वीरगन्ज । ‘बुबाको निधन भएको एक महिना बितिसक्दा पनि कम्पनीले घर आउँन छुट्टी नै दिएन । पासपोर्टलगायतका सबै कागजपत्र त त्यहाँ पुग्ने बित्तिकै कम्पनीले लिइहाल्छ । बाँकी त्यहाँको सबै कुरा त सानो भेटमा गरिसाध्यै छैन,’ विदेशको दुःख सम्झिँदै पर्साको पटेर्वासुगौली–२ थरगट्टीका अजयकुमार महतो धागढले पैसा कमाउन विदेश जाँदाको कष्टकर पीडा सुनाए ।
त्यसैगरी पर्साकै पर्सागढी–४ वर्वाटाँडीका बृजकिसोरप्रसाद चौरसियाले पनि आफ्नो भाइ विदेशमा निधन हुँदा लास ल्याउन समेत सकस भएको त्यहाँको कारुणिक कथाको अर्को घटना सुनाए । धागड मलेसियामा ६ वर्ष बसेर नेपाल फर्केका युवा हुन् भने चौरसिया दुबईमा १२ वर्ष बिताएर नेपाल फर्केका अर्का युवा हुन् । विदेश पुगेर त्यहाँ गर्न परेको दुःख र कष्टको कहालीलाग्दो कथा धागढ र चौरसियासँग मात्र छैन । उनीहरू त विदेश गएर कष्ट भोग्ने त्यहाँको अवस्था जानकारी गराउने केवल प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्ता नेपाली युवा विदेशको चर्को घाम र कहालीलाग्दो वातावरणमा श्रम गर्न र जीवनको अन्तिम क्षणको अनुभव नजिकबाट गर्न बाध्य हुने नेपाली हजारौं लाखौं पुगिसके ।
धागढ र चौरसिया जस्ता धेरैले बाहिर जाँदा भोगेको कुरा देश चलाउने अस्थायी र स्थायी सरकारका प्रतिनिधिलाई जानकारी नै नभएको चाहिँ होइन रहेछ । शनिबार पनि नेपाल सरकारका शिक्षा सचिव रामकृष्ण सुवेदी र सहसचिव डा. हरि लम्साल, यूएनडीपी र सीटीईभीटीका जिम्मेवार व्यक्तिबीच उनीहरूले वीरगन्जको एक कार्यक्रममा उक्त व्यथा पोखेका हुन् ।
मुलुकभित्रको गरिबी, बेरोजगारीबीच घर परिवारको खर्चको जोहो गर्नैपर्ने लगायतका बाध्यताले श्रम बजारमा पुग्ने लाखौं नेपाली युवाले हरेक दिन, महिना र वर्ष विदेश पुगी यस्ता दुःख खेप्न परेको छ । स्तरीय सीप र ज्ञानको अभावमा मुलुकभित्र उद्यम गर्न र स्वरोजगार हुन पनि सकस रहेको कुरा राज्यले पनि मनन् गरिरहेको शिक्षा सचिव सुवेदीले पनि स्वीकारे । यस्ता कुरा सुन्न नपरोस् भनी राज्यले पनि केही सीप प्रवद्र्धन र दक्षता अभियान चलाउन सुरुवात गरिसकेको छ उनले भने । मुलुकभित्रै नेपाली युवालाई टिक्न र बिक्न सक्नेगरी काम गर्ने राज्यको लक्ष्य छ ।
