सिद्धान्त र व्यवहारको हाम्रो राजनीति

राज्य सञ्चालन गर्ने नीति वा राजनीति, नीतिमध्येको सर्वश्रेष्ठ हो । राजनीतिभित्रै अन्य अनेकौं नीतिको सम्मिश्रण हुने भएकाले यसलाई सर्वश्रेष्ठ नीति मानिएको हो । सामान्य शब्दमा राजनीति भन्नाले राज्यको शासन व्यवस्था तथा प्रशासन चलाउने नीति वा त्यस्तो गतिविधि भन्ने बुझिन्छ । राज्यसत्ता वा शक्ति प्राप्त गर्न कुनै व्यक्ति वा समूहले सञ्चालन गर्ने गतिविधि वा विविध किसिमको दाउपेचलाई पनि राजनीति भनिन्छ । राजनीतिभित्रै पर्ने अन्य प्रमुख नीतिमध्ये मुलुकको आर्थिक कारोबारका सम्बन्धमा सरकारले अवलम्बन गर्ने अर्थनीति, जसले देशको उत्पादन, वितरण र व्यापारलाई व्यवस्थित गर्छ ।

यस्तै, अन्य राष्ट्रसँग सम्बन्ध स्थापित गर्ने परराष्ट्रनीति, मित्रराष्ट्रहरूबीचको पारस्परिक सम्बन्ध एवं मित्रता अक्षुण्ण बनाउन अपनाइने कूटनीति तथा यस्तै विकासवादी नीति, सुधारवादी नीति, समाजवादी नीति आदि अनेकौं नीतिहरू पनि राजनीतिभित्रै सम्मिश्रित भएका हुन्छन् । राजनीतिलाई सर्वश्रेष्ठ नीति मान्नुको तात्पर्य पनि यही हो ।

सिद्धान्त र व्यवहार राजनीतिका दुई अलग अलगै पाटा हुन् । यी दुई एक अर्काका पूरक मात्र होइनन्, अभिन्न अंग नै हुन् । राजनीतिक सिद्धान्त भन्नाले अर्थ, तर्क, प्रमाण, प्रयोग, परीक्षण आदिद्वारा सिद्ध गरिएको विचार वा दर्शन भन्ने बुझिन्छ भने राजनीतिक व्यवहार भन्नाले सिद्धान्तलाई व्यवहारमा उतार्न व्यक्ति वा समूह विशेषले अपनाउने कार्यशैली भन्ने जनिन्छ । यसैले निर्विकल्प नभए पनि सामान्यतया राजनीतिक सिद्धान्त अपरिवर्तनीय हुन्छ भने राजनीतिक व्यवहार प्रयोगकर्ताकै कार्यशैलीसँग सम्बन्धित हुने भएकाले परिवर्तनीय हुन्छ ।

तर, सिद्धान्तको सीमा नाघी व्यक्तिगत व्यवहारमा आधारित हुने राजनीतिक व्यवहार आफैंमा गैरराजनीतिक बन्न पुग्छ । यस्तो राजनीतिक व्यवहार सिद्धान्त विमुख हुन्छ । सिद्धान्तको राजनीतिमा हाम्रो मुलुक अगाडि छ । विश्वचर्चित राजनीतिज्ञद्वारा प्रतिपादित अनेकौँ राजनीतिक सिद्धान्त मुलुकमा प्रयोग हुँदै आएका छन् । यसलाई समयानुकूल बनाउन सामान्य हेरफेर गर्ने अथवा सिद्धान्त नै पुरै परिवर्तन गर्ने वा युगानुकूलको नयाँ राजनीतिक सिद्धान्त नै प्रतिपादन गरी प्रयोगमा ल्याउने कुरालाई सामान्य मानिन्छ ।

तर, राजनीतिक सिद्धान्तलाई यथावस्थामै व्यवहारमा प्रयोग नगरी प्रयोगकर्ताकै स्वार्थअनुकूलै प्रयोग गरिए विकृति निम्तिन्छ । राजनीतिक विकृतिले आधारभूत सिद्धान्तलाई नै ओझेलमा पा¥यो भने त्यो मुलुकका निम्ति अभिशाप बन्छ । हाम्रो राजनीतिक व्यवहार अहिले यही अवस्थामा पुगेको छ ।

