एमालेको सरकारले मात्रै राष्ट्रियता जोगाउन सक्छ : कृष्णगोपाल श्रेष्ठ

कृष्णगोपाल श्रेष्ठ जुझारु व्यक्तित्वका रूपमा परिचित छन् । एमालेमा कोअर्डिनेसन कमिटी र माले हुँदादेखि सक्रिय श्रेष्ठले आफ्नाे दललाई उचाइमा ल्याउन जुझारु चरित्र देखाउँदै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा सरकारको मन्त्रीका रूपमा समेत जिम्मेवारी समालेका श्रेष्ठ ४ मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट उम्मेदवार छन् । उनीसँग राजधानीले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ

० पाँच वर्षअघि २०७४ सालमा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ बाट एमालेलाई जनताले जिताएका हुन्, फेरि एमालेलाई नै मत किन दिने ?
– राजनीतिक स्थिरता र विकासका लागि जनताले नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई मतदान गरी मुलुकको सम्मृद्धिमा भूमिका खेल्नुपर्छ । राष्ट्रिय एकता, देशभक्ति, विकास र समृद्धिमा एमालेले जति सशक्त ढंगले भूमिका खेल्दै आएको छ, त्यति प्रस्ट दृष्टिकोणका साथ अन्य कुनै दल आएको छैन । आम नेपालीको स्वाभिमानका लागि एमालेले जुन स्तरको भूमिका खेल्यो, अरूले खेलेको पाइँदैन । के कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरी एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सबै राजनीतिक दललाई एकीकृत गरी सर्वसम्मत ढंगले नयाँ नक्सा जारी गर्ने अपूर्व इतिहास खडा गरिएको होइन ? तर, आज नक्सामा समेटिएको भूभाग व्यावहारिक रूपमा नेपालको स्वामित्वमा ल्याउने काम गरेको ओली सरकारलाई परमादेश जारी गराएर अलोकतान्त्रिक ढंगले हटाउने सरकार र शक्तिले गर्नसकेको छैन । यो सरकारले त्यस्तो प्रयाससम्म गरेको देखिँदैन । मन्दिरको गजुर जसले हालेको हुन्छ, मन्दिर भत्किन लाग्यो भने सर्वाधिक चिन्ता उसैलाई हुन्छ । आज राष्ट्रियता र स्वाभिमान भत्किन लागेको छ, त्यसको संरक्षण र सम्बद्र्धनका लागि एमालेले सत्ता सञ्चालन गर्नैपर्छ ।

० कात्तिक १५ गते तपाईंको पार्टीले चुनावी घोषणापत्र २० ग्यारेन्टी बुँदाका साथ जारी गरेको छ । त्यसलाई त दिवा सपना बाँडेको भनेर अन्य पार्टीबाट आलोचना भइरहेको छ नि ?
– प्रस्ट छ, एमाले भिजनरी पार्टी हो । रेल, पानीजहाज र सुरुङमार्गका सम्भावना देखाउने र त्यसतर्फ कार्यक्रमका साथ अघि बढ्ने पार्टी केवल एमाले मात्र हो । एमालेले पाँच वर्ष काम गर्न पाएको भए यस क्षेत्रमा निकै काम गर्ने थियो । एकातिर पार्टी भित्रैबाट असहयोग, अर्कातिर कोरोना महामारी । केवल दुई वर्षमा एमालेले जति काम ग¥यो, त्यति काम अरू कुनै दलले यति छोटो समयमा गरेको उदाहरण पाउन सकिँदैन । राष्ट्रियताको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा समाजवादको लक्ष्य प्राप्तिका लागि गरिएका आन्दोलन र क्रान्तिमा एमालेका कार्यकर्ताले आप्mनो अमूल्य जीवन उत्सर्ग गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी तथा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत अग्रजले देखाएको बाटोमा अडिग भएर निरन्तर अघि बढ्ने कार्यकर्ता म पनि हुँ । लाखौं कार्यकर्ता रहेको एमाले, करोडौं मतदाताले माया गरेको यस दलले दिवा सपना बाँड्न सक्तैन । तर, सपना भने अवश्य देखाउँछ, देखाउनु पनि पर्छ । हाम्रा २० ग्यारेन्टी केवल आश्वासन मात्र होइनन्, बलियोसँग गरिएका प्रतिबद्धता हुन् ।

० यस्ता प्रतिबद्धता त अरूका पनि छन् तर एमालेलाई नै मतदान गर्नुपर्ने आधार के हो ?
– आज राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रले कुन ध्रुव रोज्ने यस निर्वाचनले स्पष्ट फैसला गर्नुपर्नेछ । राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानको रक्षा कि बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात पु¥याउने पक्षलाई भोट हाल्ने, मतदाताले सोच्नुपर्छ । राजनीतिक स्थायित्व कि ? सत्ता बाँडफाँटका नाममा अन्त्यहीन अस्थिरता र किचलो गर्ने पक्षलाई भोट हाल्ने, निर्णय लिनु छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा कि सीमित नेताको सत्तास्वार्थको परिपूर्तिका लागि योगदान दिने भन्ने विषयमा ध्यान दिने दिन मंसिर ४ हो । विवेकशील जनताले स्वार्थमा आधारित गठबन्धनलाई होइन, नीतिगत नेतृत्वमा आधारित बलियो राष्ट्रिय शक्तिको निर्माणका लागि एमालेलाई मतदान गर्ने निश्चित छ । यस निर्वाचनमा राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन, स्थायित्व, सुशासन र विकासको प्रवद्र्धनको मुख्य संकल्प बोकेर नेकपा (एमाले) जनतासामु उभिएको छ । मतदाताले विवेक पु¥याउनेमा म ढुक्क छु ।

० आर्थिक क्षेत्रमा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सार्नुबाहेक विशेष के ग¥यो र ?
– एमालेले समृद्ध नेपाल सुखी नेपालीको नारा मात्र दिएको होइन, आर्थिक वृद्धिदर पनि हासिल ग¥यो । सरकार निर्माणपछि लगातार सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्दै नेपालले विश्वको ध्यानाकर्षण गर्न सफल भयो । बाह्य लगानीमा ठूलो परिमाणमा वृद्धि भयो । निरपेक्ष र बहुआयामिक गरिबी दुवै उल्लेख्य रूपमा घटे । संयुक्त राष्ट्र संघबाट हाम्रो देशलाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भयो । मानव विकास, शान्ति, खुसी, बहुआयामिक गरिबी, व्यावसायिक सहजता, लैगिंक समानता, दिगो विकासका लक्ष्यलगायत विश्वव्यापी सूचकहरूमा नेपालले उल्लेख्य सुधार ग¥यो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा प्राप्त यी उपलब्धिले नेपाली जनतामा सुखद् भविष्यप्रति विश्वास बलियो र मनोबल उच्च बन्दै गयो ।

० खासगरी एमालेले सरकार बनाउने पुनः अवसर पाएमा आर्थिक दिशामा चाहिँ के गर्छ ?
– नेपाल कृषिप्रधान मुलुक हो । कृषिको व्यवसायीकरण नगरेसम्म नेपालको विकास सम्भव छैन । साना, मझौला तथा ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने हाम्रो चुनावी घोषणापत्रमा उल्लेख छ । त्यस्तै, पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच वर्षभित्र वार्षिक २५ लाख पु¥याइने, कुल गार्हस्थ उत्पादन जीडीपीलाई आगामी पाँच वर्षभित्र १ सय खर्ब पु¥याइने, नेपालीको औसत प्रतिव्यक्ति आम्दानी ३ लाख रुपियाँ अर्थात् २ हजार ४ सय अमेरिकी डलर पु¥याउने घोषणापत्रमै ग्यारेन्टी गरिएको छ ।

