पर्साका ‘हेभिवेट’लाई ‘साधारण नेता’को चुनौती

वीरगन्ज । पर्सामा विगतमा जितेर मन्त्रीसम्म भएका आधा दर्जन ‘हेभिवेट’ नेतालाई यसपटक चुनाव जित्न सकस हुने देखिएको छ ।

विगतमा गरेका काम, सत्ता तथा इत्तर गठबन्धनका असन्तुष्ट सहकर्मी नेतासमेत स्वतन्त्रमा खडा भएपछि ‘हेभिवेट’लाई सकस भएको हो ।

पर्सामा अहिलेसम्म फूल केविनेट तीन, सहायक एक, राज्यमन्त्री एक र मधेस प्रदेशको पहिलो मुख्यमन्त्री गरी कुल ६ पूर्व र बहालवाला मन्त्री चुनावी मैदानमा होमिएका छन् । तर, उनीहरूलाई यसपटक निर्वाचन जित्न उति सहज नभएको पर्सावासीको ठहर छ ।

संघ सरकारका पूर्व बिनाविभागीय मन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता लक्ष्मणलाल कर्ण पर्सा १ बाट सत्ता गठबन्धन दलका तर्फबाट खडा छन् । उनीसँगै लड्न सत्ताइत्तर गठबन्धन एमाले जसपाका तर्फबाट भर्खरै प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेका निवर्तमान क्याबिनेट वनमन्त्री प्रदीप यादव पनि पर्सा १ बाटै मैदानमा तैनाथ छन् । उनी गएको प्रतिनिधिसभा निर्वाचनमा पर्सा १ बाट निर्वाचित जसपा नेपालका नेता हुन् ।

तथापि, नेपाली कांग्रेसको पकड क्षेत्र मानिने पर्सा १ मा कांग्रेसका पूर्वसभापति संविधानसभा सदस्य अजय द्विवेदी स्वतन्त्र उम्मेदवार बनेपछि यो क्षेत्रको भिडन्त त्रिपक्षीय हुने पर्सावासीको ठहर छ । राजनीतिमा शालीन र सभ्य नेताका रूपमा छवि बनाएका द्विवेदी पार्टीको पछिल्लो निर्णयबाट रुष्ट भई स्वतन्त्रमै होमिएका हुन् ।

त्यस्तै, पर्सा क्षेत्र २ मा प्रतिस्पर्धी रहेका सत्ता गठबन्धन दलकै अर्का नेता पूर्वसहायकमन्त्री अजयकुमार चौरसियाका प्रतिस्पर्धी एमाले जसपाका संयुक्त उम्मेदवार सुरेन्द्र कुर्मी भारी पर्ने भएका छन् । कारण, उनी राजनीतिमा अहिलेसम्म इमान जोगाएका निष्ठावान् र जुझारु नेताका रूपमा पर्सेलीको नजरमा स्थापित छन् ।

उनी प्रतिस्पर्धी भएपछि कांग्रेस केन्द्रीय सदस्य नै रहेका चौरसियालाई पनि सहज भने नहुने धेरैको आँकलन छ । पर्सा क्षेत्र १ मा जस्तो क्षेत्र नम्बर २ स्वतन्त्रको भने कडा प्रहार कम हुने पर्सेलीको आँकलन छ ।

उता, पर्सा क्षेत्र ३ मा सत्ता र इत्तरको गठबन्धन नहुँदा आफैं ‘तँ वीर कि म वीर ?’ भनी शक्ति जुधाउने कांग्रेस नेता पूर्वक्याबिनेटमन्त्री सुरेन्द्र चौधरी तथा एमाले नेता संविधानसभा सदस्य राजकुमार गुप्ताको पनि दुवै गठबन्धनका आधिकारिक उम्मेदवारकै रूपमा भिडन्त हुने भएको हो ।

योपटक सत्ता गठबन्धनका तर्फबाट चौधरी र एमाले जसपाका तर्फबाट उनीहरूबीचमै कडा प्रतिस्पर्धा हुने भएपछि पूर्वमन्त्री चौधरीलाई सजिलो चाहि“ नभएको पर्सा क्षेत्र ३ कै जनता बताउँछन् । जनताका नजरमा ‘विद्वान नेता’का रूपमा चिनिने भए पनि मन्त्री नभएका एमालेका प्रभावशाली नेता गुप्ताले राम्रै धक्का दिने स्थानीय ठहर छ ।

कांग्रेजका ‘हेभिवेट’ नेता भए पनि कहिल्यै मन्त्री नभएका पर्सा क्षेत्र ४ का सत्ता गठबन्धनका नेता रमेश रिजाल र एमाले गठबन्धनका जालिम मियाबीच पनि कडा टक्कर हुने आँकलन छ । यो क्षेत्रमा पूर्वमन्त्री भने कोही छैनन् ।

उता, वीरगन्जकै स्थायी बासिन्दा भएर पनि मधेस प्रदेशको राजधानी वीरगन्ज ल्याउन नसक्ने नेताको ‘ट्याग’ लागेका प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पनि मधेस आन्दोलनका चर्चित नेता शशिकपुर मिया“, ओमप्रकाश सर्राफ स्वतन्त्रबाट चुनौती दिन आएपछि ‘यसै भन्न नसकिने’ स्थानीय हरेराम यादव बताउ“छन् ।

पाँचवर्षे कार्यकालमा जिल्लावासीको हितको काम खासै नगरेका कारण बहालवाला मुख्यमन्त्री मात्र नभई पर्साबाट गएका सबै पूर्वमन्त्री तथा जिल्लाका ‘हेभिवेट’ नेताहरूको योपटकको अवस्था निकै सकसपूर्ण हुने नेपाली कांग्रेसका स्थानीय नेता प्रकाश उपाध्यायको तर्क छ ।

यति मात्र नभई सत्ता गठबन्धन दलको साझा उम्मेदवारका रूपमा कांग्रेसका रामनारायण कुर्मी मुख्यमन्त्री गद्दीकै क्षेत्रमा उम्मेदवार भएकाले परिणाम ‘कसको पोल्टामा जान्छ ?’ आँकलन पेचिलो भएको पत्रकार महासंघ पर्सा उपाध्यक्ष युवराज खड्का बताउ“छन् ।

स्वतन्त्रलाई स्वतन्त्रकै चुनौती
उता, २०६४ मा पर्सा १ बाट निर्वाचित भई मुलुकभर चर्चा कमाएकी नेत्री तथा पूर्वकृषिराज्यमन्त्री करिमा वेगम आफैं पार्टी ‘लाइनबाहिर’ गई पर्सा २ को ‘ख’बाट उम्मेदवार बनेकी छन् ।

एमालेसँग पार्टी गठबन्धनमा गएपछि टिकट नपाएर पार्टीको आधिकारिक उम्मेदवारलाई चुनौती दिन मैदानमा खडा भएकी नेत्री वेगमको ‘जित के हुन्छ ?’ भन्ने आफैंमा द्विविधा भएको उनलाई नजिकबाट चिन्ने बताउँछन् । फेरि स्वतन्त्रमा पनि उनीसँग पहिले पार्टीमा सँगै काम गरेका स्थानीय नेता मुकेश द्विवेदी, वीरगन्ज महानगर प्रमुख राजेशमानका आफन्त रूपेशमान सिंह पनि स्वतन्त्रमा त्यही पदमा उम्मेदवार बन्दा स्वतन्त्रमाथि पनि थप स्वतन्त्रको भार पूर्वमन्त्री वेगमलाई पनि पर्ने भएको हो ।

समग्रमा यसपटक पर्साका ‘हेभिवेट’ नेता तथा पूर्वमन्त्रीको जितमा गैरमन्त्रीका दबाबले परिणाम भनेजस्तो भने नआउने पर्सावासीको ठहर छ । जिल्लावासीको हितमा ‘कसले कति काम गरे ?, जनताको मन कसले जित्न सके ?’ त्यसका आधारमा मात्र यसपटकको परिणाम आउने कांग्रेसका बौद्धिक नेता मानिने उपाध्यायको विश्लेषण छ ।

अलग–अलग गठबन्धनका कारण रुष्ट नेता–कार्यकर्ता विस्तारै पार्टी लाइनमै जान बाध्य हुने भएपछि स्वतन्त्र परिणाम उल्ट्याउने हतियार मात्र हुनेमा आँकलन छ ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले आज ३ ठाउँको सुकुम्बासी हटाउँदै