पहिले मसानघाट, अहिले सुन्दर पार्क


मकवानपुर हेटौंडा उपमहानगरपालिका–९, १०, ११ र १३ (साबिकको पदमपोखरी गाविस) सीमास्थित तीन नदीको संगम त्रिवेणी, जहाँ दाहसंस्कार कर्ममा सहभागी हुन्थे, स्थानीय । गाईबस्तु चराउन जाँदा डराउँथे र हम्मेसी छेवै पर्दैनथे । तर, अब घण्टौं लगाएर, दिन वा साता बिताएर धाउँदै हेर्न आउने स्थान बनेको छ, त्यही डरलाग्दो ठाउँ ।

‘हेर्दाहेदै त्यो घाट यस्तो धाम बन्यो,’ हेटौंडा–९ का शम्भु न्यौपाने सम्झन्छन् । २०५२ अघिसम्म यो स्थान घाट र महादेवको जीर्ण मन्दिर थियो । सबै ‘मसानघाट’ भन्थे । गोठाला बस्तुभाउ चराउन जाँदा ‘मसान लाग्ने’ भन्दै परपरै हुन्थे ।

स्थानीय ६८ वर्षीय ईश्वरी न्यौपानेको अनरवत लगावकै कारण आज पवित्र तीर्थ स्थल बनेको छ । घाटलाई धाम बनाउन उनको सपनामा होस्टेमा हैंसे थपिदिए, दानवीर, स्थानीय तथा संघीय सरकारले । अहिले सयौंको संख्यामा तीर्थयात्रा आउने गरेका छन् । अन्य स्थान भ्रमणमा हि“डेकासमेत पूर्वपश्चिम राजमार्गबाट नजिक पर्ने हुनाले त्रिवेणीधाममा दर्शन गरेरमात्र जाने गरेका छन् ।

धामनजिकै घर भएका ६८ वर्षीय ईश्वरी न्यौपाने उज्यालो हुनुपूर्व नै यहाँ आइपुग्छन् । ‘कहाँकहाँ के के बनाउने भन्ने योजना दिउँसो सोचेको हुन्छु, बेलुकी सुत्नुअघि त्यसलाई लिपिबद्ध गर्छु,’ उनी भन्छन्, ‘जसले गर्दा योजनाबद्ध रूपमा काम गर्न सहज हुन्छ ।’

पूर्वजनप्रतिनिधि न्यौपाने अहिले राजनीतिक विश्राममा छन् । २०४९ वडा सदस्य र २०५४ मा हेटौंडा ९ का वडाध्यक्ष विजयी उनी जनप्रतिनिधि हुँदा यस’bout चिन्तनै गर्न भ्याएनन् । बहालवाल वडा अध्यक्ष हुँदै यो ठाउँको ऐतिहासिक जानकारी खोजकर्ता पण्डित देवीप्रसाद कोइरालाबाट पाए । त्यसपछि नै हो, न्यौपानेले मसान घाट धाम बनाउने योजना बुन्न थालेका ।

धाम बनाउने सपना सुरुवातमा ज्योतिष पण्डित केशवप्रसाद धितालको अध्यक्षता एकमहिने पाठपारायण लगाइयो । लगत्तै, कुष्माण्ड सरोवार त्रिवेणीधाम विकास समिति अध्यक्ष बनेका न्यौपानेले लोकप्रिय काम थालनी गरे । हाल, त्रिवेणीधामको चर्चा र पहिचान देशभर छ । साढे ७ बिघा क्षेत्रफलमा फैलिएको धार्मिकस्थल निर्माण गर्न तत्कालीन जिल्ला विकास समिति पर्यटन विकास समितिले तीन लाख उपलब्ध गराएको थियो । यो नै सरोवर निर्माणको जग हो । ‘सुरुमा कम्पाउण्ड वाल र शिलान्यासका लागि ७२ टीप ढुंगा उठाएका थियौं,’ कुष्माण्ड सरोवरलाई हालको स्थानमा ल्याउन आफूमाथि भौतिक आक्रमणसमेत भएको स्मरण गर्दै न्यौपाने भन्छन् ।