० सामाजिक सुरक्षाका क्षेत्रमा एमालेको योजना कस्तो हुनेछ ?
– एमाले वास्तवमै जनभावना बुझेर कार्यक्रम ल्याउन सिपालु छ । किशोरी तथा महिलाका लागि सेनिटरी टावलका लागि वार्षिक १ हजार ५ सय दिने घोषणा गर्नासाथ युवा जमातले सामाजिक सञ्जालमा ट्रेन्डिङ नै गरेका छन् । एमाले वाहवाहीमा परेको छ । ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरिने, ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित र सहज बनाउन नगर क्षेत्रका वडा र गाउँपालिकामा कम्तीमा एउटा सुविधासम्पन्न केयर होम सञ्चालनमा ल्याउने, ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिकहरूको ज्ञान, अनुभव र शिक्षाको संकलन तथा अन्तरपुस्ता हस्तान्तरणको काममा परिचालन गरिने हामीले घोषणापत्रमा उल्लेख गरेका छौं । त्यस्तै, सबै जातजाति, भाषाभाषी, लोपोन्मुख तथा सीमान्तकृत वर्ग र समुदायलाई सबै क्षेत्रमा निष्पक्ष र समान अवसरको ग्यारेन्टी गरिनेछ । अपांगता भएका व्यक्तिहरूको हकहित संरक्षण, क्षमता विकास तथा रोजगारी एवं स्वरोजगारीका अवसर प्रदान गरिने हामीले ग्यारेन्टी गरेका छौं ।

– एमाले भिजनरी पार्टी हो

– आज राष्ट्रियता र स्वाभिमान भत्किन लागेको छ

– हाम्रा २० ग्यारेन्टी आश्वासन होइनन्, प्रतिबद्धता हुन्

– स्वरोजगारीका अवसर प्रदान गरिने ग्यारेन्टी छ

– भीमढुंगासम्म पिच गर्ने काम सम्पन्न गर्नेछु

– विकासका नाममा विनास गर्न र जनतालाई दुःख दिन चाहन्न

० खासगरी काठमाडौं क्षेत्र नं ९ का जनताले तपाईंलाई दोहो-याएर जनप्रतिनिधि किन बनाउने ?
– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ का जनताका लागि भौतिक विकास तथा मानवीय विकासका लागि पनि मैले अर्को एक कार्यकाल सेवक बनेर खट्नु आवश्यक देखेको छु । मैले विगत पाँच वर्षमा मेरो निर्वाचन क्षेत्रमा खानेपानीको समस्या समाधानमा निकै दौडधुप गरेँ । घरघरमा धारा सबैका लागि पानी भन्ने नारा लगभग पूरा भएको छ । यद्यपि, यसलाई पूर्णता दिन भने बाँकी छ । यहाँका जनताले माया दिनुभयो भने आगामी केही वर्षमै यसले पूर्णता पाउनेछ । बलम्बु र चन्द्रागिरी नगरपालिकाका दुई वडा जोड्ने पुल तत्कालका लागि बेलिब्रिज मात्र बनाउन सकिएको छ । त्यहाँ स्थायी पुल बन्नु आवश्यक छ, जसलाई मैले आगामी दिनको कार्यका रूपमा हेरेको छु । त्यस्तै, मेरो निर्वाचन क्षेत्रका प्रत्येक वडामा सांस्कृतिक पार्क छन् । श्रद्धेय नेताद्वय गणेशमान सिंह र मदन भण्डारीका नाममा खोलिने पार्कको काम बाँकी छ । नागार्जुन नगरपालिका वडा नं. ६ मा गणेशमान पार्क र चन्द्रागिरी नगरपालिका वडा नं १४ गणेशमान पार्क छ । बिचमा चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ मा मदनभण्डारी पार्क छ । तर, अपुरो अवस्थामा छ । नैकापको शिर दहचोकमा कालुपाण्डे समाधिस्थल निर्माण त गरियो तर त्यसले पूर्णता पाएको छैन । जग्गा अधिग्रहणको काम बाँकी छ । जनताको समर्थन हासिल गरेर पाँचतले टावरसहितको सो क्षेत्रको विकासलाई पूर्णता दिनु छ । एमाले सरकार हुँदा नै सो क्षेत्रको विकास भएको हो । सो क्षेत्रमा जाने बाटो निर्माणमा पनि हाम्रो सक्रियता थियो । अहिले यस बाटोकै कारण यस क्षेत्रमा रिसोर्टहरू खुलेका छन् । पर्यटकको आगमन बढेको छ । रोजगारी सिर्जना भएको छ ।

