स्थानीय निर्वाचनमा गठबन्धन सफल भएको छ, फेरि पनि हुन्छ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रतिनिधि सभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ । शान्ति प्रक्रियामा आएपछि अध्यक्ष दाहालले हरेक निर्वाचनमा अलग अलग क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएको छ । २०६४ सालमा काठमाडौं– १० र रोल्पा– २, २०७० मा सिरहा– ५, २०७४ मा चितवन– २ बाट निर्वाचित हुनुभएको थियो । गोरखा–२ बाट प्रतिस्पर्धामा उत्रनुभएका दाहाल अहिले निर्वाचन अभियानका लागि गाउँ गाउँ पुग्नुभएको छ । दाहालसँग गोरखाको भच्चेकमा नेपाल टेलिभिजन अनलाइनका संयोजक गोविन्द धितालले गर्नुभएको कुराकानीको सम्पादित अंश–

तपाईं शान्ति प्रक्रियापछि राजनीतिको मूल केन्द्रमा हुनुहुन्छ । यसबीचका आर्थिक, सामाजिक र राजनीतिलाई कसरी संश्लेषण गर्नुहुन्छ ?
मेरो प्रवृत्तिको हिसाबले र मेरो चाहनाका हिसाबले गोरखामा आउँदा मैले वास्तवमा निर्वाचनमा ‘रिल्याक्स फिल’ गरेको छु । सहज ‘फिल’ गरेको छु । म कुनै तनावमा छैन । पहिला चुनावमा के होला भन्ने थियो । सिरहामा एकखालको तनाव, चितवनमा पनि २०७४ मा सहज भएको होइन, अहिले पनि जित्थेँ । तर गोरखा आउँदा बडो सहज महसुस गरेको छु । निर्वाचन प्रचार गर्दा एक किसिमको आनन्दको अनुभूति भइरहेको छ । म जटिल अवस्थामा छैन । गोरखाका जनता, यहाँका पार्टी, गठबन्धनको पनि सबैको म आएकोमा स्वागत गर्नुभएको छ हृदयदेखि नै शुभकामना भन्नुभएको छ । एउटा रेकर्ड बन्छ भन्ने चाहना राख्नुभएको छ । सहज महसुस गर्दछु । विगतमा धेरैको बलिदान, परिवर्तन डिरेल हुने हो कि भन्ने चिन्ता थियो, यो कुरा जतिबेला संविधान मिचिन थाल्यो, प्रतिनिधि सभा पटक–पटक विघटन हुने अवस्था रह्यो । आम नेपालीलाई पनि चिन्ता रहेछ, त्यसका विरुद्ध जनताका प्रदर्शन भए । लाखौंको प्रदर्शन भयो । बुद्धिजीवी, नागरिक समाज, न्याय क्षेत्र सबैतिर आन्दोलित भयो । त्यसले यो परिवर्तन धेरै दह्रो रहेछ भन्ने प्रमाणित ग-यो । गठबन्धन पनि त्यही क्रममा रह्यो । स्थानीय तहको परिणाम पनि त्यहीअनुसार आयो । अब देशको राजनीति ठीक छैन, नेताहरु दलहरुको काम छैन जस्तो कुरा गर्दछन् । त्यो बिल्कुल इतिहास, जनताको मनोविज्ञानसँग मेल नखाने कुरा हो । स्थानीय चुनाव सफल भएपछि स्थानीय र प्रदेशको चुनाव पनि सफल भएको देख्छु । जता पनि नकारात्मक सोच राख्ने प्रवृत्तिलाई जनताले स्वीकार्दैन भन्ने लाग्छ ।

धेरै प्रदेशमा पनि गठबन्धनका नेताको हैसियतले हिँडिरहनुभएको छ । गठबन्धनप्रतिको आकर्षण कस्तो पाउनुभएको छ ?
जतिबेला गठबन्धन बन्यो यो जनताको भारी मतसहित बनेको हो । अहिले गठबन्धनलाई उत्साहित गर्नुपर्छ भनेर सातै प्रदेशमा प्रमुख नेताहरु गएर अग्रज कार्यकर्ता, नेताहरुलाई सम्बोधन गर्ने कार्यक्रम मैले नै प्रस्तावित गरेको थिएँ । सातै प्रदेश घुम्यौं पनि । म गोरखामा भएकाले देशैभरी घुम्न सहज पनि भयो । हाम्रो निर्देशनपछि हामी प्रमुख नेताहरुले देश, संविधान, लोकतन्त्र, समृद्धिका निम्ति त्यसमा सबैतिर उत्साह आएको महसुस गरेको छु । अलिअलि भोट ट्रान्सफर नहोला कि भन्ने चिन्ता छ कतिपय ठाउँमा । हामीले एकता प्रदर्शन गरेपछि स्थानीय नेताहरुलाई ऐतिहासिक महत्व छ भनेपछि अहिले परिस्थिति सकारात्मक भएको छ ।