त्यसका लागि मुलुकभित्रै सीप सिकाउने र रोजगारीको अवस्था सिर्जना गर्न सुरुवात भने भइसकेको शिक्षा सचिव सुवेदीले तर्क गरे । यसका लागि सरकार एक्लैले मात्र नसक्ने उनको दाबी छ । मधेस र लुम्बिनी प्रदेशमा गएको चैत र वैशाखमा गरिएको दू्रत बजार सर्वेक्षणको प्रतिवेदनले औंल्याएअनुसार वैदेशिक रोजगारीबाट नेपाल फर्किएका युवालाई फेरि विदेश जान नपरोस् भनी ९ सय ८० जनालाई सीप र दक्षताका लागि तालिम दिइरहेको छ । त्यसको अनुगमन र शिक्षा पत्रकार समूहको आयोजनामा गरिएको एक कार्यक्रममा सहभागी हुन वीरगन्ज आइपुग्दा विदेशबाट फर्केका युवाले उनीसँग आफ्ना दुःख पोख्न पनि भ्याएका थिए ।
घागढ र चौरसियालगायतका ९ सय ८० युवालाई अहिले भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संयोजन तथा ब्रिटिस काउन्सिलद्वारा व्यवस्थित दक्षता परियोजना र युरोपेली युनियनको आर्थिक सहयोगमा सीप विकास र दक्षता अभिवृद्धि तालिम दिई मधेस प्रदेशका ९ सय र लुम्बिनी प्रदेशका ६ सय नेपालीलाई दीक्षित बनाउने कार्यक्रम रहेको छ । जुन दीक्षित व्यक्तिले यही रोजगारी पाउनेगरी अभियान थालिएको शिक्षा सहसचिव डा. हरि लम्सालले बताए । उनले सो कुरा शिक्षा पत्रकार समूह मधेस प्रदेश कमिटीले स्थानीय स्तरमा संयोजन गरेको कार्यक्रममा बताएका हुन् ।
वैदेशिक रोजगारबाट स्वदेश फर्किएका मधेस प्रदेशका युवाका लागि लक्षित गरी सञ्चालित स्वरोजगार सीप विकास कार्यक्रमको शिक्षा सचिव सुवेदी र सहसचिव लम्साललगायत यूएनडीपीका प्रतिनिधि र सीटीईभीटीईका जिम्मेवार प्रतिनिधिले पनि अवलोकन गरेका छन् । सो अवलोकनपश्चात् वीरगन्जका रोजगारदाता र सीप तथा दक्षता प्रदायक संघसंस्थाका अगुवासँग पनि केन्द्रको टोलीले छलफल गरेको छ । सो छलफलमा सरकार निजी क्षेत्रलगायतले सहकार्य गरी अगाडि बढ्नुपर्ने कुरा बाहिर आएको छ । मुलुकभित्रै स्वरोजगार र उद्यम विकास गर्ने महŒवपूर्ण कुरामा सरकार एक्लैले अहिलेकै अवस्थामा गर्न नसक्ने त्यहाँ खुलासा गरिएको छ ।
कोभिड–१९ का कारण वैदेशिक रोगजारबाट फर्केका मधेस र लुम्बिनी प्रदेशका नेपाली युवायुवतीको २०७८ चैत र २०७९ वैशाखमा गरिएको दू्रत सर्वेक्षणका प्रतिवेदनमा कृषि, निर्माण र पर्यटन क्षेत्रमा श्रम बजार बढिरहेको आंैल्याइ सीप विकासको काम पनि यी प्रदेशमा जारी छ । यहीं पुगी शिक्षा सचिव सुवेदी, सहसचिव डा. हरि लम्साल, यूएनडीपीका धर्म स्वर्णकार, सीटीईभीटीका सहसचिव डा.जीवनारायण काफ्लेलगायतले मधेस प्रदेशमा स्वरोजगारदातालाई कस्तो जनशक्ति आवश्यक पर्छ ? र कस्तो जनशक्ति उत्पादनमा जोड दिने ? भन्ने विषयमा पनि सूक्ष्म छलफल गरेका छन् । सो कार्यक्रममा शिक्षा पत्रकार समूहका कृष्ण मल्ल, महासचिव रोशन गाउँले, प्रदेश संयोजक दीपेन्द्र सिंहलगायत मिडियाकर्मीको पनि उल्लेख्य सहभागी रहेको छ ।