कुष्माण्ड सरोवर त्रिवेणी धाममा एकमहिने मकर मेला लाग्छ । रत्नावती, कर्णावती र कौशबाहीनीको संगमस्थलमा कुष्माण्ड सरोवर त्रिवेणीधाम स्थापना भएको हो । यहाँ विशेषगरी उत्तरबाहिनी नदीको मूलबाट १०८ गौमुखी धारामा स्नान गर्ने भक्तजनको भिड लाग्छ । सो धारा निर्माण प्रारम्भ स्थल परिवर्तन लोभलाग्दो छ ।

द्वापरयुग अन्त्यतिर पाण्डवहरू गुप्तबास बस्नेक्रममा रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को संगमस्थलमा स्नान गरेको स्कन्दपुराणमा व्याख्या गरिएअनुसार मकरमेला लाग्ने गरेको हो । यसै स्थानमा पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको धार्मिक विश्वास छ । माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्धिक्षेत्र, पाँच पाण्डवले श्राद्ध तर्पण गरेको, अम्वरिष राजाले भगवान विष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएकोलगायत रोग निदान भएको धर्मशास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको अध्यक्ष न्यौपाने बताउँछन् । तीन नदीको संगमस्थलका साथै उत्तरबाहिनी नदीका कारण पनि यस क्षेत्रमा आएर गरिने स्नानको विशेष महत्व रहेको छ ।

आकर्षणका विभिन्न माध्यम भएका कारण आवतजावत गर्नेको संख्या दिनहुँ बढिरहेको त्रिवेणीधाम विकास समिति अध्यक्ष न्यौपाने सुनाउ“छन् । पण्डित देवीप्रसाद कोइरालाको अगुवाइमा ‘कुष्माण्ड सरोवर त्रिवेणीधाम’ नामाकरण गरी २०६६ देखि मकर मेला लगाइ निर्माण प्रक्रिया सुरु गरिएको हो । कुष्माण्ड सरोवर त्रिवेणी धाम विकासका लागि विभिन्न समय लगाइएका धार्मिक कार्यक्रम तथा मेला–महोत्सवबाट उठेका रकमबाहेक संघीय सरकार, बाग्मती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिकालगायतले बजेट उपलब्ध गराइरहेका छन् ।

आकर्षण केन्द्र

यस क्षेत्रको विशेष आकर्षणका केन्द्र हुन्, १०८ गौमुखी धारा, बोटिङ, सिसमहल पार्कलगायत । कुष्माण्ड सरोवरमा हेटौंडाको इतिहास झल्काउने हेडम्बा नगरीको आकृति निर्माण गरिएको छ । त्रिवेणीधामका देशकै नमूना धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएका छन्, अध्यक्ष न्यौपानेले । पार्क भित्रि भागमा अवस्थित सिसमहल अर्को आकर्षणको केन्द्र हो । यहा“भित्रै पाँच पाडवले भगवतीलाई परिक्रमा गरिरहेको आकृति छ । यसै परिसरमा नेपालको नक्सा बोकेको महिलाको आकृति छ, जसले कोहीलाई लोभ्याउ“छ । परिसरमा रहेको नेपाल धर्तीमाताले नेपालको नक्सा बोकेर बसेको फोटो झनै आकर्षक छ । ‘हेटौंडा’ नामाकरण’bout ‘इतिहास बुझ्न सहज होस्’ भनेर यहाँ पाँच पाण्डव र हिडम्बालाई भिमसेनले आक्रमण गरिरहेको आकृति निर्माण गरिएको छ ।

