काठमाडौं । उपत्यकाबाट दसैंका लागि आप्mना घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना पक्राउ परेका छन् ।
यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरीवृत्त वा प्रभाग पठाएको छ ।
चाडपर्वको मौका छोपी ठगी गर्नेमाथि निगरानी राख्न सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालय प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए । दसैंतिहार, छठलगायत पर्व लक्षित कार्ययोजनाअनुसार १ हजार ४ सय ६८ जनशक्ति परिचालन गरिएको छ ।
खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको छ ।
कतिपय सवारीसाधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पांग्रा खराब अवस्थामा पाइएको छ । पांग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत चलाइएको छ ।






