सरकारले विदेश भ्रमणका लागि जथाभावी अनुमति दिने र बहालवाला मन्त्री तथा विशिष्ट श्रेणीका कर्मचारीहरू भ्रमणमा ओहोरदोहोर गरिरहने परिपाटीमा बढोत्तरी हुन आएपछि अहिले यो भ्रमण महारोगमा परिणत हुनथालेको छ । सरकारका मन्त्री तथा सचिवहरू जनताका काम छोडेर विदेश भ्रमणमा मस्त हुन थालेपछि उनीहरू विवादित र आलोचित बन्न पुगेका छन् । मन्त्रालयका मन्त्री र सचिव एकैसाथ वा भिन्न स्थानमा भ्रमणमा निस्कँदा मन्त्रालय नेतृत्वविहीन भएको उदाहरण नौलो हुन छाडिसकेको छ । अझ, त्यसमा पनि लगातार भ्रमण र भ्रमणमाथि भ्रमणका कारण मन्त्रालयका काम बिस्कुन सुकाएसरह फिँजिएर चाङ लाग्ने गरेका छन् । कर्मी माहुरी मह संकलनका लागि घारबाट भित्र र बाहिर गरेझैं एक हुल विदेश भ्रमण सकेर आउनासाथ फेरि अर्को हुल बाहिर प्रस्थान गरिहाल्छ ।
यसरी, सरकारी निकायमा विदेश भ्रमण अचाक्ली बढिरहेको छ । विदेश सयर निकै फाप्ने भएकाले मन्त्री र सचिव विदेश भ्रमणमा व्यस्त र मस्त रहेका छन् । नेपालीका लागि दसैं आएको छ । नेपालीहरू दसैँ मान्न विदेशबाट घर फर्किरहेका छन् । तर, मन्त्री तथा सचिवहरूलाई भ्रमणले दसैँ पनि बिर्साइदिएको छ । उनीहरूका लागि भ्रमण नै दसैँ बनिरहेको छ । दसैँको अवसरमा पनि मन्त्रीहरू विदेश भ्रमणको लाइनमा छन् । यति बेला मन्त्रालय र मातहतका निकायलाई दसँै लागेको छ । किनकि, मन्त्री र सचिव नहुँदा काम केही पनि छैन र विदाझैं महसुस भएको छ । दसैँको मुखैमा मन्त्रालय रित्तिन थालिसकेका छन् । केही दिनअघि मात्रै विदेशबाट फर्केका वन तथा वातावरणमन्त्री प्रदीप यादव आइतबार फेरि अमेरिका उडे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शनिबार नै क्यानडा पुगिसकेका छन् ।
भूमिसुधार मन्त्री शशी श्रेष्ठ केही दिनदेखि युरोपका विभिन्न देशमा भ्रमणमा व्यस्त छिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ पनि शनिबार युरोप नै प्रस्थान गरिसकेका छन् । सचिवहरूको पनि उस्तै ‘बतेली’ परिरहेको छ । सचिव अर्जुन पोखरेल तथा कर्णाली प्रदेश प्रमुख सचिव डा गोपीकृष्ण खनालको जम्बो टोली विदेश उडान भरिसकेको छ । कृषि सचिव गोविन्दप्रसाद शर्मा विदेश भ्रमण सकेर केही दिनअघि मात्र स्वदेश फर्केका छन् । उता, स्वास्थ्य सचिव पनि विदेश भ्रमणबाट आइसकेका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदी पनि विदेश भ्रमण सकेर दसैँको मुखमा स्वदेश भित्रिएका छन् । विदेश दौडाहा देखेर जनतामा औडाह छुटेपछि २०७५ सालमा सरकारले विदेश भ्रमणसम्बन्धी निर्देशिका जारी गरेर भ्रमणमा कडाइ गरिएको कुरा सार्वजनिक गरेको थियो ।
तर, त्यो अहिले आएर ‘उहिलेका कुरा खुइलिए’मा परिणत हुन गएको छ । अहिले मनोमानी छ । कसैको केही लाग्ने देखिँदैन । अहिले त भ्रमण पनि गठबन्धनको आकारमा हुने गरेको छ । यो गठबन्धन भ्रमणले देश कहाँ पुग्ने हो, हेर्न बाँकी छ । विगतको निर्देशन र निर्देशिका च्यातचुत पारेर गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक विभिन्न मन्त्री र सचिवका लागि ११ वटा भ्रमण दलको विदेश भ्रमणमा स्वीकृति दिएपछि अब ‘भैंसीलाई बारीको आँठो नदेखाउनू, मन्त्री र सचिवलाई भ्रमणको बाटो नदेखाउनू’ भन्ने उखान चरितार्थ हुन पुगेको छ । राज्यकोषको व्ययभारको हिसाब बेहिसाब हुन पुगेको छ । त्यसैले, भ्रमण महारोग समयमै नियन्त्रण गर ।