आकर्षक पाटो

यहाँ लाग्ने विभिन्न मेला पनि आकर्षणका केन्द्र हुन् । जसले धार्मिक पर्यटकलाई आमन्त्रित गर्छ । हरेक वर्ष माघमा लाग्ने एकमहिने मकर मेलामा पुराणवाचन, बटुक सामूहिक व्रतबन्ध, प्रत्येक दिन पाठपारायण, नित्य पूजाआजा हुँदै आएको छ ।

यस स्थानमा कुष्माण्ड नवमीका दिन कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरेमा ‘पृथ्वी दान’ गरेबराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । मेलामा भक्तजनले कुभिण्डो र त्यसमाथि सुवर्ण (सुन) दान गर्नेको भिडै लाग्छ । भक्तजनलाई पापमुक्त गराउने माताका रूपमा कुष्माण्ड परिचित छिन् । उनै कुष्माण्डको नामबाट स्थापित कुष्माण्ड सरोवर त्रिवेणीधामले वर्षेनी मेला गर्छ । तीन नदीको संगममा रहेको यस ठाउँमा कुष्माण्ड नवमीका दिन भगवतीले तपस्या गरेर सिद्धि प्राप्त गरेको दिनका रूपमा विश्वास गरिन्छ ।

कुष्माण्ड भगवती मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, १ सय ८ गौमुखी धारा, कुष्माण्ड भगवती सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैंचा निर्माण गरिएका छन् । धामको एकछेउ पहिलेदेखि चल्दै आएको दाहसंस्कार व्यवस्थित गरेर निरन्तरता दिइएको छ । जहाँ दहासंस्कारका लागि स्थान बनाइएको छ भने क्रियापुत्री भवनसमेत छ ।

मेला मान्यता

कात्तिक शुक्ल नवमी कुष्माण्ड नवमी सत्य युगादी सुरुवात भएको दिन र कुष्माण्डा भगवतीले तपस्या गरी सिद्धी प्राप्त गरेको दिन मानिन्छ । यसैदिन तीर्थमा देवीदेवता आउने विश्वाससाथ १०८ धारामा स्नान गरी कुभिण्डोमा सुनको प्रतिमा राखी पहेंलो कपडाले छोपी दान गर्नाले आयु, आरोग्य, सुख शान्ति र मोक्ष प्राप्त हुने विश्वास छ । मकरसंक्रान्ति एवं माघमेला महिनाभर लाग्ने हुँदा ‘महापर्व’ मानिन्छ । सूर्य धनुबाट मकर राशिमा सरेर सो राशिमा रहेसम्म १ माघदेखि मसान्तसम्मको समयलाई ‘मकर मास’ भनिन्छ ।

१ माघबाट उत्तरायण प्रारम्भ हुन्छ । दक्षिणायनभन्दा उत्तरायणमा गरिने शुभकर्मबाट फल प्राप्त हुने धार्मिक मान्यता छ । सत्ययुगमा तप गरेको फल ‘मकर संक्रान्ति तथा मकर महिनामा स्नान, दान गर्दा पाउन सकिने’ शास्त्रमा उल्लेख छ । धाममा १८ पुराण तथा उपपुराणमध्ये ‘एक माघ एक महिनाभर’ पाठ परायण कथा प्रवचन, हवन, तपेण आदि गरिन्छ । माघमा गरिने कार्यलाई शास्त्रले विशेष महत्व दिएको छ ।
‘१०८ गौमुखी धारा र एक माता कुष्माण्डा भगवतीका पाउबाट प्रवाहित जलबाट स्नान गर्न मिल्ने ढुंगेधारासमेत गरी १०९ धारा व्यवस्था गरिएको छ । क्रियापुत्री भवनले स्थानीय आवश्यकता सम्बोधन गरेको छ । सरोवर परसरमै रहेका विश्रामस्थल, बगैंचा, हि“ड्ने स्थानमा गरिएको सजावट आकर्षक छन् । परिसरभित्र गौतम बुद्वको मूर्ति बनाउने योजना पनि छ । पार्कभित्र अतिथि गृह, स्नान गर्दा कपडा फेर्ने लकरसहित भवन, खानेपानी तथा सिंचाईलगायत व्यवस्था सुविधा छन् ।

उत्पत्ति
कुष्माण्ड सरोवर त्रिवेणी धाम धार्मिक मान्यताका आधारमा कुशको जराबाट उत्पत्ति भएको विश्वास छ । हेटौंडा उपमहानगरपालिका ९, १०, ११, १३ वडा सीमामा अवस्थित यो स्थान सनातन धार्मिक ग्रन्थ स्कन्द पुराणको हिमवत खण्ड, महाभारतको आदि पर्व, वनपर्व, वराह, वायुपुराणमा त्रिवेणी धामको महिमा वर्णन गरिएको छ ।

तीन नदीको संगम धामले नदी क्षेत्रको जग्गालाई संरक्षण गरेको छ । धामको पूर्वमा कर्रा नदी, पश्चिम तर्फ कौशवाही उत्तर वाहिनी नदी, उत्तरतर्फ रत्नवती, दक्षिणतर्फ व्यक्तिगत भोगचलनमा रहेको ऐलानी जमिन छ । यहाँ १०८ गौमुखी धारालगायत मन्दिर सरोवर आदि स्थापित छन् । गुरूयोजनाअनुसार थप निर्माण गर्न बाँकी रहेको ७ विगाह ५ कठठा् जमिन छ ।

२०५२ सालमा त्रिपुरेश्वर शिवालय स्थापना भई अस्तव्यस्त अवस्था यो क्षेत्रमा २०६६ सालमा विधिवत् कुष्माण्ड सरोवर त्रिवेणी धाम दर्ता र ५ जेठ २०६७ मा १०८ धारा शिलान्यास गरियो । २०६७ कात्तिक शुक्ल नवमी कुष्माण्ड नवमी २९ कात्तिकदेखि १०८ धारामा पानी ल्याइयो । सुरुमा पोलिथियन पाइपको धाराबाट पानी सञ्चालन गरी स्नान व्यवस्था गरियो ।

अनरवत लगाव र मेहनतपछि १ माघ २०६७ मा गौमुखी धाराबाट पानी प्रवाहित गरी स्नान कार्य थालनी गरियो । २२ असोज २०६७ शुक्रबार घटस्थापनाका दिन कुश्माण्ड भगवती स्थापना र नवरात्री पूजा तथा जमरा राखेर सुरुवात गर्दै २०७० मा भगवती मन्दिर पूर्ण र क्रमशः निर्माण गर्दै अघि बढ्दै छ । पुरानो बगरलाई पन्छाउँदै पन्छाउँदै व्यवस्थित गरिएको छ । नदिको आसपासमा हजार मिटरभन्दा बढी तटबन्धन भइसकेको छ । जसले आपसपासको खेतीको समेत सुरुक्षा गरेको छ । ३० वर्ष राजनीतिक भूमिकामा रहेका न्यौपाने, अहिले सबै दललाई समान मान्छन् । ‘मेरा लागि कुनै पनि दल ठूलो र सानो छैनन्, सबैका लागि यो धाम साझा बनाउन सकियोस्,’ उनी भन्छन्, ‘यहाँ राजनीतिक रङ दिन चाहन्न, मैले सबै दल र व्यक्तिको साथ पाएको छु ।’

बाँकी छन्, यी काम

धामको मुख्य आकर्षण सिसमहलमा पंखाले धान्ने अवस्था छैन । चिसो बनाउन एसी आवश्यक छ । अतिथि आउँदा पस्नै नसक्ने गर्मी छ । हेटौंडा उत्पत्ति, महत्व, पाँच पाण्डव सन्दर्भको इतिहास समेटेर वृत्तचित्र बनाउने योजना छ । वृत्तचित्रका लागि लेखन सामग्री आफैंले तयार गरेको तर बजेट माग गर्ने बेला बिरामी परेर योजना त्यसै थन्केको न्यौपान बताउ“छन् । अर्को योजना बुद्धमूर्ति निर्माण बाँकी छ । पार्कभित्र कम्तीमा १० फिट अग्लो बुद्धमूर्ति बनाउने योजना छ ।

