काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न दक्षिण एसियाली मुलुकले उच्च सावधानी अपनारहेका बेला सर्वोच्च बार एसोसिएसनले तीन साता सबै इजलाश बन्द गर्न आग्रह गरेको छ ।
सर्वोच्च बारको मंगलबार बसेको बैठकले अदालत बन्दी प्रत्यक्षीकरणबाहेक सबै इजलास बन्द गर्न अनुरोध गरेको छ । नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले औंल्याएको उल्लेख गरेको र सरकारले पनि भिडभाडमा नजान आग्रह गरेकाले केही साताका लागि बन्द गर्नुपर्ने बारको माग छ ।
मुलुकका विभिन्न ठाउँबाट आउने व्यक्तिसँग कानुन व्यवसायी प्रत्यक्ष रूपमा अदालतमा उपस्थित हुन बाध्य हुनुपर्ने अवस्था रहेको भन्दै सर्वोच्च अदालतको ध्यानाकर्षण गरेको छ । कोरोना भाइरसबाट हुन सक्ने सम्भावित संक्रमणको स्थिति न्यूनीकरण गर्न र सावधानी अपनाउन आवश्यक रहेको सर्वोच्च बारको भनाइ छ । इजलास प्रवेशअघि ज्वरो चेकजाँच
सर्वोच्च अदालतले कोरोना संक्रमणबाट बच्न गेटमै हेल्थ डेस्क सञ्चालन गरेर ज्वरो नाप्न सुरु गरेको छ । सेवाग्राही, कानुन व्यवसायी र सरोकारवालालाई ज्वरो भए नभएको चेक जाँच गरेर मात्रै प्रवेश दिइने गरेको छ ।
सर्वोच्चले सतर्कताका लागि इजलासमा सीमित कानुन व्यवसायीको आगमनका लागि मात्रै खुला गरेको छ । मुद्दाको पेसीमा आउनेको भीड भने पहिलाको तुलनामा केही कम भएको छ । त्यस्तै, जिल्ला अदालत काठमाडौंले सूचना टाँसेर कोरोना भाइरसबाट सचेत गर्नुका साथै ज्वरो नापेर मात्रै अदालत परिसर प्रवेश दिएको छ । इजलासमा मुद्दाका सम्बन्धित व्यक्तिबाहेककालाई प्रवेश दिइएको छैन । अदालत प्रवेश गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।
त्यस्तै, उच्च अदालतले पनि उच्च सर्तकता अपनाएको छ ।






