जुम्ला । गत ३ असारमा पूर्वी रुकुममा सम्पन्न चौथो गुरिल्ला अल्ट्रा म्याराथनमा १९ वर्षे ठिटोको कुदाइले चकित बनायो । ६२ किलोमिटर दूरीको दौडमा बाजी मार्ने १९ वर्षीय कलिला ठिटो थिए, जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँका दलबहादुर कुँवर ।
१ सय जना प्रतिस्पर्धीको भिडलाई पछि पार्दै ६२ किलोमिटरको दूरी ५ घण्टा ५३ मिनेट २ सेकेन्डमा पूरा गरी प्रथम भए । दलबहादुर जुम्लास्थित कर्णाली स्पोर्ट क्लबमा आबद्ध भएको एक महिना मात्रै पुगेको थियो ।
विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले प्रशिक्षण गरिरहेको क्लबबाट प्रतिनिधित्व गरेर दौडमा होमिएका दलबहादुर दौडकै लागि जन्मिएका हुन् भन्दा फरक नपर्ला ।
सन् १९९७ देखि २००१ सम्म लगातार तीनपटक एभरेस्ट म्याराथन जितेर विश्व कीर्तिमानी राखेका धावक हरिबहादुर रोकायाको प्रशिक्षणमा दलबहादुरले निरन्तर अभ्यास गरिरहेका छन् । दौडमा बाल्यावस्थादेखि नै रुचि भए तापनि परिवार, विद्यालय र समाजले उनको प्रतिभा बुझ्न सकेको थिएन ।
तर, उनी दौडेरै कुनैबेला परिचित हुने दाउमा थिए । गाउँमा बस्दा पनि उनी एकाबिहानै धार्मिक तीर्थस्थल भरिचुला हिमालमा दौडेरै पुग्थे । रेडियोमा थोरै अल्ट्रा म्याराथन’bout सुनेका दलबहादुरलाई यति मात्रै थाहा थियो कि दौडका लागि तालिम आवश्यक छ ।
त्यसैले भुरिचुला उनको टे«निङ सेन्टर बन्यो । हिउँद वर्षा उनी दौडेर भुरिचुला चुचुरोमा पुग्थे, जुन समुन्द्री सतहबाट ४ हजार मिटरको उचाइमा छ । घरबाट निस्केपछि दौडको गन्तव्य भुरिचुला भए पनि लक्ष्य भुरिचुलासम्म मात्रै थिएन । अवसर आए राष्ट्रियस्तरमा तहल्का पिट्ने उनको चाहना थियो ।
दैनिक भुरिचुला पुग्ने दलबहादुरको कैयौंपटक जंगली जनावरसँग जम्काभेट पनि हुन्थ्यो । हाई अल्टिच्युटमा हुने कस्तुरी र नेपालको राष्ट्रिय पक्षी डाँफे देख्ने बिरलै छन् । तर, दलबहादुर कस्तुरी र डाँफेसँग लुकामारी खेल्थे ।
एक्लै दौडिरहँदा अन्य हिंस्रक जनावर पनि भेटिन्थे । ‘सामान्य परिवारमा जन्मिएको मान्छे ठूलो लगानीमा पढ्ने वातावरण छैन तर सिंगो ज्यान नै दाउमा राखेर दौडका लागि एक्लो अभ्यास गरिरहें,’ दलबहादुरले राजधानीसँग भने, ‘भुरिचुलाजस्तो अग्लो भिरमा गरेको अभ्यासले प्रतिस्पर्धीलाई १ घण्टा पछि पार्दै विजयको माला पहिरिन मद्दत पु¥यायो,’ द्वितीय स्थान ल्याउने रुकुमका युवा दलबहादुर भन्दा १ घण्टा पछि ६२ किलोमिटर पार गरेका थिए ।
रुकुमको दौडमा दलबहादुरको गति देखेर कतिपयले जिज्ञासा पनि व्यक्त गरे, उसले कुन मुलको पानी खायो होला भनेर । दलबहादुर प्रथम हुनुमा भुरिचुलाको उकाली ओरालीमा गरेको संघर्षको देन छ । ‘अन्य काममा खासै रुचि जाँदैन, दौड भनेपछि भोक तिर्खा पनि हराउँछ, म दौडकै लागि जन्मिएको हो कि भन्ने लाग्छ,’ दलबहादुरले सुनाए ।
जुम्लाको दुर्गम भेरिखोलामा जन्मिएर कलिलो उमेरमै राष्ट्रियस्तरको अल्ट्रा म्याराथनमा प्रथम भएको देख्दा निकै गर्भानुभूति भएको दलबहादुरका बाबु गोर्ख कुँवरले बताए । तातोपानी गाउँपालिकाले उदयमान धावक दलबहादुर कुँवरलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
‘कलिलो उमेरमै राम्रो लक्षण देखाएका छन्, आगामी खेल जीवन चम्किलो हुने भन्ने विश्वास लिएका छौं, निरन्तरताको कामना गर्दछौं,’ तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले भने । सम्पूर्ण किशोरकिशोरीका लागि दलबहादुर प्रेरणाको स्रोत बनेको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताए ।






