीप्रति आभारी छ’, उनले भने ।
कन्दरा अहिले ७ अगस्टदेखि ३० सेप्टेम्बरसम्मको दुई महिने अमेरिका टुरमा छ । ‘रिदम अफ चेन्ज’ नाम दिइएको सांगीतिक यात्राको सुरुवात बोस्टनबाट गरिएको थियो ।
एटलान्टापछि ब्यान्डले अमेरिकाका भर्जिनिया र कोलोराडोमा प्रस्तुति दिने तयारी गरेको छ । आगामी दुवै कार्यक्रममा पनि भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यवद्धता जनाउँदै राहत र सहयोगको सन्देश प्रवाह गरिने कन्दराले जनाएको छ ।
संगीतलाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको माध्यम बनाउने उद्देश्यले कन्दराले आफ्नो अमेरिकी टुरलाई निरन्तरता दिइरहेको जनाएको छ ।
सम्बन्धित समाचार
कलाकार धुर्मुसको भावुक स्ट्याटस : दुई महिना नेपाल बसेर भारी मन लिएर अमेरिका फर्कनु पर्यो
फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल
गायिका समीक्षा अधिकारीलाई ५ सय पटक फोन गरेर दुःख दिने को हो ?
रिता तामाङले जितिन `मिसेस ब्युटीफूल नेपाल´को उपाधी
‘मलाई ५ सय पुरूषका अगाडी ब्रा र अन्डरबेयरमा देखिन भनियो’
सलमान खानको ‘मोन्स्टर’को यस्तो छ कथावस्तु
निखिलको ‘आचार्य’ को टिजर सार्वजनिक
शाहरुखसँग नागार्जुन भिड्दै






