काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण पूर्वी एसियाली देशमा कोरोना भाइरसको महामारी फैलन सक्ने चेतावनी दिएको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको हो ।
संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बनेकाले तत्काल कोरोना भाइरसविरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्ने उसको भनाइ छ । डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिनका लागि अपनाउने सावधानीहरुलाई बढाउन आग्रह गरेकी छन् ।
डब्लुएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रुपमा परिभाषित गरेका ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । थाइल्याण्डमा सबैभन्दा धेरै १७७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै इन्डोनेशियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँचजनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल र भुटानमा एक–एकजनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ ।






