यातायातका १२ कर्मचारी र ५ बिचौलियाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को गैरकानुनी रूपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखहरु सम्बरबहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाचौं) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यस्तै, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी र कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।

उनीहरुले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारीअन्तर्गत कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेको अख्तियारको दाबी छ । आर्थिक वर्ष २०७७÷७८ र २०७८÷०७९ को श्रावण र भाद्र महिना गरी १४ महिनाको अवधिमा विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानुनी रूपमा नवीकरण गरेको भेटिएको अख्तियारले आरोप पत्रमा उल्लेख छ ।

विचौलिया हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा उनीहरूले ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स जारी गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले १२ जना कर्मचारीको हकमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ अनुसार २ वर्षसम्म कैद र ५० हजार जरिमानाको सजाय मागदाबी गरेको छ । यस्तै, ५ जना विचौलियाहरुलाई मतियारको रुपमा प्रस्तुत गरेर भ्रष्टाचार निवारण ऐनको दफा ११ को कसुरमा दफा २२ बमोजिमको सजाय मागदाबी गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय