गठबन्धनमा लफडाः चुनावपछिको सत्ता मुख्य कारक

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको सिट भागबन्डाका विषयमा सत्ता गठबन्धनभित्र विवाद बढेको छ ।

४ मंसिरमा हुने निर्वाचनपछि केन्द्र सरकार र प्रदेश सरकारको हिसाबकिताबमा मुख्य तीन दलको नजर पर्दा गठबन्धनभित्र चुनावी तालमेलको लफडा बढ्दै गएको छ ।

पाँच दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । यी पाँच दलबीचमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको कुल १ सय ६५ सिटमध्येबाटै भागबन्डा हुनुपर्छ । तर, गठबन्धनको मुख्य घटक कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावपछिको सरकारमा आफ्नो दबदबा देखाउनेगरी तालमेलको भागबन्डामा अडानमा छन् ।

जसपा विकल्प खोज्दै

यसैगरी, प्रदेशसभा निर्वाचनतर्फ पनि कांग्रेस र माओवादी केन्द्रले आफ्नो दबदबा कायम राख्न चाहेका छन् । चुनावपछिको सरकारको अंकगणितलाई जोगाउने गरेर मुख्य दल नै अडानमा रहँदा गठबन्धनबीच चुनावी तालमेलमा हिसाब मिल्न नसकेको हो ।

गठबन्धनभित्रको एउटा घटक जसपा पनि ४ मंसिरको निर्वाचनपछि पनि केन्ददेखि प्रदेशको सत्तामा आफ्नो दाउलाई कायम राख्न चाहन्छ । सो दल प्रदेशतर्फ मधेस प्रदेशमा रहेको आफ्नो नेतृत्वको सत्ता निर्वाचनपछि पनि कायम राख्ने दाउमा छ ।

गठबन्धनभित्रको दल राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले गठबन्धनका बीच मुख्य अडान कांग्रेस र माओवादीबाट देखिँदा समस्या भइरहेको बताउँछन् ।

‘तालमेलमा समस्या मुख्य दलबाटै छ, चुनावपछिको सरकार प्रदेश र केन्द्रमा के हुन्छ ?, बहुमत पुग्छ कि पुग्दैन भन्ने हिसाबकिताबले समस्या देखिएको छ, जसपा पनि मधेस प्रदेशमा सरकारको हिसाब किताब गरिरहेको छ, समस्या सबैतर्फ छ,’ जनमोर्चाका सचिव पुरीले राजधानीसँग भने ।

गठबन्धनभित्र भागबन्डा लागी बनेको पछिल्लो खाका कांग्रेस ८५, माओवादी केन्द्र ४६, जसपा १५ र एकीकृत समाजवादी १७ र जनमोर्चा २ सिटको बनेको छ । तर, जसपा एकीकृत समाजवादीलाई भन्दा तल्लो संख्या लिनेगरी गठबन्धनमा बस्न तयार देखिएको छैन । उसले एकीकृत समाजवादीभन्दा बढी संख्या दाबी गरिरहेको छ ।

सिट बाँडफाँटका लागि सत्तारूढ दलले बनाएको कार्यदलका एक सदस्यले कार्यदलले बनाएको सहमतिको मस्यौदाको खाकामा जसपाले असन्तुष्टि राखेको बताए ।

‘कार्यदलले एक किसिमको मोडालिटी बनायो तर जसपा मान्न तयार छैन, शनिबारको बैठक त्यही कारण बस्न सकेन,’ कार्यदलका ती सदस्यले राजधानीसँग भने ।

जसपाले भने शनिबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकबाट सत्तारूढ गठबन्धनको सिट बाँडफाँटका लागि भइरहेको छलफल सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ । उसले बैठकबाट आगामी निर्वाचनका लागि अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्भव भएसम्म विकल्पका रूपमा अन्य राजनीतिक दलसँग पनि निर्वाचनमा सिटको तालेमल गर्न सकिनेछ ।’

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९