सुरक्षा भवन बनाउन बाँकी छ । क्रियापुत्रीका लागि बनेको भवन व्यवस्थित गर्न बाँकी नै छ । दाहासंस्कार क्षेत्र, १०८ धारामा स्नान गर्नेलाई पोषाक फेर्ने कोठा व्यवस्थापन, लकरसहितको कोठा योजना भए पनि बजेट अभाव छ । स्नान गर्न आउनेलाई मोबाइल पर्स, पोषाक लकरमा राखेर सा“चो लिएर ढुक्कले स्नान गर्न वातावरण बनाउन सकिएको छैन । मुख्य बजारबाट धामसम्म पुग्ने बाटोको केही भाग स्याब गर्न बाँकी छ ।

हालसम्म ७ करोड लगानी

धामका लागि हालसम्म ७ करोड लगानी भइसकेको छ । धाम विकास भएसँगैै प्रत्यक्षअप्रत्यक्ष ५० जनाले रोजगारी पाएका छन् । नेतृत्वमा रहेको दलका नेताले कार्यकर्ताको आवश्यकता हेरे बजेट छर्ने परिपाटीका कारण समयमा विकास हुन नसकेको अध्यक्ष न्यौपानेको गुनासो छ । ‘नेतृत्वले सानो एउटा मन्दिर बनाए अलपत्र पार्ने हैन, केही व्यक्तिलाई रोजगार दिन सकियो भन्नेतर्फ ध्यान जानु आवश्यक छ,’ उनको जोड छ, ‘सदुपयाग हुने ठाँउमा लगानी गर्न सरकारले ध्यान दिओस् ।’

यद्यपि, धार्मिक तथा पर्यटकीय विकास हुनुपर्ने आवश्यकता मनन गर्दै भक्तजनले स्वतस्फुर्त मन्दिर, प्रतिक्षालय, ब्रम्हकुण्ड, बस्ने कुर्सीमा लगानी गरेका छन् । देश संघीयतामा आएसँगै स्थानीय सरकार (हेटौंडा उपमहानगरपालिका) बाग्मती प्रदेश सरकार र संघीय सरकारले सीमित सहयोग गरेको देखिन्छ ।

‘ठूला र चौडा सडक, आठ/दसतले घरमात्रै विकासको सूचक हैनन्, प्रदेशको राजधानीमा आकर्षण गर्ने स्थान पनि चाहिन्छ । प्रदेशको राजधानी मकवानपुर प्रवेश गरेपछि आफ्नो काम सकेर घुमफिर र केही ज्ञान लिन सकियोस् भन्ने हेतु लगानी गरिनुपर्छ,’ अध्यक्ष न्यौपाने भन्छन्, ‘मकवानपुर हेटौंडाबाट पूर्वमा रहेको मकवानपुरगढी दरबार तथा दक्षण पूर्वमा रहेको मूर्तिपार्क, पश्चिममा रहेको शहीद स्मारक, उत्तरमा रहेको पर्यटकीय नगरी थाहा नगरपालिका तथा पूर्वी उत्तरमा रहेको चिसापानी गढी र दक्षिणमा रहेको चुरियामाइ मन्दिर तथा सुरुङ मार्गलाई स्थानीय सरकारले पर्यटन रुटका रूपमा विकास गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 677 times, 1 visits today)

epaper

ताजा समाचार

लेटाङमा १२ वर्षीया छोरी करणी गरेको अभियोगमा बुबा पक्राउ