स्वार्थकेन्द्रित स्वेच्छाचारी व्यवहार शिखरमा पुग्दा त्यसैको नकारात्मक प्रभावले मुलुकको सबै क्षेत्रलाई प्रभावित पारेको छ । यद्यपि, विश्वका अधिकांश मुलुकमा करिब ४ सय वर्षपहिले प्रतिपादित भएका राजनीतिक सिद्धान्त नै सामान्य हेरफेरसहित प्रयोगमा ल्याइएको छ । विश्वको अन्य विविध क्षेत्रमा प्रगतिको उथलपुथल भए पनि नयाँ राजनीतिक सिद्धान्त प्रतिपादित हुन सकेको छैन । यस पृष्ठभूमिमा नेपालका राजनीतिज्ञद्वारा नवीनतम सिद्धान्त प्रतिपादित हुने सम्भावना छैन । अहिले विश्वमै युगानकूलको प्रभावकारी एवं उदारवादी नवीनतम राजनीतिक सिद्धान्त आवश्यक देखिएको छ । जसले परिवर्तित परिवेश अनुकूल जनभावनालाई सम्बोधन गर्न सकोस् ।

जनभावनालाई सिद्धान्तमा मात्र होइन, व्यवहारमा उतार्ने परिष्कृत राजनीतिक सिद्धान्त प्रतिपादन गरी अब लागू गराउनुपर्छ । सिद्धान्तलाई प्रयोगकर्ताको स्वार्थले प्रभावित बनाउनुहुँदैन । यस सन्दर्भमा मुलुकमा प्रयोग हुँदै आएको राजनीतिक सिद्धान्त, त्यसलाई व्यवहारमा उतार्ने नेताको कार्यशैली’bout पनि संक्षिप्त चर्चा गर्नु उपयुक्त हुन्छ ।

सिद्धान्तको सीमा नाघी व्यक्तिगत व्यवहारमा आधारित हुने राजनीतिक व्यवहार आफैंमा गैरराजनीतिक बन्न पुग्छ

पुँजीवाद होस् वा साम्यवाद एवं समाजवाद विश्वमा प्रयोग भइरहेका यी राजनीतिक सिद्धान्तको जड परम्परागतै हो भन्नुमा अत्युक्ति हुँदैन । किनकि, त्यसैको मार्गचित्रमा आधारित राजनीतिक सिद्धान्त नै सामान्य सुधारका साथ अहिले प्रयोग भइरहेको छ । यसमध्ये पनि पुँजीवादी, लोकतान्त्रिक समाजवादी वा लोकतान्त्रिक साम्यवादी सिद्धान्त सबैभन्दा उत्कृष्ट मानिएको छ । तर, त्यसमा पनि संगठनात्मक एवं प्रयोगात्मक विकृति नभएको होइन । उत्कृष्ट मानिएका सिद्धान्तभित्रै हुने कतिपय छिद्राले व्यक्ति विशेषलाई सर्वाधिकार सम्पन्न बनाउने तथा त्यसैको आडमा व्यक्तिको स्वेच्छाचारिताले सीमा नाघ्ने, सर्वसत्तावादी र हैकमवादी प्रवृत्ति विकसित हुने गर्छ ।

लोकतान्त्रिक उदारवादले एकल व्यक्तिमै सर्वाधिकार सम्पन्न बनाए, त्यसैको आडमा व्यक्तिको स्वेच्छाचारिताले सीमा नाघ्दा सर्वसत्तावादी र हैकमवादी प्रवृत्ति विकसित हुन्छ । हाम्रो परिप्रेक्ष्यमा लोकतान्त्रिक उदारवादले एकल व्यक्तिमै सर्वाधिकार सुम्पँदा यस्तो विकृति देखिएको छ । चेक एन्ड ब्यालेन्सको राज्य संयन्त्र फितलो बन्दा व्यक्तिको एकाधिकारले सीमा नाघ्यो, कानुन हातमा लियो, राज्यको सर्वोच्च शक्ति आफैंलाई ठान्यो । यो अवस्था त नेपालमा बराबर देखिँदै आएको छ । यो राजनीतिक सिद्धान्त होइन, व्यवहारजन्य विकृति हो ।

परम्परागत राजनीतिक सिद्धान्तले परिवर्तित जनभावनालाई सम्बोधन गर्न नसक्ने तथा त्यसको संगठनात्मक एवं प्रयोगात्मक प्राविधिक समस्या हल गर्ने नेताहरू नै अनिच्छुक बन्ने अहिलेको मुख्य राजनीतिक समस्या हो । यस्तो सैद्धान्तिक एवं व्यावहारिक कमजोरीले नेतालाई उल्टै शक्ति प्रदान गर्छ, स्वेच्छाचारी बन्न सघाउ पु¥याउँछ, आफैंलाई सर्वोच्च निर्णायक शक्ति ठान्ने अवस्थामा पु¥याउँछ ।

सिद्धान्तमा निहित कमजोरी हटाई प्रक्रियागत सुधार गरिए आप्mनै स्वेच्छाचारितामा ठेस पुग्ने तथा सर्वाधिकार सम्पन्न हुन नपाइने तथा आपूm कमजोर भएको अनुभूति हुने ठानी त्यसमा समसामयिक व्यावहारिक सुधार ल्याउन नेता नै चाहँदैनन् । लोकतन्त्र स्थापित भएयताकै हाम्रो राष्ट्रिय राजनीतिले बराबर यही परिदृश्य देखाउँदै आएको छ । संविधानतः सर्वोच्च शक्तिको स्रोत जनता भए पनि व्यवहारमा सर्वोच्च शक्तिको स्रोत नेता नै बनेको दृष्टान्त पनि यही हो ।

व्यवस्था आफैंमा सफल हुँदैन । व्यवस्था सफल बनाउन यसको प्रयोगकर्ता नेताको कार्यशैली र व्यवहार पनि पूर्ण रूपमा सैद्धान्तिक मार्गदर्शनभित्रै रहेको हुनुपर्छ । नेता सकारात्मक सोचका साथ जनसेवामा जुट्नुपर्छ । देश र जनताको हितलाई सर्वोच्च ठान्नुपर्छ । व्यवहार र कार्यशैली कानुनसम्मत हुनुपर्छ । विधिले राज्य चलाउनुपर्छ । कानुनी सर्वोच्चता व्यवहारमा स्थापित हुनुपर्छ । सरकार, संसद् र न्यायालय निम्जो होइन, एक अर्काको वाचडगको भूमिकामा सशक्त बन्नुपर्छ । राज्यले स्वच्छ र पारदर्शी सेवा प्रदान गराउनुपर्छ । यो अवस्थामा राज्य सञ्चालित भए व्यवस्था सफल बनेको प्रमाणित हुन्छ । यस्तै, स्वच्छ एवं पारदर्शिताको कसीमा परीक्षित सर्वमान्य राजनीतिक सिद्धान्त नै हाम्रो मुलुकमा पनि अहिले लागू भइरहेको छ । तथापि, नेताकै कार्यशैली र स्वेच्छाचारी व्यवहारले यसलाई कुरूप बनाएको कारण जनहितकर बन्न सकेको छैन ।

राज्य व्यक्तिको स्वेच्छाचारिताले होइन, विधि र सिद्धान्तमा चलाउनुपर्छ । यसको सकारात्मक दृष्टान्तका लागि स्थानीय सरकार मानिने राजधानीस्थित काठमाडौं महानगरपालिकाको पछिल्लो कार्यलाई लिन सकिन्छ । स्थानीय सरकारको नेतृत्व सक्षम, दक्ष र पारदर्शी भए उपलब्धि हात पर्न समय लाग्दैन भन्ने संकेत मेयर बालेन साहको कदमले पुष्टि गरेको छ । मेयर साहकै कार्यशैलीलाई सबै प्रदेशका मुख्यमन्त्री र मुलुककै कार्यकारी प्रधानमन्त्रीले मात्रै अनुशरण गर्ने हो भने लोकतन्त्र जनहितकर बन्छ । मुलुक प्रगतिपथमा लम्कन्छ । नेताको स्वेच्छाचारिताको अन्त्य हुन्छ ।