खासगरी, नेपालका १ सय टुरिस्ट डेस्टिनेसनमा चन्द्रागिरी नगरपालिका दहचोकको इन्द्रदहदेखि कालुपाण्डे समाधिस्थल चयन हुनु यस क्षेत्रको जनप्रतिनिधिका नाताले गौरवको अनुभूति हुन्छ ।

मेरो निर्वाचन क्षेत्रमा मठमन्दिरको जीर्णोद्धार भएको छ । पाटीपौवा बनेका छन् । सांस्कृतिक बाजागाजाको संरक्षण गरिएका छन् । वृद्धाश्रम बनाउने र उनीहरूलाई भ्रमण गराउने काम पनि गराएको छु । अपांगता भएका व्यक्तिका लागि विद्यालय खोलिएको छ ।

रोजगारीका लागि क्षमता अभिवृद्धि गरिएको छ । चन्द्रागिरी नगरपालिका वडा नं १५ तीनथानाबाट कीर्तिपुर जोड्ने पुल बनाउने काम पनि मेरो सक्रियतामा सम्पन्न भइसकेको छ । कलंकीको जामले वर्षौंसम्म बाहिर जानेआउने गाडी र यात्रुलाई सताएको थियो । अन्डर पास बनाउने काममा सरकार र निर्माणकर्तालाई नियमित दबाब दिने जनप्रतिनिधि म नै हुँ । सीतापाइलाबाट रामकोट जाने पिच बनाउने काममा भूमिका खेल्न पाएकोमा म खुसी छु । तर भीमढुंगासम्म पिच गर्ने काम बाँकी छ । आगामी दिनमा मेरो सक्रियता रहने नै छ ।

त्रिपुरेश्वरदेखि रविभवन, कलंकी, ढुंगाअड्डा, नैकाप हुँदै नागढुंगासम्म बाटो विस्तारको विवाद छ । यसको स्थायी समाधान खोज्ने प्रयास त गरेँ तर मेरो एक कार्यकाल मात्र पर्याप्त भएन । उक्त हाइवेको सेन्टर टु राइट र लेप्mट २५ मिटर सडकका लागि लिने हो भने कुनै घर रहँदैन । अहिले २५ मिटरसम्म जग्गा किनबेच रोक्का छ । राइट टु लेप्mट ११–११ मिटर मात्र गर्नुपर्ने प्रस्ताव छ । यो राष्ट्रिय समस्या हो । तर, मेरो क्षेत्रमा परेकाले मेरो सक्रियता आवश्यक छ । म विकासका नाममा विनास गर्न, जनतालाई दुःख दिन चाहन्न । घरको क्षतिपूर्ति र जग्गाको मुआब्जा दिन सरकार सक्षम छ जस्तो पनि मलाई लाग्दैन । अबको कार्यकालमा यो समस्या समाधान गर्नैपर्छ ।

० अन्त्यमा केही भन्नु छ कि ?
– राष्ट्रिय एकताको विकास र भौतिक निर्माणका क्षेत्रमा एमाले कालमा मुलुकले फड्को मारेकै हो । एमाले सरकारबाट बाहिरिएपछि मलुकमा आज अस्थिरता बढेको छ । विकास निर्माण ठप्प छ । पाँच दलको गठबन्धनले स्थायित्व दिन सकेन । अस्थिरता बढ्यो । राष्ट्रियतामाथि एकपछि अर्को आघात भइरहेको छ । सरकार निरीह देखिन्छ । त्यसैले, यही मंसिर ४ गतेको निर्वाचनमा एमालेको सूर्यमा मतदान गर्नैपर्छ । एमालेलाई जिताउन आदरणीय मतदाताले कृष्णगोपाललाई पनि जिताउनुपर्नेछ । १ सय ६५ मध्ये अधिकांशमा एमालेका कृष्णगोपालहरूले जित्नुपर्छ । यो जितमा श्रद्धेय मतदाताकै हात हुन्छ । विगत दुई वर्षमा टे«लर मात्र देखाइयो, अब फिचर फिल्म लिएर आउँछौं । यसका लागि जनताले नेकपा एमालेलाई नै पुनः अवसर दिनेछ भन्ने कुरामा विश्वस्त छु ।

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९