कांग्रेसभित्र खैलाबैला, संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

काठमाडौं । आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको बन्दसूची बुझाएको’ भन्दै कांग्रेसभित्रको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर पक्ष असन्तुष्ट बनेको हो । सो समूहका दोस्रो तहका नेताले ‘सभापतिको एकलौटी निर्णयविरुद्ध विद्रोह गर्नेदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्ने’सम्मको कार्यक्रम तयारी गरेका छन् ।

सभापति शेरबहादुर देउवाले गत २ असोजमा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची आयोगमा पठाएका थिए । सो सूचीमा आफ्ना समूहका नेतालाई कमजोर स्थान दिएको र संख्यामासमेत हेपेको भन्दै इतर पक्ष रुष्ट रहँदै आएको छ । इतर पक्षले ‘आयोगमा बुझाइएको सूची नसच्याइए पार्टीभित्र विद्रोह गर्ने’सम्मको चेतावनी दिँदै आएको छ ।

भोलि पार्टी केन्द्रीय कार्यालयमा धर्ना

इतर पक्षको दोस्रो तहका नेताको सोमबार ठमेलमा बसेको बैठकले ‘पार्टी नेतृत्वलाई दबाब दिन’ भन्दै केन्द्रीय कार्यालयमा धर्ना बस्नेगरी कार्यक्रम तय गरेको छ ।

भेलाले ‘समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको’ नेता जगदीशनरसिंह केसीले जानकारी दिए । उनका अनुसार समानुपातिक बन्दसूची सच्याएर आफ्नो समूहका नेताका नाम समावेशका लागि दबाब दिन भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको हो ।

यसैगरी, बिहीबार दोस्रो तहका नेताले इतर समूहका पहिलो तहका नेतासँग छलफल गर्ने कार्यक्रम तोकिएको छ । संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताले दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

उनीहरूले शुक्रबारसम्म पनि माग सुनुवाइ नभए कठोर निर्णय लिनेसमेत चेतावनी दिएका छन् । तर, ‘कठोर निर्णय कस्तो हुने ?’ भन्ने’bout खुलाइएको छैन ।

इतर पक्षले सभापतिले पार्टी सञ्चालनमा एकलौटी गरेको, निर्वाचन मुखमा इतर पक्षलाई बेवास्ता गरेको र टिकट वितरण प्रक्रिया र छलफलमा पनि मनोमानी गरेको आरोप लगाउँदै आएको छ ।

सो पक्षले गत शनिबार राजधानीमा आफ्ना पक्षका नेतालाई भेला गरेर ‘आगामी निर्वाचनमा विद्रोह हुने’सम्मको चेतावनी दिएको थियो । यसअघिसमेत इतर पक्षले ‘सभापति देउवाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका नेतृत्वमा एकलौटी गरेको’ भन्दै आपत्ति जनाउँदै आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 290 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी दर्ता आज र भोलि