इलाम । देउमाई नगरपालिका–३ का ढाकाराम अधिकारी चिया मजदुर हुन् । उनको दैनिकी चिया टिपेर, बेचेर बित्छ । ‘१–२ पैसा हुन्छ’ कि भन्ने आशमा चिया मजदुरी गरिरहेका छन् ।
मजदुरीबाट आएको पैसाले छोराछोरी पढाउनदेखि घरखर्च चलाउनसम्म धान्नुपर्ने हुन्छ । नेताले किसान र मजदुरका समस्या अहिलेसम्म बुभ्mन नसकेको उनको गुनासो छ ।
‘हामी गरिब किसानले अहिलेसम्म राहत पाउन सकेका छैनौं, अबको निर्वाचनबाट चिया किसानका लागि मल बिउ पर्याप्त मात्रामा पु¥याउने नेता चुनिन आवश्यक छ,’ ढाकाराम भन्छन्, ‘चिया टिप्दा प्रयोग हुने डोकाजस्ता अत्यावश्यक कुरा सरकारले उपलब्ध गराइदिए हामीलाई पनि सहज हुने थियो ।’
चिया टिप्दा खुट्टामा लगाउने गम्बुट, पन्जा, प्लास्टिकका डोकाजस्ता आधारभूत सामग्री सरकारले उपलब्ध गराइदिए ‘सहज हुने’ उनको आशा छ ।
अहिले चिया टिप्दा चोयाबाट बुनेका डोका प्रयोग हुँदै आएका छन् । बर्खामा चिया टिप्दा भिज्ने र १५ दिनसम्म पनि नथाम्ने भएकाले आधुनिक प्लास्टिकका डोका आवश्यक रहेको ढाकाराम बताउ“छन् ।
हातले भन्दा मेसिनबाट चिया टिप्न छिटो हुने भएकाले विभिन्न औजार सरकारले उपलब्ध गराउनुपर्ने उनको माग छ । ढाकाराम भन्छन्, ‘हातले पाँच किलोसम्म टिपिन्थ्यो भने मेसिनले २० किलोसम्म टिप्न सकिन्छ ।’
इलाम देउमाई नगरपालिका–८ की प्रेमीमाया तामाङ पनि चिया टिप्न व्यस्त छिन् । बिहान–बेलुका घरको काम गरेर दिउँसो चिया टिप्न निस्कने तामाङको दैनिकी मजदुरीमै बित्ने गर्छ ।
चिया मजदुरी गरिरहेका किसान यो वर्षको अन्तिम चिया टिप्दै छन् । उनको मजदुरी अब नयाँ चिया उत्पादन नभएसम्म सकिँदै छ । उनी दिनैपिच्छे रोजगारी नपाउने भन्दै रोजगारी गरेर खानेका लागि सरकारले रोजगारी पाउनेगरी बनाइदिए दैनिकी चलाउन सकिने बताउँछिन् ।
देउमाई नगरपालिका–३ का उमाराम अधिकारी पनि चिया मजदुर हुन् । चोकचोकमा चुनावको चर्चा चलिरहँदा उनी डोको बोकेर बगानमा चिया टिप्न व्यस्त छन् ।
‘पाँच वर्षअगाडिको निर्वाचनमा भोट माग्न नेता आउँदा सबै समस्या समाधान गर्ने भन्दै आश्वासन बाँडे तर पूरा हुन सकेन,’ उनी भन्छन्, ‘किसानका लागि सुविधा भनेको बाटो र खानेपानी रहेछ, आवश्यक पर्दा बाटो सजिलो भए बिरामी हुँदा जुनसुकै बेला उपचारमा जान सकिन्छ, अत्यावश्यक भनेको खानेपानी रहेको छ ।’ आगामी निर्वाचनमा यस्ता कुरा चाँडोभन्दा चाँडो गरिनुपर्ने उनको जोड छ ।
तामाङ र अधिकारी प्रतिनिधि पात्र मात्र हुन् । इलामका अधिकांश किसान चियाखेतीमा आबद्ध छन् । धेरैजसो मजदुर बगानमा काम गर्छन् ।
जीविकोपार्जनको मुख्य स्रोत चियाखेतीमा भएका समस्या अहिलेसम्म सम्बोधन हुन सकेका छैनन् । यसअघिका निर्वाचनमा पटकपटक समस्या राख्दा आश्वासन पाए पनि पूरा हुन नसकेपछि अब पनि तिनै समस्या देखाउन किसान बाध्य छन् ।
बजारीकरण र मूल्यमा त समस्या छँदै छ, चियामा लगाउने मल, टिप्ने औजार, पन्जा, गम्बुट, डोकोजस्ता आधारभूत आवश्यकता नै पाउन नसकेको किसानको गुनासो छ ।
निर्वाचन हुने भएसँगै उम्मेदवारले चियाका समस्या समाधान गर्ने बाचा त गर्छन् तर अहिलेसम्म कार्यान्वयन नगरेको किसान बताउ“छन् । सरकारले पनि चियाका लागि अहिलेसम्म बजेट विनियोजन गर्न सकेका छैनन् ।
कृषिमा बजेट छुट्टिए पनि किसानले फाइदा पाउँदैनन् । अर्थतन्त्रको मुख्य स्रोत चिया रहे पनि समस्या समाधान हुन नसक्दा किसान ‘अबका उम्मेदवारले गरिदिन्छन् कि ?’ भनेर मुख ताकेर बसेका छन् । खेती सुरु भएको लामो समय बितिसक्दासमेत चिया किसानका समस्यामा कसैका आँखा पुगेका छैनन् ।
इलाम सूर्योदय नगरपालिकामा सबैभन्दा बढी चिया खेती हुने गरेको छ । जिल्लाका इलाम, माई र देउमाई नगरपालिकाका अधिकांश किसान चिया खेतीमा आबद्ध छन् ।
१९२० सालमा इलामबाट चिया खेतीको व्यावसायिक सुरुवात भएको इतिहास छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणबाट फर्कंदा चिनियाँ जातको बिरुवा उपहारस्वरूप ल्याएको र सो बिरुवा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापालाई दिएपछि इलामी माटोमा चियाको बोट रोपेको इतिहास छ ।
त्यसपछि पूर्वी पहाडका पाखा पखेरामा चिया खेती हुँदै अहिले जिल्लाका अधिकांश ठाउँमा खेती भए पनि पछिल्लो समय चियामा समस्या झेल्नुपरेका कारण खेती विस्तार हुन सकेको छैन ।
चिया तथा कफी विकास बोर्डको २०७७÷७८ को तथ्यांकअनुसार नेपालमा १६ हजार ९ सय २० हेक्टरमा चिया खेती हुन्छ । जसबाट २३ हजार ७ सय ४५ दशमलव ९ मेट्रिक टन चिया उत्पादन हुने गर्छ । तथ्यांकअनुसार इलाममा ७ हजार २ सय ३६ हेक्टरबाट ६४ लाख ३१ हजार ३ सय ३० किलो चिया उत्पादन हुने गर्छ । जुन कुल क्षेत्रफलको झन्डै आधा इलाममा मात्र खेती हुने गरेको पाइन्छ ।






