काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् ।
सभामुख सापकोटाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल राखेकामा मनमुटावको प्रभाव देखिएको छ । अध्यक्ष तिमिल्सिनाले सो बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएर असन्तुष्टि जनाए । उनले राष्ट्रिय सभाअन्तर्गतका समिति सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिएको बताइएको छ ।
‘अध्यक्षज्यूले कार्यवाहक महासचिवको विषयमा सरसल्लाह भएन भनेर भन्नुभयो,’ राष्ट्रिय सभाको दिगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले भनिन् । अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापति नआउने भएपछि सभामुख सापकोटाले बुधबारको बैठक स्थगित गरेका छन् ।
सभामुख सापकोटाले २ चैतमा प्रतिनिधिसभाका सचिव योगीलाई ‘संघीय संसद्को महासचिव भई कामकाज गर्न तोकेको’ पत्र दिएका थिए । सो पत्रमा ‘राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यवाहक तोकिएको’ भन्ने उल्लेख थियो ।
आफूसँग परामर्श नगरी, पत्रमा गरेको भनेकामा तिमिल्सिनाले सभामुख सापकोटासँग आपत्ति जनाएका हुन् । योगीलाई कार्यवाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।
‘सभामुख सापकोटासँगको भेटमा अध्यक्षज्यूले आफूसँग परामर्श नगरी योगीलाई कार्यवाहक तोकिएकामा आपत्ति जनाउनुभयो,’ अध्यक्ष तिमिल्सिना निकट स्रोतले भन्यो ।
स्रोतका अनुसार अध्यक्ष तिमिल्सिनाले महासचिवको योग्यतामा उल्लेख भएको उमेरको विषय र कानुनी प्रश्न हेर्न मात्रै भनेका थिए । योगी प्रतिनिधिसभाको सचिव बन्दा पूर्वमाओवादीले सिफारिस गरेको थियो । संघीय संसद्को महासचिव र सचिवको नियुक्ति तथा योग्यतासम्बन्धी कानुनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ । योगीको उमेर ४५ पुग्न अझै १५ महिना बाँकी छ । पूर्वएमालेको सिफारिसमा राष्ट्रिय सभा सचिव बनेका राजेन्द्र फुयाँल पनि ४५ वर्ष पुगेका छैनन् । उनी अहिले ४१ वर्षका मात्र छन् ।
आफ्नो सिफारिसमा नियुक्त सचिवको योग्यतामा उमेर बाधक बनेपछि पूर्वएमाले वृत्तमा बाहिरबाट महासचिव नियुक्त गर्नुपर्ने मत बलियो रूपमा उठेको छ ।
स्रोतका अनुसार संघीय संसद्को महासचिव बन्ने दौडमा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी छन् । कानुनमा स्नातकोत्तर गरेका अधिकारीलाई महासचिव बनाउन राष्ट्रपतिले नेताहरूसँग परामर्श थालेको स्रोतले बतायो । संघीय संसद् सचिवालयका दुई सचिव भरतराज गौतम र ध्रुव घिमिरे महासचिवको दौडमा छन् । मनोहरप्रसाद भट्टराईले महासचिवबाट अवकाश पाएपछि अहिले सो पद रिक्त छ ।
प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल र अधिवक्ता टीकाराम भट्टराईको महासचिवका रूपमा चर्चा छ । स्रोतका अनुसार भट्टराईले सभामुखमा सापकोटालाई चयनको विरोध गरेकाले उनको सम्भावना छैन । दाहालको नाम चर्चामा भए पनि उनी प्रत्यक्ष लबिङमा जुटेका छैनन् । संघीय संसद् सचिवालयका दुई सचिवले भने बाहिरबाट महासचिव ल्याइए असहयोग गर्ने प्रस्ट सन्देश प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई दिएका छन् ।
‘२५ वर्ष काम गरेका कर्मचारीलाई महासचिव नबनाउने हो भने कर्मचारीले के आधारमा काम गर्छन् ?’ सचिवालयका सचिवहरूले सभामुख र अध्यक्षसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँहरूले बाहिरबाट ल्याइए असहयोग गर्ने बताउनुभएको छ ।’
सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवादको असर संघीय संसद्को महासचिव नियुक्तिमा परेको छ । पूर्वमाओवादी पक्षले योगीलाई १५ महिना कार्यवाहक तोकेर पछि महासचिवमा नियुक्ति गर्ने तयारी गरिरहेको छ । पूर्वएमाले पक्षधर भने महासचिवमा पूर्वमाओवादीलाई रोक्न जुटेको छ ।
अध्यक्ष तिमिल्सिनाले सापकोटासमक्ष १५ महिनासम्म कार्यवाहकले संसद् सचिवालय चलाउन नहुने कुरा स्पष्ट शब्दमा राखेको स्रोतको भनाइ छ । उनले पार्टीका दुई अध्यक्ष र राष्ट्रपतिसँग परामर्श गर्नुपर्ने मत सापकोटासँग राखेका छन् । ‘महासचिव नियुक्ति प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले गर्ने हो । त्यसमा राष्ट्रपतिको पनि केही छ कि बुझ्नुपर्छ,’ सापकोटासँग तिमिल्सिनाको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले मात्र निर्णय गर्ने हो भन्ने नठान्नुस् । हस्ताक्षर तपाईंले गर्ने हो । तर, राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधिसभाको सभामुख भनेको बराबरी हो ।’
सापकोटाले कार्यवाहक चयन गर्दा सोधखोज नगरेकामा नेकपा संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ असन्तुष्ट छन् । उनले ४५ वर्ष उमेर पुगेको व्यक्ति संसद्को महासचिव हुन योग्य हुने अवस्था हुँदा हुँदै योगीलाई कार्यवाहक तोकिएकामा विरोध जनाएका छन् ।
पूर्वमाओवादी खेमाले संविधानसभा निर्वाचनअघि मनोहरप्रसाद भट्टराईलाई झन्डै दुई वर्ष नेम्वाङले कार्यवाहक महासचिव बनाएको नजिर देखाएको छ । ‘त्यतिबेला पनि निमित्त वा कार्यवाहक भनेर नेम्वाङले नियुक्ति नदिएर महासचिवका रूपमा कामकाज गर्ने भनेर दिनु भएको थियो,’ सभामुख सापकोटा निकट एक नेताले भने, ‘अहिले उहाँले विरोध जनाउनुको अर्थ छैन ।’
महासचिवका रूपमा कामकाज गर्न नेम्वाङले भट्टराईलाई तोकेका बेला संसद्को कार्यसूचीमा ‘कार्यवाहक महासचिव’ उल्लेख गरेका थिए । त्यही नजिरका आधारमा पछिल्ला दुई राष्ट्रिय सभा बैठकको कार्यसूचीमा योगीलाई कार्यवाहक महासचिव भनेर सम्बोधन गरिएको छ ।
नेम्वाङले भने विगतको नजिरको दुरुपयोग भएको बताएका छन् । ‘एक जनाले एउटा पसलबाट रेडियो चोरेछ । पन्ध्र दिनसम्म कोही खोज्न आएनछ । त्यसपछि पनि उसले मोबाइल चोरेछ । यसपटक प्रहरीले पक्रिएछ,’ उनले भने, ‘चोरले पहिला चोर्दा कारबाही नभएको नजिर देखाएर अहिले कारबाही गर्न मिल्दैन भनेछ ।’
विगतमा दुई सदन नरहेको, प्रतिनिधिसभा र राष्ट्रिय सभामा सचिव नरहेको र संसद् सचिवालयतर्फ पनि एक मात्र सचिव रहेको अवस्थाको नजिर अहिले प्रयोग गर्न नमिल्ने तर्क नेम्वाङको छ । सभामुख पद पूर्वमाओवादीले पाएका कारण महासचिव छाड्न नहुने मत पूर्वएमालेमा छ । पूर्वमाओवादीतर्फ भने अहिले सभामुख भएका बेला महासचिव छाड्न नहुने मत छ । संविधानमा महासचिव नियुक्ति गर्दा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले गर्ने उल्लेख छ ।






