धनगढी । सरकारले नेपालको कैलाली र कञ्चनपुरमा रहेका रानाथारू समुदायलाई अलग जातिका रूपमा सूचीकृत गरेपछि खुसीयाली मनाएका छन् । आफूहरूको वर्षौंदेखिको माग सरकारले पूरा गरेपछि सो समुदायले विभिन्न कार्यक्रम गरी खुसीयाली मनाएका हुन् ।
नेपालको कैलाली र कञ्चनपुर जिल्लामा रहेको यो समुदायलाई यही माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले अलग जातिका रूपमा सूचीकृत गरेको हो । आफ्नो पहिचानसहित अलग जातिमा सूचीकृत गरेपछि बिहीबार साँझ धनगढीलगायतका ठाउँमा राना थारू समुदायले दीप प्रज्वलन गरे । कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारदमुनि राना, कृपाराम राना, सुदूरपश्चिम प्रदेश सभा सदस्य मालामति रानालगायत रानाथारू समुदायको सहभागिता रहेको थियो ।
मन्त्रिपरिषद्को निर्णयले रानाथारूलाई आदिवासी जनजातिमा सूचीकृत गरेको कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य नारदमुनि रानाथारूले सञ्चारकर्मीलाई जानकारी दिए । सांसद रानाथारूले आफूहरूको २०५६ सालमा नै हामीलाई आदिवासी जनजातिमा अलग्गै सूचीकृत गर्न माग गरेको दुई दशकदेखिको संघर्ष अहिले पुरा भएको बताए ।
रानाथारूको प्रतिनिधित्व गर्ने प्रतिनिसध तथा प्रदेश सभा सदस्यहरूले सूचीकरण गरेकामा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका थिए । योसँगै सूचीकृत मात्र नभई अब अधिकार पनि प्रदान गरिनुपर्ने माग गरेका थिए ।
सरकारले विभिन्न जातजातिलाई सूचीकृत गर्दा सुदूरपश्चिमका रानाथारू समुदायलाई अलग जातिका रूपमा सूचीकृत गरेको थिएन । रानाथारू समुदायले सुरुदेखि नै आफूहरूलाई अलग जातिका रूपमा सूचीकत गर्न माग गर्दै आएका थिए ।
नेपालमा कैलाली र कञ्चनपुर जिल्लामा मात्रै रानाथारू समुदायको बसोबास रहेको छ । रानाथारू समुदायको साढे ३ लाख बढी जनसंख्या रहेको छ ।