राजनीतिक सिद्धान्त नै व्यवहारमा लागू हुन्छ । तर, अहिलेको संघीयदेखि प्रदेश र स्थानीय सरकारमा रहेकै अधिकांश व्यक्ति आप्mनो हित छाडेर देश र जनताको हितमा कार्य गर्न चाहँदैनन् । सिद्धान्तमा भन्दा स्वेच्छाचारितामा प्रशासन सञ्चालन गर्न चाहन्छन् । यसको कारण’bout पनि संक्षिप्त चर्चा नगरिए यो स्तम्भ अधुरो हुन सक्छ । यसैले, नेताद्वारा प्रदर्शित स्वार्थमा आधारित विद्यमान राजनीतिक व्यवहारलाई पनि हेरौं ।

स्वेच्छाचारितालाई चुनौती दिने, स्वच्छ र पारदर्शी जनमैत्री राजनीतिक व्यवहार स्थापित गराइए त्यो आप्mनो लाभविपरीत हुन्छ भन्ने मानसिकताका नेता स्थानीय तहदेखि संघीय तहसम्म छन्

वास्तवमा राजनीतिक सिद्धान्तले वैयक्तिक लाभलाई हेर्दैन, स्वेच्छाचारिता मान्दैन, हैकमवादलाई गन्दैन, व्यक्तिलाई सर्वोच्च ठान्दैन, अराजकता स्विकार्दैन तथा परिवारवाद र नातावाद र नाता सम्बन्ध भन्दैन । तर, नेताको गलत कार्यशैली र व्यवहारले यी सबैलाई प्रश्रय दिन्छ । मलजल गर्छ । झाँगिन, मौलाउन सहयोग पु¥याउँछ, त्यसैभित्र रमाउँछ । त्यसैबाट लाभ प्राप्त गर्छ । आफन्त र सहयोगीको पनि उद्धार गर्छ । जनतालाई भने यथावस्थामै खुम्च्याएर राख्छ तथा मुलुकलाई उल्टै हानी पु¥याएर आफैं सुखी र सम्भ्रान्त बन्छ । राजनीतिक सिद्धान्तलाई व्यवहारमा परिणत गर्ने दायित्व लिएका नेताकै सिद्धान्त प्रतिकूल व्यवहार हाबी हुँदा पछिल्लो समयमा राष्ट्रिय राजनीति अवसरमा परिणत भएको छ । राजनीतिप्रतिको आकर्षणको मुख्य रहस्य नै यही हो । अवसरले नेतामुखी लाभलाई सर्वोच्च ठान्छ । देश र जनताको स्वार्थलाई गौण मान्छ । आप्mनो परिवारको मात्र होइन, आफन्तकै स्वार्थलाई सर्वोच्च ठान्छ ।

यसैगरी, स्वार्थप्रेरित दायित्वले आपराधिक प्रवृत्तिसँग हातेमालो गर्छ । अप्राकृतिक साँठगाँठ र सम्झौता गर्छ । यसको परिणाम मुलुकमा तस्करी र भ्रष्टाचार मौलाउँछ । गैरकानुनी कार्य गर्ने पुरस्कृत हुन्छन् । राजनीतिमा अपराधीकै हालिमुहाली हुन्छ । केन्द्रदेखि स्थानीय तहसम्म विकृति फैलन्छ । यति मात्र होइन, अपराधिक प्रवृत्ति संस्थागत रूपमै सुदृढ बन्छ । राष्ट्रिय राजनीति नै तस्कर र भ्रष्टको पकडमा पर्छ । राज्यले नियन्त्रणमा राख्नुपर्ने तस्कर र भ्रष्टले नै राजनेतालाई आप्mनो पकडमा राख्छन् ।

यही भदौ महिनाको दोस्रो साता काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कानुनसम्मत निर्माण भएका संरचना गैरकानुनी ढंगले प्रयोग गरिँदा भत्काउनुपरेको, तस्कर र भ्रष्ट हाबी भएको ज्वलन्त दृष्टान्त हो । विकृतिले हद नाघेको प्रदर्शित गर्ने तथा जानकारी दिलाउने यो खुला किताब नै हो । यसर्थ, राजनीतिक सिद्धान्तलाई व्यवहारमा उतार्न लागिपरेका मेयर बालेन साह उदाहरणीय प्रशासक बनेकाले उनी सबैको प्रशंसाको पात्र बनेका छन् । साहजस्तै स्वच्छ र पारदर्शी व्यक्तिलाई सत्तामा पु¥याउन आममतदाताले आगामी संसदीय निर्वाचनमा विशेष ध्यान पु¥याऊन् ।

शीर्षस्थ नेताकै दृष्टिकोण सकारात्मक नहुँदा तथा उनीहरूबाटै संरक्षित गलत व्यवहारको प्रभावको कारण प्रायजसो सबै क्षेत्रबाटै स्वच्छता अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । राम्रो एवं पारदर्शी कार्यमा प्रतिस्पर्धा हुन छाडेको छ । सडेको फोहोरमै दुर्गन्धित राजनीतिक प्रतिस्पर्धा गर्न दलहरू सर्माउँदैनन् । नेताको राजनीतिक व्यवहार कतिसम्म गिरेको छ भन्ने दृष्टान्तका लागि गत साउन अन्तिम सातादेखि भदौको दोस्रो सातासम्म उपत्यकाको फोहोर व्यवस्थापनको सन्दर्भमा ल्यान्डफिल्ड साइड नै राजनीति आकर्षणको केन्द्र बनेको अवस्थाले नै पुष्टि गर्छ । सत्ता गठबन्धित दलहरूले नै सो समयमा ल्यान्डफिल्ड साइडमा देखाएको गाईजात्रे प्रदर्शनले उपत्यका कुरूपमाथि थप कुरूप बनेको सर्वविदितै छ ।

शीर्षस्थ नेताले आप्mनै दलका कार्यकर्ता परिचालित गराएर आपूm रमिते बनेको दृष्टान्त आश्चर्यलाग्दै बन्यो । समाधानको उचित निर्णय गर्ने अग्रपंक्तिका नेताले नै फोहोर व्यवस्थापनको समस्या बल्झाउने द्वैध भूमिका अपनाए । उनीहरूको फोहोरउपरको राजनीति पनि स्वार्थकेन्द्रित जस, अपजसमै लक्षित रहेको देखियो । मेयर बालेन साह गठबन्धनभित्रकै कुनै दलसँग सम्बन्धित भएको भए सम्भवतः फोहोरमा यस्तो दुर्गन्धित राजनीति हुने नै थिएन ।

स्वेच्छाचारितालाई चुनौती दिने, स्वच्छ र पारदर्शी जनमैत्री राजनीतिक व्यवहार स्थापित गराइए त्यो आप्mनो लाभविपरीत हुन्छ भन्ने मानसिकताका नेता स्थानीय तहदेखि संघीय तहसम्मकै सत्तामा अनेकौं छन् । गठबन्धित दलकै अग्रपंक्तिका अधिकांश नेता यही मानसिकताका छन् सर्वसाधारण नागरिक भने नेता संरक्षिप्त गलत व्यवहारबाट दिनानुदिन पीडित बनिरहेका छन् । प्रवृत्ति सुधारी राष्ट्रिय राजनीतिलाई स्वच्छ, पारदर्शी र सिद्धान्तमा आधारित बनाउने प्रमुख माध्यम भनेकै संसदीय निर्वाचन नै हो । यसैले, आगामी निर्वाचनमा स्वेच्छाचारीलाई विस्थापित गरी जनसेवी, इमानदार र सिद्धान्तवादी नेतालाई स्थापित गराउन आममतदाता सबैले नै विशेष ध्यान पु-याऔं ।

तपाइको प्रतिक्रिया
(Visited 2,035 times, 1 visits today)

epaper

ताजा समाचार

महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते