कोरोना महामारीको व्यवस्थापनको सन्दर्भलाई लिएर कठोर सरकार, उदार सरकार ठूलो सरकार हुँदै सानो सरकारको सिद्धान्त बोकेर हिँडेको वर्तमान विश्वले अहिले सक्षम र बलियो सरकारको आवश्यकता महसुस गरेको छ । कोभिड–१९ को महामारीमा कसरी सार्वजनिक प्रशासनले काम ग¥यो र तुलनात्मक रूपमा कुन देशमा कसरी कम, बेसी क्षति भयो ? यो अध्ययन अनुसन्धानको विषय बन्न पुगेको छ । हरेक देशको सार्वजनिक प्रशासनलाई सक्षम, संवेदनशील र उत्तरदायी हुनुपर्ने आवश्यकता कोभिडको महामारीले सिकाएको छ । सार्वजनिक प्रशासनको तुलनात्मक जानकारीले मात्र कुन देशको प्रशासन प्रणालीभन्दा कुन देशको प्रशासन असल वा कमजोर जान्न र भन्न सकिन्छ । तुलनात्मक सार्वजनिक प्रशासन अध्ययनले दुई वा धैरै देशको सार्वजनिक प्रशासन प्रणालीको अध्ययन गर्छ । त्यस्तो तुलनात्मक अध्ययनले प्रशासन प्रणालीको सबल एवं दुर्बल पक्षहरूको मूल्यांकन गर्दै सुधारका सम्भावनाहरूको ढोका खोल्छ ।
तुलनात्मक अध्ययनले निरन्तर बदलिरहने सार्वजनिक प्रशासनको कार्य वातावरणको अध्ययन गर्दै सार्वजनिक प्रशासनका अनुभूत समस्याहरू समाधान गर्न प्रयास गर्छ । अनुभूत समस्याहरूको विश्लेषणबाट नवीन दृष्टिकोण, सिद्धान्त र सुधारका सम्भावनाको खोजी गर्न तथा कुनै एक प्रणालीमा देखिएको सफलता अर्काे प्रणालीमा प्रयोग गर्न पनि सहयोग र उत्प्रेरित गर्छ । आजको गतिशील एवं परिवर्तनशील समाजमा सार्वजनिक प्रणालीको निरन्तर मूल्यांकन, पुनर्मूल्यांकन र सुधार अनिवार्य हुन्छ । प्रशासन प्रणालीको अन्तरविधा सम्बन्ध, बदलिँदो सामाजिक परिवेशमा सार्वजनिक प्रशासनको प्रभावकारिताको तुलनात्मक अध्ययनले सार्वजनिक प्रशासनको सुधारलाई सहज, सामयिक र उपलब्धिमूलक बनाउँछ ।
दोस्रो विश्व युद्धपछिसम्म एकै प्रकारको सार्वजनिक प्रशासन प्रणालीले सबै देशका लागि काम गर्छ भन्ने अवधारणा रहेको थियो । तर, सार्वजनिक प्रशासनको अभ्यास र अनुभवले म्याक्स वेवरको कर्मचारीतन्त्र सबै देशमा समान रूपमा प्रयोग हुन नसक्ने तथ्य अगाडि आयो । परिणामस्वरूप फरक फरक राजनीतिक, आर्थिक, सामाजिक वातावरणमा काम गर्ने सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययनको आवश्यकतालाई उद्घाटन ग¥यो । सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययनले विभिन्न देशको प्रशासनिक प्रणाली र ती देशको अलग अलग राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक वातावरण र त्यसको सन्तुलन सम्बन्धमा अध्ययन विश्लेषण गर्दै भिन्न भिन्न सार्वजनिक प्रशासन प्रणाली र फरक फरक व्यवहारको एकीकृत अध्ययन गरी प्रशासनमा सुधारको आवश्यकता र सुधारको सही मार्गमा प्रशासनलाई डो¥याउँछ । वास्तवमा सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययनले मात्र सार्वजनिक प्रशासनको सिद्धान्त र व्यवहारको अध्ययन गरी सार्वजनिक प्रशासनका लागि एप्लाइड (प्रयोगात्मक) सिद्धान्तको खोजी र परिभाषा गर्छ ।
तुलनात्मक सार्वजनिक प्रशासनको स्वभाव
सार्वजनिक प्रशासन प्रणालीको काम गर्ने वातावरण विश्लेषण गर्न प्रसिद्ध विद्वान् फ्रेड रिग्सले प्रशासनमा पाइने तीन प्रवृत्तिलाई आधार मानेका छन् । रिग्सको तुलनात्मक अध्ययनले नै कार्य वातावरण र सार्वजनिक प्रशासनका विविध प्रवृत्तिको तुलनात्मक अध्ययनलाई प्रकाश पारेको हो । उनले पहिलो प्रामाणिकबाट अनुभवजन्य प्रवृत्ति, दोस्रो प्रशासनको खास चरित्र वा विशेषताबाट सामान्यीकरण (जनरलाइजेसन) प्रवृत्ति र तेस्रो गैरवातावरणीयबाट वातावरणीय विश्लेषण प्रवृत्तिको व्याख्या गरेका छन् । यसैगरी, प्रशासनविद् फेरल जेडीले तुलनात्मक सार्वजनिक प्रशासनको स्वभावलाई चार वर्गमा विश्लेषण गरेका छन् । उनका अनुसार पहिलो परम्परागत प्रशासन प्रणालीको संरचना र कार्यसम्पादन प्रणालीको तुलनात्मक विश्लेषण हो भने दोस्रो बदलिँदो विश्व परिवेश, विश्वव्यापीकरणमा विकासमुखी प्रशासनको चिन्तन हो । र तेस्रो, प्रशासन प्रणालीले समाजका कुनै एक पक्ष वा खास क्षेत्रलाई जोड दिएर आप्mनो कार्यसम्पादनलाई सम्बोधन गर्छ भने चौथो वर्गले प्रशासन प्रणालीको प्रयोगात्मक पक्षलाई जोड दिएको पाइन्छ ।
सार्वजनिक प्रशासनको तुलनात्मक जानकारीबाट कुन देशको प्रशासन प्रणाली असल वा कमजोर भनेर जान्न र बुझ्न सकिन्छ
मूलतः प्रशासन प्रणालीको चरित्र राजनीतिक प्रणालीसँग मिल्ने भएकाले सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययन राजनीतिक प्रणालीसँग टाँसेर गर्ने गरिन्छ । तुलनात्मक सरकार र तुलनात्मक सार्वजनिक प्रशासन एउटै होइनन् । तुलनात्मक प्रशासन तुलनात्मक सरकारको एक भाग मात्र हो । जस्तो सरकार त्यस्तै प्रशासन हुने गर्छ । उदाहरणका लागि पुँजीवादी सरकारको पुँजीवादी प्रशासन र कम्युनिस्ट सरकारको कम्युनिस्ट प्रशासन । यसकारण, राजनीतिक प्रणालीको भिन्नतासँगै सार्वजनिक प्रशासन प्रणालीमा पनि भिन्नता रहेको हुन्छ ।
तुलनात्मक सार्वजनिक प्रशासनको क्षेत्र
तुलनात्मक सार्वजनिक प्रशासनको अध्ययन क्षेत्र सार्वजनिक प्रशासनको नगिच नगिच नै हुन्छ । विभिन्न देशको राजनीतिक, आर्थिक एवं सांस्कृतिक परिवेश र प्रशासन प्रणालीको भिन्न भिन्न रूपको विश्लेषण यसको महत्वपूर्ण अध्ययन क्षेत्र हो । यसले देशको राजनीतिक प्रणालीको प्रशासन प्रणालीमाथि राजनीतिक संवैधानिक नियन्त्रण विधि, सार्वजनिक प्रशासनको कर्मचारी व्यवस्थापन, प्रशासकीय कानुन, स्वस्थ र सुरक्षित कार्यवातावरण, कर्मचारी हित र कल्याणका विषय, कार्यसम्पादन अनुशासन, प्रशासनमा पाइने भ्रष्टाचार र अनैतिक व्यवहारका विषय समेटेको हुन्छ । साथै, सार्वजनिक सेवा प्रवाहको गुणस्तर, सार्वजनिक प्रशासनमा समयको अन्तरालमा राष्ट्रिय परिवेशमा आएको परिवर्तनले दिएको दबाब तथा प्रशासनको अन्तर्राष्ट्रियस्तरमा अध्ययन, सूचना सञ्चार प्रविधिको विकास र त्यसको अभ्यास तथा विश्वव्यापीकरण र नेटवर्क गभर्नेन्सले तुलनात्मक सार्वजनिक प्रशासनको अध्ययन क्षेत्रलाई फराकिलो बनाएको छ । तुलनात्मक अध्ययन प्रमाणमा आधारित हुन्छ । सूचना र तथ्यमा आधारित हुने भएकाले सूचना संकलन विश्लेषण र प्रकाशनले तुलनात्मक सार्वजनिक प्रशासनको अध्ययन क्षेत्रलाई अझ फराकिलो बनाएको हुन्छ ।
तुलनात्मक सार्वजनिक प्रशासनको उद्देश्य र महत्व
सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययनमा तुलनात्मक प्रशासन समूह (सीएजी)ले महŒवपूर्ण भूमिका खेलेको छ । विश्वका विभिन्न देशमा भएको राजनीतिक परिवर्तन सँगसँगै विकसित प्रशासन प्रणाली र सो प्रशासन प्रणालीको सफलता असफलताले सार्वजनिक प्रशासन प्रणालीको तुलनात्मक अध्ययनलाई महत्व दियो र अध्ययन आवश्यक पनि हुन आयो । तुलनात्मक सार्वजनिक प्रशासनलाई विभिन्न देशको सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययन भनेर परिभाषा गरिएको छ । तुलनात्मक सार्वजनिक प्रशासन एक आन्दोलन हो, जुन आदर्शवादबाट अनुभवजन्य र अनुभवजन्यबाट व्यवहारवादी (आइडियलिस्टबाट–एम्पिरिकलबाट र प्रागम्याटिक)मा रूपान्तर हुँदै गएको अवस्थालाई गम्भीर भएर मनन गर्छ । यसले विभिन्न देशको प्रशासनिक संरचना, कार्यप्रणाली र सेवा प्रवाहको अवस्था अध्ययन गरी अनुभवजन्य एवं व्यावहारिक सुधार गर्ने अवसर प्रदान गर्छ । यस सन्दर्भमा तुलनात्मक सार्वजनिक प्रशासनका उद्देश्यहरू देहायबमोजिम हुन सक्छन् :
तुलनात्मक सार्वजनिक प्रशासनको मुख्य पहिलो उद्देश्य अभ्यास र अनुभवको आधारमा तटस्थ रूपमा विभिन्न देशको प्रशासन प्रणालीको वर्गीकरण गर्नु र प्रणालीहरूबीचको समानता र असमानताहरू पहिचान गर्नु हो । दोस्रो, प्रशासन प्रणालीलाई तुलनात्मक अध्ययन र छलफलको आधारमा विकासोन्मुख प्रभावकारी प्रशासन प्रणाली बनाउनु हो । तेस्रो, तुलनात्मक सार्वजनिक प्रशासनले अनुभव गरेका वर्तमान समस्याहरूको आडमा समाधान निकाल्नु हो । चौथो, सार्वजनिक प्रशासनको अध्ययन गरी सिद्धान्तको प्रतिपादन र सो सिद्धान्तको कार्यान्वयन गर्नु हो । पाँचौं उद्देश्य राजनीतिक संरचना (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) र प्रशासन प्रणालीको सटिक ज्ञान हासिल गर्नु हो । छैठौं उद्देश्य राजनीतिक नेतृत्वलाई सार्वजनिक प्रशासनको विषयमा उच्च बौद्धिक ज्ञान राख्ने आवश्यकताको महसुस गराउनु हो भने सातौं कर्मचारीतन्त्रको निरन्तर सुधार गर्नु हो । ।
फरक राजनीतिक संरचना र फरक सार्वजनिक प्रशासनका आप्mनै विशेषता हुने र ती अनुकरणीय विशेषता अर्को देशका लागि उपयोगी हुने सत्यलाई कसैले नकार्न सकेन
तुलनात्मक प्रशासनका खास चरित्रहरू रहेका हुन्छन् । पहिलो विशेषता तुलनात्मक प्रशासन अध्ययन नवीन विचारधारा हो । तुलनात्मक सार्वजनिक प्रशासनको विषयको छलफल एक निरन्तर चलिरहने प्रक्रिया हो । तुलनात्मक सार्वजनिक प्रशासन समस्याबाट समाधान खोज्ने विधा हो भने यस अवधारणाले सार्वजनिक प्रशासनको निरन्तर सुधार माग गर्छ । विभिन्न देशमा सफल सार्वजनिक प्रशासनका गुणहरूलाई अन्य उस्तै राजनीतिक आर्थिक र सामाजिक वातावरण भएका देशहरूमा लागू गर्न सिफारिस पनि गर्छ ।
आधुनिक सार्वजनिक प्रशासनको क्षेत्रमा अधिक छलफल भएको विषय तुलनात्मक सार्वजनिक प्रशासन हो र बौद्धिक छलफलले व्यावहारिक प्रशासनको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ । यसले प्रशासकीय वातावरण अनुरूप संगठन संरचना, कार्यप्रणाली र कर्मचारी व्यवहार निर्धारण गर्न बल दिएको हुन्छ । तुलनात्मक अध्ययनले कुनै एक प्रकारको संगठन संरचनालाई उपलब्धिमूलक बनाउन सकिने उदाहरण प्रस्तुत गरेको पाइन्छ । यसर्थ, तुलनात्मक अध्ययनले मात्र प्रशासनमा कार्य वातावरणानुकूल व्यावहारिक सुधार सम्भव हुन्छ भन्ने मान्यता स्थापित गरेको छ ।
सार्वजनिक प्रशासन प्रणालीले क्रमशः विभिन्न प्रशासनिक विकास चरणहरू पार गर्दै आएको छ । भद्रगोले प्रशासन प्रणालीबाट व्यवस्थित र वैज्ञानिक प्रशासन, सामान्य प्रशासनबाट विकास प्रशासन, प्रक्रियागत प्रशासनबाट परिणाममुखी प्रशासन, स्पोइल प्रणालीबाट, मेरिट र मेरिटबाट सीमित मेरिट प्रणाली, नयाँ सार्वजनिक प्रशासन, नयाँ व्यवस्थापन प्रणाली, ठूलो सरकारबाट सानो सरकार हुँदै प्रशासन प्रणाली एक्काइसौं शताब्दीमा प्रवेश गरेको छ । राजनीतिक शासन प्रणालीको परिवर्तनले मात्र नभएर नागरिकको आवश्यकता परिपूर्ति र सूचना सञ्चार प्रविधिको प्रयोगले प्रशासन प्रणालीको प्रभावकारिता मापन हुने क्रम बढ्दै गएको छ । हामी अहिले डिजिटल युगको अन्तरनिर्भर नेटवर्क गभर्नेन्सको सार्वजनिक प्रणाली अभ्यासको चरणमा आइपुगेका छौं । तापनि, प्रशासन प्रणालीको प्रभावकारिताको खाँचो हिजो जस्तो थियो, आज पनि उस्तै रहेको छ ।
नेपाल भौगोलिक रूपमा दक्षिण एसियामा अवस्थित छ । दक्षिण एसियाका देशहरू भारत, श्रीलंका, मालदिप्स, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानमा राजनीतिक प्रणाली फरक फरक छ । विकासको अवस्था स्रोत साधनको उपलब्धता पनि समानजस्तै छन् । हावापानी र नागरिकको रहनसहन पनि झन्डै झन्डै उस्तै भएकाले नागरिकका माग र आवश्यकता पनि करिब करिब समान नै छन् भन्ने मान्नु पर्छ । सबै देशमा सार्वजनिक प्रशासनले नागरिकका आवश्यकता पूरा गर्न नसकेको भन्ने गुनासा र समस्या पनि समान छन् । यस घडीमा दक्षिण एसियाली अन्य देशको सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययन गरी हरेक देशको प्रणालीमा रहेका राम्रा पक्षलाई आप्mनो आप्mनो देशको प्रशासन प्रणालीमा अवलम्बन गर्दा प्रशासन प्रणाली प्रभावकारी हुने विश्वास गर्न सकिन्छ ।
आलोचना र अनुभूति
फरक राजनीतिक, आर्थिक एवं सामाजिक वातावरणमा बनाइएको र हुर्काइएको सार्वजनिक प्रशासन प्रणालीको तुलनात्मक अध्ययनले अर्को भिन्न देशमा खास लाभ नदिने भन्दै तुलनात्मक सार्वजनिक अभियानको आलोचना भयो । फरक फरक राजनीतिक एवं सांस्कृतिक चरित्रमा रहेको पूर्वाग्रहले प्रशासनको तुलनात्मक अध्ययनलाई महत्व पनि दिएन । तथापि, फरक राजनीतिक संरचना र फरक सार्वजनिक प्रशासनका आप्mनै विशेषता हुने र ती अनुकरणीय विशेषता अर्को देशका लागि उपयोगी हुने सत्यलाई कसैले नकार्न सकेन । अतः आजको अन्तरजेलित विश्व समुदाय र ग्लोबल गभर्नेन्सको सन्दर्भमा सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययनको आवश्यकता र महत्व टड्कारै अनुभूति भइरहेको पाइन्छ ।






