बालविवाह नियन्त्रण गर्न नयाँ विकल्पको खोजी गर

बालविवाह नियन्त्रणका कुरा केवल नारा, ऐन, कानुन र भाषणमा मात्र सीमित भएको कुरा इलाम जिल्लाको सदरमुकामको एक विद्यालयमा पढ्दै गर्दा प्रेमविवाह गरेकी तर हाल सम्बन्ध विच्छेद गरी पुनः अध्ययनमा फर्किएकी किशोरीको जीवन व्यवहारले प्रस्ट पारेको छ । कक्षा ८ मा पढ्दै गरेकी एक १४ वर्षीया किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरी २ महिनापछि सम्बन्ध बिच्छेद गरी अर्को विद्यालमा भर्ना भएर कक्षा ८ मै अध्ययनलाई निरन्तरता दिन थालेको यथार्थताले सबैको आङ सिरिङ बनाउँछ । बालविवाहको यो एउटा उदाहरणले नेपाली समाजमा बालविवाह नियन्त्रण गर्न सम्बन्धित सबै पक्षहरू उदासीन रहेको यथार्थतालाई बाहिर ल्याएको छ । २१औं शताब्दीमा पुग्दा पनि र नेपालबाट निरक्षरता उन्मूलन भइसक्यो भनेर घोषणा गरिसक्दा पनि नेपाली समाजमा रहेको सांस्कृतिक विसंगति उजागर गर्ने घटनाको निरन्तरता हो यो । घटनाहरूको निरन्तरतालाई कोट्याउँदै जाँदा सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरी एक वर्ष नबित्दै आमा बनेकी र श्रीमानको हिंसाका कारण अलपत्र परेकी छन् । आफू खुसी विवाह गरेको भनी माइतीले बेवास्ता गरेपछि मानवअधिकार मञ्च इलामले आमाछोरीको उद्धार गरी सेल्टरमा राखेको छ ।

बालविवाह अहिले पनि समाजको एउटा रोगजस्तै बनेर रहेको छ । सानै उमेरमा प्रेम विवाह गर्ने, सोच र एकतामा बालोपन रहने, घरपरिवारले स्वीकार नगर्ने, माइतीले माइत नभिœयाउने, समाजले खिसिटिउरी र हेलाहोचो गर्ने आदि कारणले किशोरी चेली अलपत्र पर्ने र कतैकतै त आत्महत्याको बाटो रोज्ने गरेको पनि देखिन्छन् । नेपाली समाज आफैं र आफ्नैपनमा विकास हुँदै अघि बढ्न पाएको छैन । पहिले पहिले छोरीचेली किशोरी नहुँदै कन्यादान गर्ने नेपाली समाज पछिल्लो समयमा आएर केही सचेत र सजग हुँदै जान थालेको थियो पनि । बालविवाह रोक्ने सचेतनाका अभियानले गति लिने र सकारात्मक प्रभाव पार्दै जाने पनि गरिरहेका थिए । तर, पछिल्लो समयमा व्यापक बनेर आएको सूचना प्रविधि र त्यसमा पनि सामाजिक सञ्जालले नेपाली समाज रूपान्तरणको आफ्नो मौलिकतामा पारेको प्रभावका कारण यसले भिन्न मोड र संकेतहरू दिँदै गएको देखिन्छ । कतिपय नेपाली गीत तथा फिल्म र विदेशी देखासिकीले पनि यस्ता सामाजिक दुर्घटनामा बल दिने गरिरहेको छ । सबैका हातहातमा मोबाइल छन् । कुन कुरा आफ्नो हितकर र कुन कुरा आफ्नो अहितकर छ भन्ने कुरा छुट्याउने प्रौढता बालबालिकामा देखिँदैन । हुन सक्ने कुरा पनि भएन ।

बालबालिकाले विद्यालय उमेरमै प्रेम गर्दै विवाह गर्ने लहर बढेर गएको छ । ‘लहडको विवाह’ उनीहरूको जीवन र भविष्यका लागि निकै अन्योल र कष्टकर बनेर देखापरिरहेको छ । कानुनले ‘विवाहवारी २० वर्ष पारी’ भने पनि बाल तथा किशोरावस्थामै विवाह गर्ने गरेका कारण दाम्पत्य सम्बन्धमा दरार उत्पन्न हुने र सम्बन्ध बिच्छेद हुने क्रम बढेर गएको छ । २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था भए पनि बढ्दो सञ्चार तथा सामाजिक सञ्जाल प्रयोगका कारण बालबालिका तथा किशोरकिशोरी प्रेमजालको अज्ञानतामै फस्ने गरिरहेका छन् । यसले सामाजिक अराजकता, भद्रगोल, गरिबी, उदासिनता, तनाव, सामाजिक अस्तव्यस्तता, झैंझगडा र हत्या तथा आत्महत्याको समस्यालाई बढाएर लगिरहेको छ । त्यसैले नयाँ परिस्थितिमा सिर्जना भएका बालविवाहका समस्या समाधानका लागि नयाँ विकल्पको खोजी गर ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