गठबन्धन गर्दैगर्दा नेतृत्व पनि (भावी प्रधानमन्त्री) ’bout पनि निर्णय भएको छ कि अब हुने गणितले निर्धारण गर्छ भन्ने छ ?
ऐतिहासिक कालखण्डमा, ऐतिहासिक आवश्यकताबाट गठबन्धन जन्मियो । संविधान लोकतन्त्र र राष्ट्रको रक्षाको उद्देश्यका निम्ति जन्मियो । प्रतिगमनको खतरा, संविधानलाई घात गर्ने खतरा, संघीयता समानुपातिकता, समावेशी लोकतन्त्र माथि प्रहार गर्ने प्रवृत्ति जबसम्म रहिराख्छ, त्यतिबेलासम्म गठबन्धनको सान्दर्भिकता रहिराख्छ । चुनाव भयो सकिन्छ भन्ने होइन । गलत प्रवृत्ति रहँदासम्म, संविधान, लोकतन्त्र डिरेल गर्ने अवस्था सम्म रहन्छ । गठबन्धनभित्र सरकार कस्तो बन्ला भन्नेतिर हामीलाई चिन्तित छैन । यही गठबन्धनको सरकार बन्छ । गठबन्धनको सरकार बन्दा भोलि परिणाम, संख्याको कुरा आउँछ । सरकार संख्याको खेल पनि हो, त्यसले पनि भूमिका खेल्ला । हामी जसरी स्थानीय चुनावमा निर्णायक बन्न पुग्यौं, निर्णायक तेस्रो भयौं । यो चुनावमा दोस्रो निर्णायक हुने कोसिस, चाहना छ । नभए पनि निर्णायक तेस्रो त हुन्छ नै । नभए पनि तालमेलमा भएका पार्टीबाट सरकार बनाउन अप्ठयारो पर्दैन । यो कुरा मैले महसुस गर्छु ।

केन्द्रको नेता भएकाले तपाईंले समग्र देशको विकास खाका अगाडि सार्नुभएको छ । तर, आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासका लागि चाहिँ कस्तो योजना अगाडि सार्नुभएको छ ?
निर्वाचन जित्नेसँग भन्दा पनि नेपालको आर्थिक समृद्धिको आर्थिक, आर्थिक क्रान्तिको सुशासनको नयाँ अभियान नबढाइ हुँदैन, त्यो अभियान अगाडि बढाउन भनेर गोरखा आएको छु । सुशासन र समृद्धिको निम्ति आएको छु । गोरखा जिल्ला त्यसका लागि उपयुक्त छ । ऐतिहासिक पृष्ठभूमिका निमित्त पनि गोरखा र गोरखाली जनताको भूमिका इतिहाससिद्ध छ । पछिल्लो जनक्रान्तिमा पनि गोरखा र गोरखाली जनताको भूमिका अग्रणी छ । विकासका परियोजनाका दृष्टिले पनि देशको अर्थतन्त्रमा नै ‘गेमचेन्ज’ गर्ने ‘गेमचेन्जर’ छन् । बुढीगण्डकी आयोजना, बेनीघाट आरुघाट लार्के सडक, गोरखाली रबर उद्योग, थुप्रै टार र फाँट र गोरखा दरबारदेखि लिगलिग लगायतका कोटहरुको सर्किट बनाएर पर्यटनको ब्यापक सम्भावना छ । जडिबुटीको अपार सम्भावना छ । पालुङटार एयरपोर्टलाई गोरखा, लमजुङ, तनहुँ र मनाङ्को केन्द्र बनाएर ट्रेनिङ सेन्टर बनाउन सकिन्छ । गोरखा भनेको देशभर र संसारभरबाट देखिन्छ ।
अर्को कुुरा, मैले २२ वर्षको उमेरमा आरुघाटमा अध्यापन गरेँ । त्यो जीवनको आनन्दको क्षण थियो । एक वर्षपछि मैले गोरखाको राम्रो शिक्षकको सम्मान पाएँ । पञ्चायतविरोधी आन्दोलनमा मेरो हेडक्वार्टर गोरखा नै थियो । जनक्रान्तिको सबै तयारी गोरखाबाटै गरियो । ती सबै कारणले गोरखा उपयुक्त छ । देशभरकै अर्थतन्त्र सुधार अभियान थाल्दा सुनिन्छ भनेर यहाँ आएको छु ।

गोरखाबाट देशभरका मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?
राजनीतिक परिवर्तन र क्रान्तिमा जसले योगदान दियो । त्यसलाई ‘मिनिमाइज’ गर्ने ‘ह्युमिलेट’ गर्ने एकखालको नकारात्मक टिप्पणी छ । यसको केही महत्व छैन । म आम नेपाली जनतालाई र त्यस्ता नकारात्मक टिप्पणी गर्नेहरुलाई भन्न चाहन्छु– नेताहरु, नेतृत्व भन्ने कुरा इतिहास र जनताले पैदा गर्ने कुरा हो । व्यक्तिगत चाहनाले बन्ने होइन । यो कुरा बुझ्न जरुरी छ । नेतृत्व भनेको उमेरले कैद हुने कुरा होइन । ‘नो–नट–अगेन’ भन्नुको अर्थ छैन । यो सोच्नु पनि अराजनीतिक र अवैज्ञानिक कुरा हो । सत्यमोहन जोशी सयवर्ष भन्दा बढी बाँच्नुभयो । सय वर्षपछि पनि त्यतिकै सक्रिय हुनुभयो । सय वर्ष हुनुभयो रिटायर्ड हौं भन्न मिल्छ ? देश, जनता, संस्कृति, इतिहासको निम्ति योगदान गर्न सकिन्छ नि । त्यस कारण पार्टीहरुको भूमिका छ, नेपालमा । नकारात्मक टिप्पणीको पछि लाग्न जरुरी छैन । मैले भनेको छु– मेरो बाँकी जीवन आर्थिक समृद्धि, आर्थिक क्रान्तिको निम्त नै हो । सबै एकजुट भएर अभियानको रुपमा, शैक्षिक अभियानको रुपमा चेतनाको अभियानको रुपमा लिन जरुरी छ । भड्किने, भड््काउने एकतालाई कमजोर पार्ने, जनताको भावनालाई गलत ढंतले निर्देशित गर्ने काम बन्द हुनुपर्छ । सम्पूर्ण रुपमा निर्वाचनलाई सफल पार्ने र सविधानलाई सफल पार्न आवश्यक छ । म जनतालाई यही अपिल गर्न चाहन्छु ।
श्रोतः नेपालटिभअनलाइन

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९