हेटौंडाको बजेट २ अर्ब ७१ करोड, भौतिक पूर्वाधार र कृषिलाई प्राथमिकता


चुरे, मकवानपुर । बाग्मती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ११औं नगरसभामा प्रस्तुत गरेको छ ।

१० असारमा स्थगित गरिएको नगरसभा आइतबार तोकिएको समयभन्दा दुई घण्टा २० मिनेटपछि सुरु गरिएको हो । सभामा २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपियाँ बजेट प्रस्ताव गरिएको हो । अनुमान गरिएको खर्च बेहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्ब ६ करोड ९५ लाख बेहोरिने गरी तयारी गरिएको छ । उपमेयर राजेश बाँनियाले सभामा बजेट पेस गरेका थिए । नगरपालिकाले पूर्वाधार विकासतर्फ नगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजनालाई प्राथमिकतामा राखेको छ ।

उक्त भवन निर्माणका लागि १५ करोड बजेट विनियोजन गरिएको छ । हेटौंडा ४ मा निर्माण हुने बहुवर्षीय योजनाअन्तर्गत वासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माणमा ५ करोड विनियोजन गरिएको छ । हेटौंडामा चक्रपथ निर्माण कार्य निरन्तरताका लागि समपूरक योजनाअन्तर्गत हेटौंडा वडा १६ र १७ को सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको छ । यसैगरी, क्याम्पा बंगुर फारमदेखि तीनकुने चोक फायरलाइनसम्म नमुना सडक निर्माण कार्य प्रारम्भ गर्न ५० लाख विनियोजन गरिएको छ । सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा सम्झौता भई आगामी आर्थिक वर्षमा जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि १७ करोड २५ लाख विनियोजन गरिएको छ । संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति एवं अन्य संघ संस्थासँगको साझेदारीमा सञ्चालन हुने योजनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख राजेश बानियाँले बताए । यसैगरी, वडा तथा बस्तीस्तरीय पूर्वाधार योजनाका लागि ३८ करोड ४० लाख विनियोजन गरिएको छ । नगरबासीलाई स्वच्छ खानेपानी व्यवस्थापन गर्न हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सहलगानी कायक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उल्लेखित आयोजनासमेत पूर्वाधार विकास क्षेत्रभित्र पर्ने ऊर्जा, सडक बत्ती, आवास व्यवस्था, जलस्रोत सिँचाइलगायत नगरस्तरीय पूर्वाधारमा १ अर्ब ८ करोड ४२ लाख विनियोजन गरिएको । यसैगरी, हेटौंडा ११ थानाभयङस्थित प्रदेश सरकारसँगको सहकार्यमा निर्माण हुने प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्रको बाँकी निर्माण कार्यका लागि ३ करोड विनियोजन गरिएको छ । कर्रा नदीको स्वच्छतालाई संरक्षण गर्दै नदी किनारमा पर्यटन पूर्वाधार निर्माण कार्यका लागि आगामी आर्थिक वर्षमा ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जनसांख्यिक बाहुल्यताका आधारमा तामाङ जातिको वेशभूषा, कला, संस्कृतिलगायतका मौलिक पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्न उपमहानगरपालिकाको उपयुक्त स्थानमा तामाङ सङ्ग्रहालय निर्माण कार्य प्रारम्भ गर्न ५० लाख विनियोजन गरिएको छ ।

हेटौंडा १० स्थित राप्ती नदी तटमा हाल सञ्चालनमा रहेको शवदाह स्थलको स्तरोन्नतिका लागि २० लाख, रोजगार प्रवद्र्धन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रूपान्तरण पहल कार्यक्रमका लागि १ करोड ७८ लाख, कृषि विकासअन्तर्गतका कार्यक्रमका लागि ६ करोड २ लाख, पशुपंक्षी विकासअन्तर्गतका कार्यक्रमका लागि ३ करोड ६६ लाख विनियोजन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति, सहकारी क्षेत्रअन्तर्गतका कार्यक्रमका लागि ९६ लाख विनियोजन गरिएको बानियाँले बताए । हेटौंडाको गुम्बा डाँडा, पुण्यक्षेत्र, कुष्माण्ड सरोवर त्रिवेणी धाम, गुफा थानलगायतका पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि ४ करोड १७ लाख विनियोजन गरिएको छ । संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत उपमहानगरपालिका क्षेत्रभित्रका विभिन्न मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद, मदर्सालगायतका सांस्कृतिक पूर्वाधार निर्माणका लागि २ करोड २० लाख विनियोजन गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग